थाई एयरवेज इन्टरनेशनलको विमानमा प्राविधिक समस्या देखिएपछि भारतको नयाँ दिल्लीमा अवतरण गरिएको छ।
जर्मनीको म्युनिखबाट बैंककतर्फ उडेको एयरबस ए३५०-९०० विमानमा समस्या देखिएपछि पाइलटले सावधानीका रूपमा भारततर्फ मोड्ने निर्णय गरेका हुन्।
घटनापछि नयाँ दिल्लीमा रोकिएका यात्रुलाई बैंकक पुर्याउन थाई एयरवेजले सोमबार वैकल्पिक विमान पठाइएको जानकारी दिएको छ।
थाई एयरवेजका अनुसार शनिबार स्थानीय समयअनुसार दिउँसो १:३५ बजे म्युनिखबाट बैंककतर्फ उडेको उडान नम्बर टीजी९२५ मा उक्त समस्या देखिएको थियो।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उडानका क्रममा प्राविधिक समस्या पहिचान भएपछि प्रमुख पाइलटले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै सावधानीका रूपमा विमानलाई नयाँ दिल्लीमा अवतरण गराउने निर्णय गरे। विमान सुरक्षित रूपमा अवतरण भयो र सबै यात्रु सुरक्षित छन्।’
थाई एयरवेजले प्रभावित यात्रुका लागि आवासको व्यवस्था गरेको थियो। उनीहरूलाई बैंकक पुर्याउन सोमबार टीजी८४७९ नामको विशेष उडान नयाँ दिल्ली पठाइएको थियो।
प्रकाशित: ३० कार्तिक २०८३ १४:३४ सोमबार