मंसिर महिना सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मौसममा आएको परिवर्तनले तराई–मधेशमा चिसोको प्रभाव देखिन थालेको हो।
राजविराज — मधेश प्रदेशका विभिन्न जिल्लामा आजदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। मौसममा आएको परिवर्तनसँगै बिहानैदेखि हुस्सु र चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ।
मंसिर महिना सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मौसममा आएको परिवर्तनले तराई–मधेशमा चिसोको प्रभाव देखिन थालेको हो। बाक्लो हुस्सुका कारण बिहानको समयमा दृश्यता कमजोर बनेको छ भने सर्वसाधारणको दैनिक गतिविधिमा समेत असर परेको छ।
हुस्सु र चिसोको प्रभाव छठ पर्वका अवसरमा समेत देखिएको छ। सप्तरीका केही क्षेत्रमा सूर्योदय नदेखिएपछि छठका व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन कठिनाइ भोग्नुपरेको थियो। चिसो पानीमा दुई घण्टाभन्दा बढी समय बिताउनुपर्दा व्रतालुहरूलाई थप असहज भएको थियो।
यसैबीच, बाक्लो हुस्सुका कारण सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारीसाधनसमेत प्रभावित भएका छन्। सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।
ट्राफिक प्रहरीले हुस्सु लागेको समयमा सवारीसाधनको गति नियन्त्रणमा राख्न, सुरक्षित दूरी कायम गर्न तथा आवश्यकताअनुसार बत्तीको प्रयोग गर्न चालकहरूलाई सुझाव दिएको छ।
मौसममा आएको परिवर्तनसँगै चिसो बढ्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीले स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिएको छ।
आरएन विश्वास कान्तिपुर मिडिया ग्रुपका सप्तरी संवाददाता हुन् ।