२९ कात्तिक, काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।
यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए । प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए ।
आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।