काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २१.३३ प्रतिशतले घटेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १५ करोड २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८ करोड ९७ लाख २५ हजार रुपैयाँबाट घटेर २४ करोड ३ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको वित्तीय आम्दानी पनि २७ करोड ९२ लाख ८४ हजार रुपैयाँबाट घटेर २२ करोड ५८ लाख ८० हजार रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्तापूँजी २४ अर्ब ९२ करोड ८२ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब २३ करोड ७० लाख २ हजार रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँबाट घटेर २.४५ रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ ११५.५५ रुपैयाँबाट घटेर ११२.९९ रुपैयाँ कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०४.१४ गुणा रहेको छ भने प्रतिसेयर बजार मूल्य २५५ रुपैयाँ रहेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।