दसैँअघि हालिएको चौबीस पिर्के पिङ आइतबार दिउँसो २:४५ बजेतिर भाँचिएको हो। पिङ खेल्ने क्रममा एकैपटक २४ जना चढेका बेला भार थेग्न नसकेर पिङ भाँचिएको हुन सक्ने प्रहरीले जनाएको छ।
लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका–१०, बर्धनमा चौबीस पिर्के पिङ भाँचिँदा तीन जना घाइते भएका छन्।
दसैँअघि हालिएको चौबीस पिर्के पिङ आइतबार दिउँसो २:४५ बजेतिर भाँचिएको हो। पिङ खेल्ने क्रममा एकैपटक २४ जना चढेका बेला भार थेग्न नसकेर पिङ भाँचिएको हुन सक्ने प्रहरीले जनाएको छ।
घाइते हुनेमा चितवनको भरतपुर महानगरपालिका–११, कैलाशटोलकी २७ वर्षीया अन्जु राना र सोही ठाउँकी ३५ वर्षीया मुना थापा छन्। यस्तै, तनहुँको व्यास नगरपालिका–१, भादगाउँका ४० वर्षीय ज्ञानेन्द्र सुनार घाइते भएका छन्।
घाइते तीनै जनालाई उपचारका लागि पोखरा लगिएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको भोर्लेटार प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार तीनै जनाको अवस्था मध्यम छ।
अन्जुको हातखुट्टा र कम्मरमा चोट लागेको छ। मुनाको कम्मर र ढाडमा तथा ज्ञानेन्द्रको हातखुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। पिङ खेल्न आइतबार चितवन र तनहुँबाट समेत नागरिक आएका थिए।
प्रहरी निरीक्षक शर्माका अनुसार पिङको मादल तीन वर्ष पुरानो रहेको बुझिएको छ। लामो समयदेखि भार थेग्दै आएको मादल पानीका कारण कमजोर हुँदै गएको र पिङ खेल्ने क्रममा परेको दबाबले भाँचिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।