Trending
Prev Story
Next Story

विचार | घरै छैन, कहाँ जाने ?

Ekantipur •
November 15, 2026 • 04:32 PM
4
4 reads 0 reactions

यो दसैं–तिहारमा धेरैले ‘गाउँ जाने कि यतै हो चाड ?’ भनेर सोधे । स्तब्ध हुन्थें, अनि बडो गह्रुँगो मनले भन्थें, ‘बाढीले घर, गाउँ, मान्छे सबै बगायो । के नै बाँकी छ र जानु !’

विचार | घरै छैन, कहाँ जाने ?

यो दसैं–तिहारमा धेरैले ‘गाउँ जाने कि यतै हो चाड ?’ भनेर सोधे । स्तब्ध हुन्थें, अनि बडो गह्रुँगो मनले भन्थें, ‘बाढीले घर, गाउँ, मान्छे सबै बगायो । के नै बाँकी छ र जानु !’

भोटेकोशी बाढीले घर र गाउँ बगाएको दुई महिना बितिसकेछ । काठमाडौंमा बस्ने म हिम्मत जुटाएर केही साताअघि नुवाकोटस्थित आफ्नो गाउँ पुगें । तर गाउँ ठम्याउनै मुस्किल भयो । जताततै बगर । अटो चालकले ‘तपाईंको गाउँ यहीं थियो’ भनेर झारिदिएपछि पत्याउनैपर्‍यो ।

हाम्रो घरको ठीक अगाडि वरको एउटा ठूलो रूख थियो । मलाई आशा थियो– त्यो रूख त्यहीं होला, त्यसकै आधारमा आफ्नो घर भएको ठाउँ चिनिएला । तर त्यसलाई पनि बाढीले उखेलेर लगेछ ।

पहिले घर र गाउँ रमाइला थिए । खोला बस्तीभन्दा पर आफ्नै ठाउँमा बग्थ्यो । यसपालि भने बस्तीमै पस्यो । अनि त एकै झोकामा सबै बग्यो । धेरैको जीवन खोसियो । धेरै जना बेपत्ता भए । हजारौं बेघरबार बने । एकैसाथ जीवनका धेरै आधार खोसियो ।

घर बगाउनु भनेको भौतिक संरचना गुमाउनु मात्रै होइन । आफ्नो थातथलो, जीवनभरको पुँजी, सम्झना, भावना र भविष्यप्रतिको भरोसा गुमाउनु पनि हो । यतिबेला हामी त्यही अवस्थामा छौं ।

हुन त घर २०७२ सालको भूकम्पमा पनि ढलेको थियो । जन्मेको, हुर्केको र जीवनको लामो समय बिताएको घर थियो त्यो । बुवाको एक्लो मिहिनेतले बनेको थियो । आमाले विवाहपछि आफ्नो प्रेम, स्नेह, संघर्ष र त्यागले सजाउनुभएको घर थियो । त्यस घरमा हाम्रो जीवनका अनगिन्ती सम्झना थिए । हाम्रो पुस्ताले आफ्नै घर ढलेको पहिलो पटक त्यही बेला देखेको थियो ।

भूकम्पपछि घर फेरि उठ्यो । घर बनाउँदा मैले बुवालाई सघाएको थिएँ । भूकम्पले घर ढाले पनि जग त्यहीं थियो, माटो त्यहीं थियो, घर अगाडिको वरको रूख त्यहीं थियो । अनि छिमेकीहरू त्यहीं थिए, गाउँ त्यहीं थियो । हाम्रा सम्झना र पुराना सामान त्यहीं सुरक्षित थिए । जे–जस्तो कारणले गाउँबाट टाढिएको भए पनि गाउँ पुग्दा आफ्नो जरामा फर्किएजस्तो लाग्थ्यो । भूकम्पपछि बनेको घरसँग पहिलेझैं हाम्रो माया बसेको थियो ।

तर घर ढल्नु र बग्नुमा फरक रहेछ । घरसँगै हाम्रा वर्षौंदेखिका परिवेश र सम्झना बगे । हाम्रो मिहिनेत बग्यो । आमा–बुवाले सजाउनुभएको सानो सुन्दर संसार बग्यो । घरअगाडिको वरको रूख बग्यो । छिमेकी बगे । खेतबारी, बाटाघाटा बगे । स्कुल बगे । गाउँमा सबै मिलेर भर्खरै बनाउँदै गरेका पार्क, नयाँ पुल, मन्दिर– कति कुरा बगे, कति कुरा उजाडिए, भनिसाध्य छैन, सोचिसाध्य छैन ।

भूकम्पले घर ढाले पनि फेरि उभिने आधार बाँकी थियो । मान्छेहरू फेरि आशा सँगाल्दै तंग्रिन अघि सरे । टेन्टबाट अस्थायी टहरामा सरे । पुराना घरका जस्तापाता निकालेर केही समय भए पनि जीविकोपार्जन गर्ने बाटो खोजे । घर भत्किए पनि त्यसबेला घर फेरि बनाउन सकिन्छ भन्ने भरोसा बाँकी थियो । यसपटक त्यो भरोसा पनि छैन । घर–गाउँ भएको ठाउँ उराठलाग्दो बगर छ । अनि बाढीबाट भाग्दा जीउमा लगाएको एक थान लुगाबाहेक धेरैसँग केही पनि छैन ।

यो बाढीपछि हजारौं मानिसका अगाडि विकल्प नै छैन । कति समयसम्म होल्डिङ सेन्टर वा अरूकोमा आश्रय लिएर बस्नुपर्ने हो ? केही पनि थाहा छैन ।

घरको यादले धेरैलाई दिनहुँ पिरोल्छ । बाढीपछि दसैं–तिहार आए । चाडपर्वका बेला धेरै बल्झिने घाउ नै घर र घरका मान्छे हुने रहेछन् । घरको आँगनमा आउनुपर्ने दसैं–तिहार हाम्रा आँगनमा आएन । किनकि, हाम्रो आँगन नै बाँकी छैन । गाउँका कतिपय ठाउँ त बस्तीभन्दा बढी मसानघाटको शून्यताजस्ता देखिन्छन् ।

यो दसैं–तिहारमा धेरैले ‘गाउँ जाने कि यतै हो चाड ?’ भनेर सोधे । स्तब्ध हुन्थें, अनि बडो गह्रुँगो मनले भन्थें, ‘बाढीले घर, गाउँ, मान्छे सबै बगायो । के नै बाँकी छ र जानु !’

बाढीका बेला काठमाडौंमा रहेको मलाई त यस्तो भयो । जसले आफ्नो मिहिनेतले बनाएको र मायाले सजाएको घर बगाएको प्रत्यक्ष देखे, आफ्ना मान्छेहरू बगेको र आफूसँगै भाग्दै गर्दा हात छुटेको देखे, उनीहरूका लागि यो चाडपर्व कसरी बित्यो होला ? मन कति भक्कानियो होला ? त्यसको कल्पना गर्न पनि गाह्रो छ ।

माटोको माया, घरको माया, गाउँ फर्की आएँ, छिमेकी जस्ता शब्द र वाक्यांशले हामी नेपालीलाई बढी नै छुने रहेछ । किनकि यी शब्दमा ठाउँको माया मात्र होइन, आफ्नोपनको अनुभूति पनि जोडिएको हुने रहेछ । त्यसैले सम्झनाका लागि घरको माटो भए पनि बोकूँ भनेर खोजेँ, कताबाट बगाएर ल्याएको बालुवा मात्रै भेटियो । पछि साथी र चिनेका मान्छेसँग कुरा हुँदा ‘घरको माटो पनि भेटिएन’ भनेर भावुक भयौं ।

२०७२ सालको भूकम्पपछि धेरैले पुराना घरलाई पक्की घरमा परिणत गरे । धेरैले आफ्नो जीवनभरको पुँजी लगाएर घर बनाए । प्राय: नेपालीका लागि घर सधैं एउटा ‘सपना’ हो । आफ्नो सपनाको घर साकार पार्न वर्षौं मिहिनेत गर्छन् । जीवनभरको बचत लगाउँछन्, नपुगे ऋण काढेर घर बनाउँछन् । किनकि घरले आफ्नो र सन्ततिको भविष्य बलियो बनाउँछ । बाले बनाएको होस् वा आफैंले, ‘घर त छ नि’ भन्ने एउटा भरोसा हुन्छ ।

केही परे घर धितो राखौंला वा बेचौंला भन्ने सोचले पनि मानिसलाई एउटा आधार दिन्छ । सपना देख्न, हिम्मत राख्न, आफूमाथि विश्वास गर्न र भविष्यप्रति विश्वास गर्न घरले ठूलो भरथेग दिन्छ । तर बाढीले घर बगाएपछि धेरैको सपना बगेको छ, हिम्मत धूलोपिठो भएको छ र विश्वास ढलेको छ ।

मैले आफ्नै गाउँका धेरै मानिसलाई जीवनभरको मिहिनेत लगाएर घर बनाएको र परिवारको जीवनस्तर पहिलेभन्दा राम्रो बनाएको देखेको छु । कतिले लामो समय विदेश बसेर कमाएको पैसाले एउटा ‘घर’ बनाएका थिए– ‘पक्की घर’ । अब आफ्नै घर, गाउँ र परिवार भएको ठाउँमा बसेर बाँकी जीवन बिताउने सपना हुन्थ्यो उनीहरूको । कतिको सोच थियो– घरमै बसेर मिहिनेत गरुँला, छोराछोरी पढाउँला, राम्रो ठाउँमा पठाउँला । तर घरसँगै ती सपना पनि बगे ।

घर भनेको सुरक्षा हो । आमाबुवाले हामीलाई दिउँसो जहाँ गए पनि ‘भरे छिट्टै घर आउनू है’ भन्नुहुन्छ । पानी पर्‍यो भने घर जाऊ, जाडो भयो भने घरमै बस, चाडबाड आयो भने घरमै रमाइलो गरौं । यस्ता सानासाना कुराले पनि हाम्रो जीवनमा घरले कति ठूलो अर्थ राख्छ भन्ने देखाउँछन् । घर एउटा यस्तो ठाउँ हो, जोसँग बाहिर जति नै असहज र कठिनाइ भए पनि फर्केर पुग्न पाए हुन्थ्यो भन्ने भरोसा जोडिएको हुन्छ । तर अहिले घर नै नभएकाले झरी पर्दा कहाँ ओत लाग्ने ? जाडो हुँदा कहाँ न्यानो हुने ? चाडबाड आउँदा कहाँ रमाइलो गर्ने ? समग्रमा, आफ्नो मन कहाँ स्थिर पार्ने ? सामान्य लाग्ने यी प्रश्न धेरैका लागि अहिले ठूलो चुनौती बनेका छन् ।

जसको घर पूरै बगेको छैन, उनीहरू सरसफाइ गरेर बस्ने तरखरमा छन् । कतिपय बस्न थालिसकेका छन् । होल्डिङ सेन्टरमा बसिरहेकाहरू आफ्नै थातथलो फर्कन चाहन्छन् । यसको कारण पनि यही हो– कति दिनसम्म अरूकोमा शरण लिने ? आखिर मानिसलाई आफ्नै घर फर्किने, परिचित र प्रियजनमाझ फेरि जीवन अगाडि बढाउने मन त हुन्छ नै । किनकि मानिसलाई आफ्नै घर, आफन्त, छिमेकी र स्थानीयताले सुरक्षित महसुस गराउँछ ।

तर घर फर्किन चाहनु र घर फर्किन पाउनु फरक विषय रहेछन् । जहाँ घर थियो, त्यहाँ अहिले खोला छ । जहाँ गाउँ थियो, त्यहाँ बगर छ । अब धेरैका लागि घर फर्किने चाहनासँगै एउटा प्रश्न पनि छ– फर्किन त फर्किने, तर कहाँ ?

दीपज्योति नुवाकोट निवासी श्रेष्ठ भोटेकोशी-त्रिशूली बाढीपीडित हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#गाउँ #बाढी #तिहार
Compare →
Hamro Patro News
1d ago
तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

काठमाडौँ- तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन बढेसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको च...

#गाउँ #तिहार
Compare →

Related Stories

Opinion & Editorial
Build #2612