कुनै समय सेन्जेन पिछडिएको कृषि क्षेत्र मानिन्थ्यो । तर अहिले उसले अत्याधुनिक टेक शहरका रुपमा आफ्नो रुपान्तरणलाई विश्वसामु प्रदर्शन गर्दैछ
काठमाडौँ — विश्व नेताहरूको स्वागतको तयारीमा जुटेको चीनको प्रविधि राजधानी सेन्जेनमा यतिबेला असामान्य शान्ति छाएको छ ।
सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइनुका साथै सामान पुर्याउने (डेलिभरी) ड्रोनहरूको उडान रोकिएको छ । त्यस्तै, स्थानीय बासिन्दालाई निजी सवारी घरमै थन्क्याउन आग्रह गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको बैठक सेन्जेनका लागि एउटा ठूलो अवसर हो । बुधबारदेखि सुरु हुने यस सम्मेलनमा विश्वका २१ अर्थतन्त्र सहभागी हुँदैछन् । त्यसमध्ये ट्रम्प र पुटिनसहित १२ वटा अर्थतन्त्रबाट शीर्ष नेता सहभागी हुँदैछन् ।
एक समयको पिछडिएको कृषि क्षेत्रबाट आजको अत्याधुनिक र सुव्यवस्थित सहरमा रूपान्तरण भएको सेन्जेनको छवि विश्वसामु प्रदर्शन गर्न चिनियाँ अधिकारीहरूले यो अवसरलाई उपयोग गर्न चाहेका छन् ।
१५ लाखभन्दा बढी सवारी धनीहरूले सडकमा गाडी ननिकाल्ने प्रतिबद्धता जनाएका छन् । त्यस प्रतिवद्धता पूरा गर्नेलाई सरकारले करिब १०० युआनसम्मको सार्वजनिक यातायात कार्ड दिने वाचा गरेको छ ।
मंगलबारदेखि बाहिरी जिल्लाका नम्बर प्लेट भएका सवारीसाधनलाई दिउँसोको समयमा सहरका अधिकांश क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको सेन्जेन ट्राफिक प्रहरीले जनाएको छ ।
सहरमा जताततै देखिने विद्युतीय साइकल (ई–बाइक) चालकहरूलाई समेत बीमामा छुट दिने सर्तमा साइकल नचलाउन अनुरोध गरिएको छ । मुख्य सडकहरूमा पार्किङ गरिएका साइकलहरू हटाइँदै छन् ।
शिखर सम्मेलनका लागि सहरका धेरै भित्री तथा मुख्य क्षेत्रहरूलाई चिटिक्क पारिएको छ ।
सियाङ्मिहु तालको किनारमा रहेको वित्तीय क्षेत्रमा यो सम्मेलन आयोजना हुँदैछ । सन् १९८५ मा यस किनारमा मनोरञ्जन पार्क निर्माण गरिएको थियो । त्यसबेला यो एसियाकै ठूलो मनोरञ्जन पार्क थियो ।
लामो समयदेखि प्रयोगविहीन रहेको उक्त पार्कको रोलर कोस्टरलाई सन् २०२४ मा भत्काएर त्यहाँ वित्तीय क्षेत्र निर्माण गरिएको हो ।
अहिले ताल किनारको क्षेत्रलाई ताजा फूलका बगैँचा र नयाँ कालोपत्रे गरिएका सडकहरूले सिँगारिएको छ ।
यद्यपि, करिब २० जना विश्व नेता र उनीहरूको टोली सहरमा ओर्लिँदा हुने तामझाम र त्यसले निम्त्याउने असुविधाका लागि सेन्जेनका सबै बासिन्दा तयार देखिँदैनन् ।
सम्मेलन स्थल नजिकै बस्ने ४० वर्षीया बो भन्छिन्, ‘सहर त राम्रो देखिएको छ, तर उनीहरूले खर्च गरिरहेको त्यो पैसा मेरो करको हो ।’
रोजगारदाताले मिडियासँग नबोल्न निर्देशन दिएका कारण उनले आफ्नो पूरा नाम बताउन चाहिनन् । महत्त्वपूर्ण समयमा नजिकैका सडकहरू बन्द हुने भएकाले आफू यस हप्ता गाडी चलाएर काममा जान नसक्ने उनले बताइन् ।
बोका अनुसार उनको सबैभन्दा ठूलो टाउको दुखाइ बालबालिकाको हेरचाह हो । सेन्जेनका प्राथमिक र माध्यमिक विद्यालयहरूमा मंगलबारदेखि चार दिनको शरदकालीन बिदा सुरु भएको छ । तर, शिक्षकबाहेक अन्य वयस्कहरूका लागि कुनै बिदा दिइएको छैन ।
सेन्जेन प्रशासनले रोजगारदाताहरूलाई घरबाटै काम गर्ने (रिमोट वर्क), कामको समय हेरफेर गर्ने वा तलबसहितको बिदा दिन प्रोत्साहित गरेको छ । कतिपय बासिन्दाले भने यो अवसरको भरपुर सदुपयोग गरिरहेका छन् ।
माध्यमिक विद्यालयका शिक्षक जोन दक्षिणपश्चिमी सहर चोङकिङतर्फ घुम्न निस्किएका छन् । ‘म केवल आराम गर्न र सस्तो खानाको मज्जा लिन चाहन्छु, अनि यहाँको अवस्था सामान्य भएपछि मात्र फर्किन्छु,’ उनले भने ।
यसै महिनादेखि सहरभर लागू गरिएको हर्न बजाउन नपाइने प्रतिबन्धका कारण सडकमा विशेष शान्ति छाएको छ । ध्वनि मापन गर्ने क्यामेरा (अकोस्टिक क्यामेरा) मार्फत यसको निगरानी गरिएको छ ।
नियम उल्लंघन गर्नेलाई ३०० युआन तथा त्यसभन्दा माथि जरिवाना तोकिएको छ । सेन्जेनमा लामो समयदेखि हर्न प्रयोगमा कडाइ गरिँदै आए पनि नयाँ नियमहरूको व्यापक प्रचारप्रसार गरिएको छ ।
‘मानिसहरूले झन् खतरनाक तरिकाले लेन मिचिरहेका छन्, तर हर्न बजाउन नपाउँदा टुलुटुलु हेरेर बस्नुको विकल्प छैन,’ कारको हर्न प्रतिबन्धबारे गुनासो गर्दै मिडिया क्षेत्रमा कार्यरत २९ वर्षीया लिउले भनिन् ।
सहरको सबैभन्दा प्रख्यात निर्यातमध्ये एक मानिने ड्रोनहरूको उडान पनि रोकिएको छ । 'मेइटुआन' कम्पनीले १० दिनका लागि ड्रोनमार्फत हुने डेलिभरी सेवा स्थगित गरेको छ ।
सहरभर दशौँ हजार मानिसहरू अंग्रेजीमा 'भोलिन्टियर' (स्वयंसेवक) लेखिएको रातो ज्याकेट लगाएर खटिएका छन्, जसमा आवासीय क्षेत्रका सुरक्षा गार्डहरूसमेत सामेल छन् ।
‘मेरो हाकिमले हामीले यो ज्याकेट लगाउनै पर्छ भन्नुभएको छ,’ ज्याकेटमा लेखिएका अक्षरहरू आफूले नबुझेको बताउँदै सेन्जेनको नान्सान जिल्लाका सुरक्षा गार्ड गुओले भने, ‘मलाई अंग्रेजी बोल्न आउँदैन ।’