तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पर्सा — छठ घाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्नुका साथै सार्वजनिक स्थलमा अशान्ति मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान साढे ११ बजे वीरगन्ज महानगरपालिका–१७ केहुनिया र वडा १९ बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का २७ वर्षीय पृथ्वी कार्की तथा बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मंजुर हवारी छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई कानुनबमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।