Trending
Prev Story
Next Story

छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

Ekantipur •
November 14, 2026 • 02:32 PM
3
3 reads 0 reactions

शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ ।

छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ ।

पर्सा — शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका व्रतालुहरूले शनिबार ‘खरना’ विधि गरेका छन् । ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा व्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खाएका छन् ।

व्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका सदस्य तथा इष्टमित्रलाई पनि खुवाएका छन् । कतिपयले छरछिमेकीलाई समेत रस्याउ रोटी खान निम्तो दिएका थिए । यो प्रसाद ग्रहण गर्ने व्रतालु तथा परिवारका अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गरेका थिए ।

शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि व्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर उनीहरूले व्रत समापन गर्नेछन् ।

आइतबार साँझ व्रतालु तथा परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठ घाट पुग्नेछन् । नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् ।

छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौँसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् । यसमा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत सहभागी हुन्छन् । घाटमै बस्ने व्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन् ।

इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ पर्वमा व्रतालुलाई पूजाअर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन । ‘छठ मात्र यस्तो पर्व हो, जसमा व्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ उनले भने, ‘व्रतालु आफैँले पूजा गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यस व्रतबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।’

छठ पर्वका लागि व्रतालुका घरघरमा विशेष प्रसाद ठेकुवा पनि पकाइँदै छ । यसमा परिवारका महिला सदस्यले व्रतालुलाई सघाउने गर्छन् । प्रसाद पकाउँदा चोखोनितो र शुद्धताको विशेष ख्याल गरिन्छ ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट सिँगारिएका छन् । जिल्लाका ग्रामीण भेगमा पनि छठ घाट तयार पारिएका छन् । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले हरेक वर्ष राष्ट्रियस्तरमा चर्चा पाउने गरेको छ ।

वीरगन्जको घडिअर्वा पोखरी परिसरमा यस वर्ष छठ घाट व्यवस्थापनमा २६ लाख रुपैयाँभन्दा बढी खर्च हुने भएको छ । वीरगन्ज–१० स्थित घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी यस वर्षको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष राकेश साह कानुका अनुसार यस वर्ष घाट व्यवस्थापनमा २६ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । टेन्ट, पण्डाल, सजावट, बत्ती, साउन्ड, फूलमाला तथा कार्पेट व्यवस्थापनमा सबैभन्दा बढी १२ लाख ५१ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी पुरस्कार वितरण, अतिथि सत्कार, सरसफाइ, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, भिडियोग्राफी तथा अन्य व्यवस्थापनका शीर्षकमा पनि बजेट छुट्याइएको समितिले जनाएको छ । अनुमानित आय र खर्चको हिसाब गर्दा ८४ हजार ९ सय ६० रुपैयाँ बचत हुने समितिको प्रक्षेपण छ । समितिका अध्यक्ष कानुका अनुसार व्यवस्थापन खर्च टिकट बिक्री, विज्ञापन, व्यक्तिगत सहयोग तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट जुटाइनेछ ।

घडिअर्वा स्पोर्ट्स क्लब वीरगन्जको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छठ पूजालाई यस वर्ष पनि भव्य र व्यवस्थित बनाउने तयारी गरिएको उनले बताए । उनका अनुसार आइतबार साँझको सझिया घाट र सोमबार बिहानको बिहनिया घाटमा गरी करिब १० लाख व्रतालु तथा भक्तजन सहभागी हुने अनुमान छ ।

घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजा वीरगन्जको प्रमुख धार्मिक तथा सांस्कृतिक आकर्षणका रूपमा स्थापित छ । यहाँको पूजामा सहभागी हुन पर्सा, बारा र आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालु आउने गर्छन् ।

वीरगन्ज कारागारमा यस वर्ष २० कैदीबन्दीले छठ पर्व मनाउँदै छन् । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । कारागारका निमित्त जेलर देवनाथ साहका अनुसार कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाइएको हो । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिएको उनले बताए ।

कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ मनाउन कुनै रोकटोक नगरिएको साहले जानकारी दिए । उनीहरूलाई छठ पर्व मनाउन सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराउँदैन ।

यसैबीच, रुङ्टा वेलफेयर सोसाइटीले छठ मनाउन लागेका कैदीबन्दीलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थाले उनीहरूलाई पिठो र सारी उपलब्ध गराएको हो । कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन् ।

छठ पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले पटका तथा विस्फोटकजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले शनिबार सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका अवसरमा आगलागी तथा मानवीय र भौतिक क्षति हुन सक्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रशासनले छठ पर्वका लागि चारबुँदे सार्वजनिक अपिल जारी गरेको हो । अपिलमा पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न भनिएको छ । त्यस्ता गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा अन्य सर्वसाधारण डुब्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित दुर्घटना तथा विपद्को तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने पनि अपिलमा उल्लेख छ ।

त्यसैगरी छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न शनिबार र आइतबार छठ पूजा स्थल तथा घाट वरिपरि माछा, मासुलगायत खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ ।

पर्व अवधिभर शान्ति सुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिहरूबीच आवश्यक समन्वय गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
छठको दोस्रो दिन आज खरना विधि मनाइँदै, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

छठको दोस्रो दिन आज खरना विधि मनाइँदै, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

काठमाडौँ / सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छ...

#खरना #विधि #अस्ताउँदो
Compare →
Arthasansar
12h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व #खरना
Compare →
Onlinekhabar
14h ago
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ …

#पर्व #खरना
Compare →
Nagarik News
5h ago
रसियाउ रोटीको सुवास र घर फर्केका युवासँगै छठको रौनक

रसियाउ रोटीको सुवास र घर फर्केका युवासँगै छठको रौनक

लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ।

#पर्व #खरना
Compare →
Bizshala
1d ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#आइतबार
Compare →

Related Stories

Education & Youth
Build #2612