परिवारको व्यवसाय जोगाउन १६ वर्षमै साबुन बेच्न थालेका राज शामानीले आफ्नो पोडकास्टमा बिल गेट्स, माइकल फेल्प्स, सुनिता विलियम्स र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंजस्ता चर्चित व्यक्तित्वसँग संवाद गरेका छन् ।
काठमाडौँ — राज शामानीको परिचय अहिले भारतमा मात्र सीमित छैन । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्ससम्मसँग संवाद गरिसकेका उनी युट्युबका चर्चित पोडकास्टरमध्ये एक हुन् । तर उनको यो सफलताका पछाडि ठूलो संघर्ष पनि छ ।
उनको परिवार रासायनिक पदार्थको व्यवसाय जोगाउन संघर्ष गरिरहेको थियो । त्यसबेला राज घरघरै पुगेर भाँडा माझ्ने साबुन बेच्थे । त्यसको झन्डै १३ वर्षपछि यी भारतीय उद्यमीले युट्युबमा २ करोडभन्दा बढी दर्शक जोडिएको डिजिटल मिडिया प्लेटफर्म बनाएका छन् । उनको पोडकास्टले अहिले विश्वका लोकप्रिय पोडकास्टलाई समेत सब्सक्राइबर संख्यामा उछिनेको छ ।
उनको कार्यक्रम ‘फिगरिङ आउट विथ राज शामानी’ युट्युबमा २ करोड २२ लाख सब्सक्राइबर पार गर्दै बेलायती उद्यमी स्टिभन बार्टलेटको ‘द डायरी अफ अ सीईओ’ (२ करोड १९ लाख) र अमेरिकी प्रस्तोता जो रोगनको ‘द जो रोगन एक्सपेरियन्स’ (२ करोड १२ लाख) भन्दा बढी पुगेको इकोनोमिक टाइम्स ले उल्लेख गरेको छ ।
व्यवसाय, उद्यमशीलता, व्यक्तिगत विकास र सामाजिक मुद्दामा संवादमार्फत दर्शक जोड्न सफल शामानीका लागि यो महत्त्वपूर्ण उपलब्धि हो । तर पोडकास्टिङमा प्रवेश गर्नुअघि नै सुरु भएको उनको उद्यमशीलताको यात्राले यो सफलता सम्भव बनाएको हो।
सन् १९९७ जुलाई २९ मा मध्य प्रदेशको इन्दौरमा जन्मिएका शामानीले सानै उमेरदेखि काम गर्न थालेका थिए। परिवारको व्यवसायलाई संकटबाट निकाल्न उनले जिम्मेवारी लिए । घरघरै पुगेर सामान बेच्न सुरु गरेको उनको व्यवसाय पछि करोडौंको फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) कम्पनीमा विस्तार भयो।
उनको पुस्तक ‘बिल्ड, डोन्ट टक : थिङ्स यु विश यु वेयर टट इन स्कुल’ ले पनि युवा पुस्तामाझ उद्यमशीलता र व्यक्तिगत विकासका विषयमा प्रेरक वक्ताका रूपमा उनको पहिचान थप बलियो बनायो। उनी फोर्ब्सको ‘३० अन्डर ३० एसिया’ सूचीमा समेत परेका थिए।
पोडकास्टिङले उनलाई व्यवसायको सीमाभन्दा बाहिर गएर ठूलो दर्शक समूहसम्म पुग्ने माध्यम दियो। ‘फिगरिङ आउट’ मार्फत उनले उद्यमी, व्यवसायी, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका चर्चित व्यक्तिसँग संवाद गरेका छन्। उनका अतिथिमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, ओलम्पिक च्याम्पियन माइकल फेल्प्स र नासाकी अन्तरिक्षयात्री सुनीता विलियम्स पनि छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको संवादले पनि उनको कार्यक्रमलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । उक्त संवादमा भारतको प्रगति, नवप्रवर्तन, उद्यमशीलता र विश्व भूराजनीतिका विषयमा छलफल भएको थियो। त्यस क्रममा शामानीले आफ्नो पोडकास्टलाई विश्वकै सबैभन्दा लोकप्रिय बनाउने महत्त्वाकाङ्क्षा पनि व्यक्त गरेका थिए। पछिल्लो सब्सक्राइबर उपलब्धिपछि उनको त्यो लक्ष्यले थप चर्चा पाएको छ।
पोडकास्टले हासिल गरेको सफलता पछाडिको समय र निरन्तर प्रयास पनि महत्त्वपूर्ण छ। २ करोड सब्सक्राइबर पुगेको अवसरमा इन्स्टाग्राममा सन्देश सार्वजनिक गर्दै शामानीको टोलीले कार्यक्रम सुरु भएको छ वर्ष बितेको जनाएको छ।
‘फिगरिङ आउटका छ वर्षले हामीलाई असाधारण उपलब्धि प्रायः निरन्तरताका सामान्य अभ्यासबाटै हासिल हुन्छन् भन्ने सिकाएको छ,’ टोलीले भनेको छ। असफल प्रयास, अनिश्चितता र वर्षौँसम्म दर्शक जोड्ने प्रयासका बाबजुद निरन्तर लागिरहेकाले कार्यक्रमले यो सफलता पाएको टोलीको भनाइ छ। आफ्नो महत्त्वाकाङ्क्षाअनुसारको परिणाम तत्काल नदेखिँदैमा कुनै विचार वा योजनालाई त्याग्न नहुने सन्देश पनि टोलीले दिएको छ।
तर पोडकास्टको तीव्र विस्तारसँगै त्यसप्रति आलोचना पनि बढेको छ। समर्थकहरूले शामानीको सफलता र अन्तर्राष्ट्रिय व्यक्तित्वसँगका संवादलाई भारतीय डिजिटल कन्टेन्ट क्रिएटरले विश्वव्यापी पहिचान बनाउन सक्ने प्रमाणका रूपमा हेरेका छन्। तर आलोचकहरूले उनका कतिपय संवादको गहिराइमा प्रश्न उठाउँदै ती प्रचारमुखी वा सतही हुने गरेको टिप्पणी गरेका छन्।
यद्यपि, पोडकास्टको विस्तारले सञ्चारमाध्यमको बदलिँदो परिदृश्यलाई पनि देखाएको छ। स्वतन्त्र कन्टेन्ट क्रिएटरले दर्शक तान्न स्थापित प्रसारण संस्था र परम्परागत सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गरिरहेका छन्।
इन्दौरको पारिवारिक व्यवसायबाट सुरु भएको शामानीको यात्रा अहिले विश्वका चर्चित व्यक्तित्वसँग संवाद गर्ने मञ्चसम्म पुगेको छ। यसले उद्यमशीलता र डिजिटल सञ्चार एकअर्कालाई कसरी बलियो बनाउन सक्छन् भन्ने देखाउँछ।
शामानीका लागि पछिल्लो उपलब्धि लामो यात्राको अर्को खुड्किलो मात्र हो। उनको टोलीले आगामी दिनमा अझ ठूला सपना देख्ने, थप प्रश्न गर्ने र नयाँ कुरा खोज्ने क्रम नरोकिने जनाएको छ । - यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्जीको रिपोर्टका आधारमा तयार पारिएको हो ।
प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।