विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ।
एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबीच अन्योल बढेको हो।
संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने घोषणा गरेको थियो।
हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ।
टर्कीएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा केही राष्ट्रहरूले भने १.५ डिग्रीको लक्ष्य कायम राख्नुपर्ने अडान लिएका छन्।
विशेषगरी जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा रहेका साना टापु राष्ट्रहरूले यसलाई आफ्नो अस्तित्वसँग जोडेर हेरेका छन्।
प्रशान्त महासागरस्थित पलाउका राष्ट्रपति सुराङ्गेल ह्विप्स जुनियरले १.५ डिग्रीको लक्ष्य आफ्नो देशको खाद्य सुरक्षा, अर्थतन्त्र र सार्वभौमिकतासँग जोडिएको विषय भएको बताए।
अष्ट्रेलियाले सार्वजनिक गरेको वार्ता प्राथमिकतासम्बन्धी विवरणअनुसार केही देशहरूले अन्तिम सम्झौतामा १.५ डिग्रीलाई अझै पनि सही लक्ष्यका रूपमा स्वीकार गर्नुपर्ने माग गरेका छन्।
तर, केही राष्ट्रहरूले भने उक्त लक्ष्यलाई सम्झौताबाट हटाउने प्रयास गरिरहेको बताइएको छ।
यसमा साउदी अरब र भारतलगायतका देश समेटिएका अरब समूह तथा समान विचारधारा भएका विकासशील राष्ट्रहरूको समूह रहेको वार्तासम्बन्धी स्रोतहरूले बताएका छन्।
ग्रीनपिसका प्रतिनिधि ज्यास्पर इन्भेन्टरका अनुसार केही विकासशील देशहरू आर्थिक सहयोगबिना उत्सर्जन घटाउन थप दबाब पर्ने चिन्तामा छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव एन्टोनियो गुटेरेसले तापक्रम १.५ डिग्रीभन्दा माथि पुगे पनि यस्तो अवस्था सकेसम्म छोटो समयसम्म मात्र रहनुपर्ने बताए।
वैज्ञानिकहरूका अनुसार १.५ डिग्रीको सीमा पार भएपछि भीषण बाढी, गर्मीको लहर र मुगा चट्टानको स्थायी विनाशजस्ता जोखिम बढ्नेछन्।
एक्सेटर विश्वविद्यालयका जलवायु वैज्ञानिक पियरे फ्रिडलिङस्टाइनका अनुसार तापक्रम पुनः १.५ डिग्रीमा झार्न उत्सर्जन तीव्र रूपमा घटाउनुका साथै वृक्षरोपण, सिमसार संरक्षण र नयाँ प्रविधिको व्यापक प्रयोग आवश्यक हुनेछ।
उनले यो लक्ष्य असम्भव नभए पनि अत्यन्तै चुनौतीपूर्ण रहेको बताए।एएफपी
प्रकाशित: २९ कार्तिक २०८३ १७:५२ आइतबार