काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् । उनीहरुका अनुसार अभिलेखमा विक्रम संवत् १७७८ उल्लेख छ । यसबाट तीन दशक लामो शिलालेख फेला परेको उनीहरुको दावी हो ।
हाल मन्दिर परिसरमा स्थापित शिलालेखको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे स्थलगत अध्ययन भइरहेको उनीहरुको भनाई छ । यससँगै पुस्तकमा उल्लेख भएर पनि फेला पार्न नसकिएको अर्को पुरानो शिलापत्र र मन्दिर परिसरका ऐतिहासिक प्रस्तर मूर्तिबारे समेत चासो बढेको उनीहरुको दावी छ । भक्तपुरको दक्षिणपूर्वी र ललितपुरको उत्तरपूर्वी पहाडी सिमानामा पर्ने रिसाल डाँडास्थित ढिकस्पाखामा रहेको काशी विश्वेश्वरनाथ मन्दिर सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिकाको सीमाक्षेत्रमा अवस्थित छ ।
मन्दिर तथा शिलालेखको स्थलगत अध्ययनमा इतिहास र संस्कृतिमा रुचि राख्ने लतिपुर लुभुका शिक्षक प्रकाश थापा, भक्तपुर सिरूटार निवासी लेखक ईश्वर बुढाथोकी, भक्तपुरकै ताथली निवासी सञ्चारकर्मी हरिसुन्दर छुकां र भक्तपुरकै कटुञ्जे निवासी समाजशास्त्री सुरेश बखुन्छें सहभागी छन् ।
अध्ययन टोलीका सदस्य एवं समाजशास्त्री सुरेश बखुन्छेंले अभिलेखमा देखिएका यी भिन्नतालाई सामान्य रूपमा लिन नहुने बताएका छन् । उनले भने, “प्रायः मल्लकालीन अभिलेख नेपाल संवत्, स्थानीय लिपि र नेपाल भाषामा पाइने गरेकोमा यस अभिलेखमा विक्रम संवत् र देवनागरी लिपि देखिनु अध्ययनको महत्वपूर्ण विषय हो । यसलाई हल्का रूपमा लिएर निष्कर्षमा पुग्नु हुँदैन । प्रामाणिक तथ्य, इतिहास र तत्कालीन सामाजिक–सांस्कृतिक पक्षसँग दाँजेर बृहत् अध्ययन तथा छलफल गर्न आवश्यक छ ।”
उनका अनुसार यस क्षेत्रमा पुस्तकमा उल्लेखित पुरानो शिलापत्र, हाल प्राप्त अभिलेख र भक्तको प्रस्तर सालिगबीचको ऐतिहासिक सम्बन्ध पहिल्याउन सके मन्दिरको इतिहासबारे नयाँ तथ्य पत्ता लाग्न सक्छन् । भक्तपुर र ललितपुरको सिमानामा रहेको यस मन्दिर परिसरमा भेटिएको अभिलेखले स्थानीय इतिहासका कैयौँ अनुत्तरित प्रश्नलाई पुनः सतहमा ल्याएको छ ।
ढुङ्गामा कुँदिएका अक्षरको सूक्ष्म अध्ययन, पुस्तकमा उल्लिखित विवरणसँगको तुलनात्मक विश्लेषण, प्रस्तर सालिग तथा अन्य मूर्तिको लक्षण अध्ययन र स्थानीय मौखिक इतिहासको खोज गर्न सके यस क्षेत्रको मल्लकालीन धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका महत्वपूर्ण पाटाहरू उजागर हुन सक्छन् ।
अध्ययन टोलीका सदस्यहरूका अनुसार अभिलेखको अध्ययन जारी छ र थप तथ्यहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ । अहिले पुनः पहिचानमा आएको यो अभिलेख एउटा पुरानो लेखोट मात्र नभई समयसँगै ओझेलमा परेको इतिहासको खोजी गर्ने महत्वपूर्ण आधार बनेको छ । पुस्तकमा उल्लेख भएर पनि हराएको भनिएको शिलापत्रको वास्तविकता, हाल प्राप्त अभिलेखको ऐतिहासिक पृष्ठभूमि र मन्दिर परिसरमा रहेका प्रस्तर मूर्तिको पहिचानले आगामी दिनमा यस क्षेत्रको इतिहासको नयाँ अध्याय खोल्न सक्ने सम्भावना छ ।
अध्ययनका क्रममा अभिलेखमा उल्लेखित संवत् र प्रयोग भएको लिपिले केही महत्त्वपूर्ण ऐतिहासिक प्रश्नसमेत उठाएका छन्। अधिकांश मल्लकालीन अभिलेखमा नेपाल संवत् उल्लेख भएको पाइने भए पनि हाल प्राप्त शिलालेखमा विक्रम संवत् उल्लेख हुनुले यस क्षेत्रको तत्कालीन अभिलेखीय परम्पराको थप अध्ययन गर्नुपर्ने देखिएको छ । यद्यपि भक्तपुर दरबार परिसरभित्र रहेको तलेजु मन्दिरको उत्तरपूर्वमा अवस्थित कलात्मक ढुङ्गेधारामा नेपाल संवत्, शक संवत् र विक्रम संवत् गरी तीनवटै संवत् उल्लेख भएको उदाहरण पनि छ ।
नेपालमा चन्द्रशमशेरको इख्तियारपछि नेपाल संवत्को सट्टा विक्रम संवत् सरकारी कामकाजमा प्रचलनमा आएको मानिँदै आएको सन्दर्भमा मल्लकालीन अभिलेखमै विक्रम संवत् उल्लेख हुनुले संवतको प्रयोग र प्रचलनबारे थप अनुसन्धानको ढोका खोलेको छ । त्यस्तै, अधिकांश मल्लकालीन अभिलेख प्रचलित स्थानीय लिपि तथा नेपाल भाषामा पाइने गरेकोमा हाल प्राप्त अभिलेख देवनागरी लिपिमा हुनु पनि अध्ययनको अर्को महत्वपूर्ण पक्ष हो । यसले अभिलेखको मिति, भाषा, लिपि र तत्कालीन सामाजिक–सांस्कृतिक परिवेशबीचको सम्बन्धबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
प्रकाशित: ३० कार्तिक २०८३ १९:४९ सोमबार