काठमाण्डौ । विद्युतीय सवारीसाधनको विकासमा तीव्र प्रगति गरिरहेको चीनले अब हवाई यातायातमा समेत नयाँ उपलब्धि हासिल गरेको छ। चीनमा निर्मित व्यावसायिक विद्युतीय विमान ‘सीई–२५ए’ ले पहिलोपटक पाइलटसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
चिनियाँ सरकारी विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) का अनुसार नोभेम्बर १४ मा चीनको शानडोङ प्रान्तस्थित बिन्झाउमा उक्त विमानको परीक्षण उडान गरिएको थियो।
परीक्षणका क्रममा विमानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सवार थिए। कम्पनीका अनुसार उडानका क्रममा विमानको अवस्था सामान्य रहेको र सबै प्रमुख कार्यसम्पादन सूचकहरूले अपेक्षाअनुसार काम गरेका थिए।
यो उपलब्धिसँगै चीनले छोटो दूरीको व्यावसायिक हवाई यातायातमा विद्युतीय प्रविधिको प्रयोगलाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।
कोम्याकले विकास गरेको सीई–२५ए विमान विशेषगरी एक सहरबाट अर्को सहरसम्मको छोटो दूरीको व्यावसायिक उडानका लागि डिजाइन गरिएको हो।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा अधिकतम १९ यात्रु बोक्न सकिन्छ। यसको अधिकतम उडान तौल १० टन रहेको छ।
विमानको सामान्य उडान गति प्रतिघण्टा ३०० किलोमिटर रहेको छ भने यो २ हजार ४०० मिटरको उचाइमा उड्न सक्ने गरी डिजाइन गरिएको छ।
यसको प्रस्तावित उडान दूरी ४०० किलोमिटर छ। अर्थात् विमानले एकपटकको ब्याट्री ऊर्जामा ४०० किलोमिटरसम्म उडान गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ।
यद्यपि, पूर्ण यात्रु क्षमतासहित वास्तविक व्यावसायिक उडानमा यसको दूरी र कार्यसम्पादन कस्तो हुन्छ भन्ने कुरा आगामी परीक्षण तथा प्रमाणीकरणबाट स्पष्ट हुनेछ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।