महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ ।
कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस हुने अनुभव पनि सुनाउँछन् । तर के साँच्चै लामो समय यौन सम्पर्क नगर्दैमा योनि टाइट हुन्छ त ?
चिकित्सकका अनुसार यो सही होइन । लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनि प्राकृतिक रूपमा साँघुरिने वा कसिलो हुने हुँदैन । योनि लचिलो मांसपेशी र तन्तुबाट बनेको हुन्छ । यौनसम्बन्ध राख्दा वा अन्य अवस्थामा फैलिएको योनि पुनः आफ्नो सामान्य अवस्थामा फर्किन्छ ।
मेडिकभर अस्पतालका युरोलोजिस्ट, एन्ड्रोलोजिस्ट तथा सेक्सोलोजिस्ट डा. विजय दहिफलेका अनुसार लामो समय यौनसम्बन्ध नराख्दा योनि कसिलो हुने भन्ने कुरा भ्रम हो । तर लामो समयपछि यौनसम्बन्ध राख्दा केही महिलाले कसिलोपन वा असहजता महसुस गर्न सक्छन् । यसको कारण योनिको आकार परिवर्तन हुनु होइन ।
यौन उत्तेजना कम हुनु, योनिबाट आउने प्राकृतिक चिप्लोपन घट्नु र पेल्भिक फ्लोरका मांसपेशीमा तनाव हुनुजस्ता कारणले यस्तो अनुभव हुन सक्छ । त्यसैले, लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा असहज महसुस हुनुलाई योनि कसिलो भएको प्रमाण मान्न मिल्दैन ।
यौनसम्बन्ध नराख्दा योनिमा कस्तो असर पर्छ ?
लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनिको आकार वा बनावटमा स्थायी परिवर्तन हुँदैन । तर केही अवस्थामा यौनसम्बन्ध पुनः सुरु गर्दा निम्न समस्या देखिन सक्छन् ।
यौन उत्तेजना हुँदा योनिमा रक्तप्रवाह बढ्छ र प्राकृतिक चिप्लोपन उत्पादन हुन मद्दत पुग्छ । उत्तेजना पर्याप्त नभएमा योनिमा आवश्यक चिप्लोपन नहुन सक्छ । यस्तो अवस्थामा लामो समयपछि यौनसम्बन्ध राख्दा घर्षण बढ्ने, पोल्ने वा असहज हुने समस्या हुन सक्छ ।
लामो समयपछि यौनसम्बन्ध राख्दा केही महिलाले योनि पहिलेभन्दा कसिलो भएको महसुस गर्न सक्छन् । तर यसको अर्थ योनि साँघुरिएको भन्ने होइन । डर, तनाव, असहजता वा अनायासै पेल्भिक फ्लोरका मांसपेशी खुम्चिनुले पनि यस्तो अनुभूति गराउन सक्छ । यस्तो अवस्थामा पर्याप्त फोरप्ले र आवश्यकताअनुसार लुब्रिकेन्टको प्रयोगले सहज बनाउन सक्छ ।
मेनोपजपछि महिलाको शरीरमा एस्ट्रोजन हर्मोनको स्तर घट्छ । यो हर्मोनले योनिको तन्तुलाई स्वस्थ, लचिलो र ओसिलो राख्न मद्दत गर्छ । यसको मात्रा घट्दा योनिमा सुख्खापन, संवेदनशीलता र लचिलोपनमा कमी आउन सक्छ ।
यस्तो अवस्थामा लामो समयपछि यौनसम्बन्ध राख्दा दुख्ने, पोल्ने वा घर्षण हुने समस्या देखिन सक्छ ।
४. यौन उत्तेजना र इच्छामा परिवर्तन आउन सक्छ
लामो समयसम्म यौनसम्बन्ध नराख्दा कतिपय महिलामा यौनसम्बन्धप्रतिको रुचि वा उत्तेजनामा परिवर्तन आउन सक्छ । लामो अन्तरालपछि यौनसम्बन्ध राख्दा मानसिक रूपमा सहज हुन वा शारीरिक रूपमा उत्तेजित हुन केही समय लाग्न सक्छ । त्यसैले, हतार नगरी पर्याप्त समय दिनु र दुवै जना सहज हुनु महत्त्वपूर्ण हुन्छ।
लामो समयपछि यौनसम्बन्ध राख्दा के गर्ने ?
लामो समयपछि यौनसम्बन्ध राख्दा असहज महसुस भएमा हतार गर्नु हुँदैन । पर्याप्त फोरप्ले गर्ने, शरीरलाई उत्तेजित हुन समय दिने र आवश्यक परे पानीमा आधारित लुब्रिकेन्ट प्रयोग गर्ने गर्नुपर्छ । दुखाइ भएमा जबर्जस्ती यौनसम्बन्ध राख्नु हुँदैन ।
यौनसम्बन्धका क्रममा बारम्बार दुख्ने, पोल्ने वा असहज हुने समस्या भएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यस्तो समस्यालाई केवल लामो समय सेक्स नगरेको कारण भनेर बेवास्ता गर्नु हुँदैन ।