राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा विभिन्न पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ । केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत र सहायक स्तरका विभिन्न ९ पदमा करार सम्झौतामार्फत पदपूर्ति गर्न राससले सूचना जारी गरेको हो।
प्रकाशित सूचना अनुसार विज्ञापन नम्बर १/०८१–०८२ अन्तर्गत अधिकृत स्तर–६ को भिजुअल एडिटर पदका लागि एक जना माग गरिएको छ। त्यसैगरी विज्ञापन नम्बर २/०८१–०८२ मार्फत सहायक स्तर–५ को भिजुअल एडिटर पदमा तीन जना र विज्ञापन नम्बर ३/०८१–०८२ अन्तर्गत सहायक स्तर–४ को छायाँकार पदका लागि पाँच जना कर्मचारी करार सेवामा पदपूर्ति गरिने भएको छ।
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले राससको केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा रासस प्रशासन शाखाको इमेल ठेगाना ( [email protected] ) मार्फत दरखास्त पेश गर्न सक्नेछन्।
इमेलबाट आवेदन गर्दा वेबसाइटमा प्रकाशित दरखास्त फाराम भरेर आवश्यक सम्पूर्ण कागजातहरू एउटै पीडीएफ फाइल (२ एमबीभन्दा सानो साइज) बनाई पठाउनुपर्ने व्यवस्था गरिएको छ। सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८१ कात्तिक ३० गते) ले सात दिनभित्र इच्छुक उम्मेदवारले दरखास्त बुझाइ सक्नुपर्नेछ।