१ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।
कोष (सञ्चालन) नियमावली २०७७ को नियम २३ बमोजिम प्रतिस्पर्धाका आधारमा कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरिएको हो । आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।
कार्यकारी निर्देशकका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वाणिज्य कानुन वा व्यवस्थापन विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
त्यस्तै बैंक, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा अधिकृतस्तरको व्यवस्थापकीय जिम्मेवारीमा रही कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने र तत्काल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्ति हुनुपर्ने छ ।
यसका लागि मन्त्रालयले कोषको नियमावली अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि २०८३ जारी गरिएको छ ।
आवेदन दिनेले सम्बन्धित उम्मेदवार स्वयंबाट हस्ताक्षरित व्यक्तिगत विवरण र व्यावसायिक योजना पेस गर्नुपर्ने छ । कम्तीमा २ हजार ५ सय शब्दको व्यावसायिक योजना पेस गर्नुपर्ने छ ।