सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ ।
तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ ।
त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका भेटिन्छन् ।
टाढाबाट हेर्दा उनीहरू ठूलो बिरालोजस्ता देखिन्छन् । तर, नजिकबाट नियाल्दा थाहा हुन्छ, ती बिरालो होइनन्, जंगलका राजा सिंह हुन् ।
तान्जानियाको लेक मन्यारा आसपास र युगान्डाको इशाशा रिजर्भमा सिंहहरू रूख चढेर लामो समयसम्म हाँगामा बस्ने गर्छन् ।
उनीहरू दिनको तातो समयमा रूखको छायामा आराम गर्छन् र त्यहीँबाट वरपरको जंगल नियालिरहेका हुन्छन् ।
वन्यजन्तु विज्ञहरूका अनुसार यसको एउटा मुख्य कारण गर्मी र किराबाट बच्नु हो ।
वर्षायाम सुरु भएपछि रिफ्ट भ्याली आसपासको घाँसे मैदानमा विभिन्न किसिमका किरा बढ्छन्। रगत चुस्ने झिँगा तथा अन्य कीराले शेरलाई निकै सताउन सक्छन् ।
जमिनको तुलनामा रूखमाथि हावा चलिरहन्छ । त्यसैले, त्यहाँ बस्दा कीराको हैरानी केही कम हुन्छ ।
अर्कोतर्फ, दिउँसोको चर्को घाममा जमिन निकै तात्छ । रूखका हाँगामा भने छायाँ हुन्छ र हावा पनि चलिरहेको हुन्छ । त्यसैले, शेरलाई शरीर चिसो राख्न कम ऊर्जा खर्च गर्नुपर्छ ।
तर रूखमा चढ्नुको फाइदा यतिमै सीमित छैन ।
अग्लो हाँगामा बसेपछि सिंहले वरपरको ठूलो क्षेत्र देख्न सक्छ।
टाढाबाट आउने भैंसी, हरिणलगायतका जनावरका समूहलाई जमिनबाटभन्दा रूखमाथिबाट सजिलै नियाल्न सकिन्छ। यसले सिंहलाई आफ्नो सम्भावित शिकार कहाँ छ भन्ने थाहा पाउन मद्दत गर्छ।
अर्थात्, रूख उनीहरूका लागि आराम गर्ने ठाउँ मात्र होइन, वरपरको गतिविधि नियाल्ने एउटा राम्रो स्थान पनि हो।
तर, सिंह त रूख चढ्न माहिर हुँदैनन्, नि?
हो, सिंह चितुवाजस्तो रूख चढ्न माहिर जनावर होइन ।
चितुवाको शरीर हलुका र लचिलो हुन्छ। उसको लामो पुच्छरले रूखका हाँगामा सन्तुलन कायम राख्न पनि मद्दत गर्छ।
सिंहको शरीर भने ठूलो र भारी हुन्छ। त्यसैले, रूख चढ्नु उसका लागि सजिलो काम होइन ।
कहिलेकाहीँ युवा सिंहहरू चिप्लो बोक्रामा चिप्लिन्छन् । लामो समयसम्म सुतेपछि उठ्दा सन्तुलन गुमाएर हाँगाबाट तल खस्ने घटना पनि हुन्छ।
तर, त्यसपछि पनि उनीहरू फेरि रूख चढ्न पछि हट्दैनन् ।
इशाशा र लेक मन्याराका सिंहका लागि रूख चढ्नु कुनै असामान्य व्यवहार होइन।
यो व्यवहार उनीहरूले पुस्तौँदेखि गर्दै आएका छन् ।
सिंहका बच्चा विस्तारै आफैँ हिँडडुल गर्न सक्ने भएपछि पोथीले उनीहरूलाई रूख चढ्ने अभ्यास गराउन थाल्छिन् । हुर्किंदै जाँदा उनीहरूले रूखमा कसरी चढ्ने मात्र होइन, कहिले र किन चढ्ने भन्ने पनि सिक्दै जान्छन्।
त्यसैले, बाहिरबाट हेर्दा अनौठो लाग्ने यो व्यवहार उनीहरूको दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ ।
सिंहलाई हामी प्रायः खुला मैदानको शक्तिशाली शिकारीका रूपमा बुझ्छौँ।
तर इशाशा र लेक मन्याराका रूखमा बसेका सिंहले वन्यजन्तुको व्यवहार सधैँ एउटै हुँदैन भन्ने देखाउँछन् ।
आफ्नो वरपरको वातावरणमा आउने चुनौतीअनुसार जनावरले पनि आफूलाई बदल्न सक्छन् । गर्मी बढ्दा छायाँ खोज्ने, कीराबाट बच्ने र टाढासम्म देखिने ठाउँ रोज्ने । यी सबै उनीहरूको वातावरणसँगको अनुकूलनका उदाहरण हुन् ।