Trending
Prev Story
Next Story

विचार | छठको सामाजिक सन्देश

Ekantipur •
November 14, 2026 • 04:32 PM
3
3 reads 0 reactions

छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ ।

विचार | छठको सामाजिक सन्देश

छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ ।

कार्तिक शुक्ल षष्ठीको साँझ पोखरी, नदी, घाटको चिसो पानीमा उभिएका व्रतालुहरू अस्ताउँदो सूर्यतर्फ फर्केर हात जोडिरहेका हुन्छन् । सुपोमा फलफूल छ, ठेकुवाको बास्ना मगमगाएको छ, दियोको लहर छ र हावामा गीतको मधुर कम्पन छ । भोलिपल्ट बिहान झिसमिसेमै तिनै मानिस घाटमा पुग्छन् र उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिपूर्वक पूजा गर्छन् ।

संसारले उदयलाई मात्र पुज्छ, छठले अस्तलाई पनि शिर झुकाउँछ । यही एउटा दृश्यमा जीवनदर्शन अटाएको छ– जीवनमा उकालो मात्र हुँदैन, ओरालो पनि आउँछ । सम्मान सफलताको मात्र होइन, पूरै यात्राको हुनुपर्छ ।

इन्स्टाग्राम रिल्स र टिकटक भिडियोमा छठको उल्लास हेर्ने नयाँ पुस्ताका लागि यो पर्व सुन्दर दृश्यमा मात्र सीमित हुनु हुँदैन । यो पर्वको पछाडि हजारौं वर्षको ज्ञान, प्रकृतिप्रतिको कृतज्ञता र समानताको सन्देश छ ।

छठलाई बुझ्न पहिले मिथिलालाई बुझ्नुपर्छ । अन्न र जलले भरिपूर्ण यो भूमि इतिहासमा कृषिमा मात्र होइन, धर्म र दर्शनमा पनि उन्नत रह्यो । राजा जनकको सभामा याज्ञवल्क्य र गार्गीबीच भएको शास्त्रार्थ आज पनि बौद्धिक बहसको उत्कृष्ट उदाहरण मानिन्छ ।

वेद, उपनिषद् र पुराणको परम्परालाई समृद्ध बनाउने प्रकृतिपूजक ऋषिमुनिले यही भूमिमा लोककल्याणको संस्कार बसाले । रीतिरिवाज, व्रत र उपवासका परम्परा त्यहीँबाट झाँगिए । ती ऋषिहरूले एउटा कुरा राम्ररी बुझेका थिए । गहिरो तत्त्व सर्वसाधारणसम्म पुर्‍याउन कथा चाहिन्छ । त्यसैले व्रतकथा र धार्मिक आख्यान रचिए । कथाको आवरणमा परम तत्त्वका रहस्य र उच्च मानवीय मूल्य घरघर पुगे ।

समाजका अनगिन्ती लोकपर्वमध्ये छठ सबैभन्दा पवित्र लोकपूजा हो । धेरैलाई लाग्न सक्छ, छठ भनेको सूर्यको उपासना मात्र हो । तर यस पर्वकी अधिष्ठात्री छठी माई पनि उत्तिकै महत्त्वपूर्ण छिन् । त्यसैले छठ सूर्योपासना पनि हो र मातृपूजा पनि । परम्पराअनुसार प्रकृतिको छैटौं अंशबाट महाभगवती षष्ठीको जन्म भएको हो । संस्कृतको ‘षष्ठी’ नै मैथिली जनजिब्रोमा घोटिँदै ‘छठी’ बनेको हो ।

लक्ष्मी धनकी, सरस्वती विद्याकी र दुर्गा शक्तिकी देवी भएझैं छठी माई अन्न, धन, बुद्धि र मंगलकी दाता हुन् । उनलाई सर्वदु:ख हरण गर्ने कृपालु आमाका रूपमा पुजिन्छ । तर, छठी माईको सबैभन्दा मर्मस्पर्शी रूप बालबालिकासँग जोडिएको छ । लोकविश्वासमा उनी केटाकेटीकी आमा हुन् । बच्चा जन्मिएको छैटौं दिन उनको पूजा गरिन्छ । त्यही दिन विधाताले शिशुको ललाटमा भाग्य लेख्छन् भन्ने विश्वास छ ।

अरू देवतालाई आस्थाको आँखाले हेर्नुपर्छ, सूर्यलाई हामी हरेक दिन देख्छौं । त्यसैले उनलाई प्रत्यक्ष देवता भनिन्छ । छान्दोग्य उपनिषद्ले सूर्यलाई नै ब्रह्म मानेको छ । ऋग्वेदले सूर्यलाई सम्पूर्ण चराचर जगत्को आत्मा भनेको छ ।

ज्योतिषमा पनि सूर्य आत्माका प्रतिनिधि मानिन्छन् । सूर्य अघ्र्य, सूर्योपस्थान र सूर्यनमस्कार उनको आराधनाका साक्षात् रूप हुन् । छठको अघ्र्य यही लामो परम्पराको सबैभन्दा सामूहिक र भावपूर्ण अभिव्यक्ति हो ।

छठ चार दिन चल्ने कठोर साधना हो । यसको अनुशासन देख्दा आजको कुनै पनि ‘डिटक्स’ वा ‘डिजिटल फास्टिङ’ सानो लाग्छ ।

पहिलो दिन नहाय–खाय हो । यो दिन व्रतालुहरू नुहाएर शुद्ध भई सात्त्विक भोजन गर्छन् । घर, भान्सा र मन सबैको सफाइबाट पर्व सुरु हुन्छ ।

दोस्रो दिन खरना हो । दिनभर उपवास बसेर साँझ पूजापछि प्रसादस्वरूप गुडको खीर र रोटी ग्रहण गरिन्छ । त्यसपछि सुरु हुन्छ, करिब ३६ घण्टाको निराहार र निर्जला व्रत । पानीको एक घुट्को पनि नपिई व्रतालुहरू आफ्नो दैनिक काम र पूजाको तयारीमा जुटिरहन्छन् ।

तेस्रो दिनको साँझ व्रतालु घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । बाँसका सुपो र डालामा ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मौसमी फलफूल र दियो सजाइन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि प्रसाद ग्रहण गरेर व्रत टुंगिन्छ ।

छठको सौन्दर्य यसको सरलतामा पनि छ । यहाँ कुनै भव्य मूर्ति अनिवार्य छैन । पुरोहितको मध्यस्थता पनि आवश्यक पर्दैन । व्रतालु, सूर्य र पानीबीच सोझो सम्बन्ध हुन्छ । प्रसादका सामग्री स्थानीय खेतबारीबाट आउँछन् । सुपो र डाला स्थानीय कालिगढको हातबाट बुनिन्छन् ।

यो पर्वले घाट अर्थात् नदी वा जलाशयका किनार सफा राख्न, जलस्रोतलाई आदर गर्न र खेतको उब्जनीप्रति कृतज्ञ हुन सिकाउँछ । जलवायु संकटको बहस गर्ने हाम्रो पुस्ताका लागि यो सन्देश निकै गहन छ । पानीको पूजा गर्ने समाजले नै पोखरी र खोलामा प्लास्टिक थुपार्छ भने त्यो आस्थामाथिकै अन्याय हो ।

छठका गीत आफैंमा महामन्त्र हुन् । वेदमन्त्रबिना यज्ञ पूरा नभएझैं गीतबिना छठ पूर्ण हुन सक्दैन । यी गीत लोकभाषामा गाइने मन्त्र हुन्, जहाँ लोक र वेद एकै ठाउँमा भेटिन्छन् ।

छठले समानताको सन्देश पनि दिन्छ । एउटै घाटमा क्षेत्रीय ब्राह्मणको परिवार र दलितको परिवार एकसाथ सूर्यको आराधनामा लीन हुन्छन् । उसै पनि सूर्यदेवको दृष्टिमा विभेद छैन । प्रकृतिको कण–कणमा उनको प्राण ऊर्जा समान रूपमा स्पन्दित छ । घाम कसैको थर सोधेर ओर्लंदैन, पानीले कसैको हैसियत हेरेर शरीर भिजाउँदैन ।

यसको अर्थ हाम्रो समाजबाट जातीय विभेद सकिएको भने होइन । छठले त्यो यथार्थ लुकाउँदैन, बरु ऐना देखाउँछ । छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ ।

प्रश्न आउन सक्छ, कृत्रिम बुद्धिमत्ता र अन्तरिक्ष यात्राको युगमा घुँडासम्म पानीमा उभिएर घामलाई ढोग्नुको के अर्थ ? प्रश्न जायज छ र यस्ता प्रश्न सोधिनैपर्छ । परम्परा प्रश्नबाट होइन, अन्धानुकरणबाट कमजोर हुन्छ ।

छठको पहिलो सन्देश कृतज्ञता हो । एक क्लिकमा सबै कुरा पाउने समयले कुनै चीज कहाँबाट आयो भनेर सोच्न बिर्साएको छ । भात थालसम्म आइपुग्न घाम, पानी, माटो र किसानको पसिना चाहिन्छ । वर्षमा एक पटक त्यो सबैलाई धन्यवाद भन्नु पुरातनपन होइन, परिपक्वता हो ।

दोस्रो, साँझको अघ्र्य दिएपछि बिहानको सूर्य कुर्न पूरै रात बिताउनुपर्छ । न स्किप गर्न मिल्छ, न फास्ट फरवार्ड । तत्काल परिणाम खोज्ने हाम्रो स्वभावलाई छठले समय, प्रक्रिया र धैर्यबारे सिकाउँछ ।

तेस्रो, पर्व आउनुअघि टोलका युवा घाट सफा गर्न र बाटो सजाउन जुट्छन् । छिमेकीहरू प्रसादको तयारीमा एक–अर्कालाई सघाउँछन् । व्रत बस्न नसक्नेहरू अरूको व्रतमा सहयोग गरेर त्यसैमा पुण्य देख्छन् । एक्लोपन बढ्दै गएको समयमा यस्तो सामूहिकता ठूलो औषधि हो ।

चौथो, छठका अधिकांश व्रतालु महिला नै हुन् । भान्सादेखि घाटसम्म अनुष्ठानको नेतृत्व उनैको हातमा हुन्छ । पुरुषले पनि व्रत बस्छन् तर पर्वको आत्मा आमा, काकी र दिदीबहिनीको साधनामा छ ।

तैपनि, आमाको निर्जला व्रतलाई गर्वका रूपमा सुनाएर मात्र पुग्दैन । उनको स्वास्थ्य र आरामको जिम्मा परिवारले आपसमा बाँड्नुपर्छ । घरका छोराहरूले भाँडा माझ्न, प्रसाद बोक्न र घाटसम्म साथ दिन सघाउनु नै आधुनिक छठ हो ।

यसपालि छठ घाटमा पुग्दा क्यामरा एकछिन तल झारौं । चिसो पानीमा उभिएकी आमाको अनुहार हेरौं । छेउमा उभिएको अपरिचित मानिसको हातबाट प्रसाद लिऔं । अनि समाजले हजारौं वर्षदेखि भन्दै आएको कुरा मनले दोहोर्‍याऔं– अस्ताउँदो सूर्यलाई नमन ! उदाउँदो सूर्यलाई नमन ! ब्रह्माण्डको शाश्वत लयलाई नमन ! धन्य छठी परमेश्वरी !

कुमार पृथु विराटनगर आँखा अस्पतालका प्रबन्धक हुन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
45m ago
छठको सामाजिक सन्देश

छठको सामाजिक सन्देश

छठको सामाजिक सन्देश छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ । कार्तिक २८, २०८३ कुमार पृथु कार्तिक शुक्ल षष्ठीको साँझ...

#घाट #सम्भव #समानता
Compare →

Related Stories

Opinion & Editorial
Build #2612