नेपाली समाजमा गाईको बहुआयामिक महत्त्व रहेकाले योसँग अन्य जनावरको तुलना गर्न सकिँदैन ।
सन् १९६८ मा अमेरिकी मानवशास्त्री मार्विन ह्यारिसको मनमा सोच आएछ, भारतमा दूध असाध्यै कम दिने रैथाने गाई छन्, हूलका हूल गाईले सडक फोहोर बनाउँछन्, खेतबारीमा पसेर बालीनाली नोक्सान गर्छन्, गाईहरू मासुका लागि पनि प्रयोग हुँदैनन् तथापि हरेक घरमा किन गौपालन गरिएको छ ?
यो कुरा बुझ्न नसकेर उनी चकित भए । उनले यसैलाई आफ्नो अध्ययनको विषय बनाए । उनी कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित थिए । यसै सिद्धान्तलाई आधार मानेर उनले अध्ययन गरेका थिए । माक्र्सवादको थेसिस, एन्टिथेसिस र सेन्थेसिसजस्तै उनले सामाजिक रूपान्तरणका लागि समाजमा तीन तत्त्व इन्फ्रास्ट्रक्चर, स्ट्रक्चर र सुपरस्ट्रक्चर हुन्छन् भने ।
मार्विनले आफ्नो अध्ययनमा गाईबाट मानिसलाई अति आवश्यक दूध, दही, मोही, घिउ मात्रै होइन, गोबर, गहुँत, गोरुलगायतका चीज पनि प्राप्त हुने निष्कर्ष निकाले । उनले गाईको गोबरबाट गुइँठा बनाएर गाउँघरमा ऊर्जाका रूपमा प्रयोग गरेको, गाईलाई लक्ष्मीका रूपमा पूजा गरेको, गाईको घिउ, दूध, दही, गोबर, गहुँतलाई पवित्र मानेर सेवन गरेको देखे । गाईको घिउ, दूध, दही, गहुँत र गोबरमा रहेको औषधीय गुणबारे थाहा पाए । यसको नतिजास्वरूप माक्र्सको द्वन्द्वात्मक भौतिकवादजस्तै मानवशास्त्रमा ‘सांस्कृतिक भौतिकवाद’ को सिद्धान्त प्रतिपादन गरे । उनको यस अध्ययनले गाईको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वको विषय उजागर गरेको छ ।
नेपालमा अछामी (नौ मुठे), लुलु, सिरी, तराई, पहाडी, खैला र चौंरी गरी सात प्रजातिका रैथाने वा स्थानीय गाई पाइन्छन् । गोबर, गहुँतलाई धार्मिक कार्यमा शुद्धीकरण गर्न र जैविक मल बनाउन प्रयोग हुन्छ । गाईको गोबर र गहुँतबाट बनेको मल प्रयोग गरेको जमिनको उत्पादकत्व क्षमता अन्य जनावर र रासायनिक मलको भन्दा बढी हुन्छ ।
गाईको गहुँत अधिकांश आयुर्वेदिक औषधिमा प्रयोग हुन्छ । खास कारण नेपाली रैथाने गाईको जुरोबाट सूर्यको शक्ति गाईको शरीरमा प्रवेश गर्ने र जंगलमा चरण गर्दा दुबो, घोडताप्रेलगायतका विभिन्न जडीबुटी आहारका रूपमा खाने हुँदा त्यसबाट गाईको दूध, दही, घिउ, गोबर, गहुँत औषधीय गुणयुक्त हुन्छन् । गाईको घिउले मालिस गरेमा हड्डी बलियो हुनुको मुख्य कारण सूर्यको किरण हो । शुद्ध गाईको घिउ काँचको कचौरामा राखेर शिशुको पैतालामा नियमित मालिस गर्दा बच्चा तीक्ष्ण बुद्धिको हुन्छ भन्ने मान्यता छ ।
जंगलमा त भैंसी, बाख्रा, भेडा पनि चरेकै हुन्छन् तर गाईको पाचन प्रणालीमा के त्यस्तो विशेष गुण हुन्छ, जसले गर्दा गाईबाट उत्पादित वस्तुमा औषधीय गुण हुन्छ ? रैथाने गाईको आन्द्रामा हुने विशेष प्रकारका लाभदायक ब्याक्टेरिया र इन्जायमले पाचन प्रणाली व्यवस्थित पार्छन् । गाईको पेटमा रहने महत्त्वपूर्ण सूक्ष्म जीव र तिनले पाचन प्रणालीमा पुर्याउने योगदानका कारण गाईको गोबर र गहुँतमा विशिष्ट औषधीय गुण हुन्छन् । तिनमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ भने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण भएको हुँदा गोबरले जमिन लिप्दा र गहुँतको प्रयोगबाट वातावरण शुद्ध हुने मानिन्छ ।
गाईलाई लक्ष्मीका रूपमा मान्ने चलनको मूल कारण गाईबाट प्राप्त हुने दूध, दही, घिउ बिक्रीबाट धन आर्जन हुने, मल र मूत्रबाट निर्मित जैविक मल प्रयोग गरेर कृषि उत्पादन बढ्ने, गाईका बहर, गोरु बिक्री गर्न सकिने र नेपालमा खेतीमा आधुनिक कृषि औजारको प्रयोग हुनुअघि खेत जोत्नका लागि गोरुको प्रयोग हुने भएकाले हो । अहिले पनि देशका विभिन्न भागमा खेतबारी जोत्न गोरुकै प्रयोग हुन्छ । त्यसैले गाई हाम्री माता हुन्, धनकी देवी हुन् । हाम्रो कृषिप्रधान देशमा गाई र गोरु नै कृषिको मूल आधार हुन् ।
जन्म दिने आमा, गुरुआमा, पृथ्वी, गाई र नदी पाँच मुख्य जननीलाई आमा मानिन्छ । जन्म दिने आफ्नी आमा नहुँदा पनि गाईको दूधमा निर्भर हुनुपर्ने र आमाको दूधपान गर्न छोडेपछि पनि जीवनपर्यन्त गाईको दूध पिएर शक्ति आर्जन गर्ने हुँदा गाईलाई गौमाता मानिन्छ । हाम्रो समाजमा गाईको बहुआयामिक महत्त्व रहेको हुँदा गाईसँग अन्य जनावरको तुलना हुनै सक्दैन । पशुपतिनाथको मन्दिर रहेको काठमाडौं उपत्यकामा परम्परागत रूपमा गोरुलाई भगवान् शिवको वाहन नन्दीका रूपमा पुजिने भएकाले गोरु नारेर खेत जोत्न निषेधित मानिँदै आएको छ ।
कमलजंग कुँवर गैंडालाई चार वर्ष पुस्तकका लेखक एवं चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पूर्व चिफ वार्डेन हुन् ।