इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।
इरानको आणविक कार्यक्रमबाट खतरा बढेको दाबी गर्दै उनले सबै मतभेद र असमझदारी बिर्सेर एकता सरकार बनाउन आग्रह गरेका हुन्। तर आइसेनकोटले नेतान्याहूको प्रस्तावलाई ‘अर्को राजनीतिक चाल’ भन्दै अस्वीकार गरेका छन्।
शनिबार भिडियो सन्देश जारी गर्दै नेतान्याहूले आइसेनकोटसँग बिना कुनै पूर्वसर्त वार्ता गर्न तयार रहेको बताएका हुन्। उनले भने, ‘आउनुहोस्, एउटै कोठामा बसेर बिना पूर्वसर्त छलफल गरौँ। सबै मतभेद र बहिष्कारलाई पन्छाएर इजरायलको सुरक्षा र भविष्यका लागि सहमति गरौँ।’
बिहीबार आइसेनकोटलाई दिएको सुरक्षा जानकारीले पनि राष्ट्रिय एकता सरकार आवश्यक रहेको आफ्नो विश्वास थप बलियो बनाएको नेतान्याहूले बताए।
उनका अनुसार इरानले आफ्नो आणविक हतियार कार्यक्रम फेरि अघि बढाउन खोजिरहेको छ। तेहरानले इजरायलविरुद्ध आणविक हतियार प्रयोग गर्न सक्ने खतरा छ। यस्तो चुनौती सामना गर्न अरब दलको समर्थनमा बनेको कमजोर सरकार पर्याप्त नहुने उनको दाबी छ।
तर नेतान्याहूको प्रस्ताव आएको केही समयमै आइसेनकोटले त्यसलाई अस्वीकार गरे। उनले नेतान्याहूले चुनाव हारेको थाहा हुँदाहुँदै पनि सत्ता गठनको प्रक्रिया रोक्न खोजिरहेको आरोप लगाए। ‘नेतान्याहू एकता चाहन्छु भन्छन्, तर विभाजन र उत्तेजना फैलाइरहेका छन्। राम्रो प्रयास, तर यस्ता चाल ममाथि चल्दैनन् र इजरायलका नागरिकमाथि पनि चल्दैनन्,’ जवाफमाआइसेनकोटले भनेका छन्।
उनका अनुसार नेतान्याहूले सार्वजनिक रूपमा वार्ताको आह्वान गर्नुअघि नै लिकुड र याशर पार्टीका वार्ता टोलीबिच आइतबार बैठक गर्ने सहमति भइसकेको थियो। त्यसैले नेतान्याहूको पछिल्लो अपिललाई उनले राजनीतिक चालका रूपमा व्याख्या गरेका हुन्।
गत अक्टोबर २७ मा भएको चुनावमा कुनै पनि दल वा गठबन्धनले बहुमत (६१ सिट) ल्याउन सकेन। १२० सदस्यीय इजरायली संसद् नेसेटमा नेतान्याहूको दक्षिणपन्थी र धार्मिक दलहरूको गठबन्धनले ५३ सिट जितेको छ। आइसेनकोटको चार दलीय गठबन्धनले ४८ र अरब नेतृत्वका दलहरूले १९ सिट जितेका छन्।
राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्मा आइसेनकोटलाई दिएका छन्। उनलाई ६७ सांसदले समर्थन गरेका थिए भने नेतान्याहूको पक्षमा ४६ सांसद थिए। आइसेनकोटले सरकार बनाउन २८ दिन पाएका छन्। आवश्यक परे थप १४ दिन समय लिन सक्नेछन्।
आइसेनकोटले अरब नेतृत्वका दललाई आफ्नो सरकारमा सहभागी नगराउने बताएका छन्। उनको प्रस्तावअनुसार आफ्ना गठबन्धनका ४८ सांसदले सरकारको पक्षमा र नेतान्याहू पक्षका ४६ सांसदले विपक्षमा मतदान गर्नेछन्। बाँकी २६ सांसदले मतदानमा भाग नलिए सरकार गठन हुन सक्नेछ। ती सांसद अरब र अति-अर्थोडक्स दलका हुन्। नेतान्याहूले भने यस्तो सरकार बने इजरायल ‘धराशायी’ हुने चेतावनी दिएका छन्।
नेतान्याहूले प्रस्ताव गरेको एकता सरकारमा यहुदी बहुमत भएका मध्य र दक्षिणपन्थी दललाई समेट्ने तर अरब दललाई बाहिर राख्ने योजना छ। उनले र उनका सहयोगीले अरब दलहरूले चुनावमा धाँधली गरेर सिट जितेको आरोपसमेत लगाएका छन्। तर यसबारे ठोस प्रमाण प्रस्तुत भएको छैन। आइसेनकोटले अरब दलविरुद्ध नेतान्याहूले चलाएको अभियानलाई ‘जातिवादी’ भनेका छन्।
आइसेनकोटले नेतान्याहूको लिकुड पार्टी र बेजालेल स्मोट्रिचको धार्मिक जायोनिज्म पार्टीसँग सहकार्य गर्न सकिने बताएका छन्। तर उनीहरूले एकता सरकारप्रति इमानदार प्रतिबद्धता जनाउनुपर्ने र अतिवादी शक्तिसँग सम्बन्ध तोड्नुपर्ने उनको सर्त छ। उनले विशेषगरी इतामार बेन गभिरका समर्थकलाई सरकारबाट बाहिर राख्नुपर्ने बताएका छन्।
यसैबिच, मंगलबार नेसेटको सभामुख चयनका लागि मतदान हुँदैछ। अहिले सभामुख रहेका नेतान्याहू निकट अमिर ओहानाको ठाउँमा विपक्षी गठबन्धनले पूर्वसैनिक अधिकारी मत्तान काहानालाई उम्मेदवार बनाएको छ। आइसेनकोटले लिकुड र धार्मिक जायोनिज्म पार्टीले आफूहरूसँग वास्तविक सहकार्य चाहेको हो भने काहानालाई सभामुख बनाउन समर्थन गर्नुपर्ने बताएका छन्।
प्रकाशित: २९ कार्तिक २०८३ १०:०१ आइतबार