Trending
Prev Story
Next Story

काठमाडौंबाट छठ मनाउन फर्किएकाहरू लखन्देही किनारमा अस्ताए

Ekantipur •
November 14, 2026 • 01:02 AM
2
2 reads 0 reactions

भीमफेदीको चिसापानीगढीमा ईभी दुर्घटनामा मृत्यु भएका सुन्दरपुरका १२ जनाको शुक्रबार राति धार्मिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको छ।

काठमाडौंबाट छठ मनाउन फर्किएकाहरू लखन्देही किनारमा अस्ताए

भीमफेदीको चिसापानीगढीमा ईभी दुर्घटनामा मृत्यु भएका सुन्दरपुरका १२ जनाको शुक्रबार राति धार्मिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको छ।

तराईमधेशको महान् पर्व छठ मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय गाडी (ईभी) बिहीबार बिहानै भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १२ जनाको शव शुक्रबार राति अबेरसम्म नजिकैको लखन्देह नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा परि सुन्दरपुर गाउँकै १४ जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका छन् । चालक रविशंकर मण्डलको शव उनकै गाउँ कबिलासी लगिएको छ । अर्का रामप्रवेश यादवको घर सुन्दरपुर भए पनि परिवारका सदस्यहरू सदरमुकाम मलंगवा बस्ने भएकाले उतै लगिएको थियो ।

दाहसंस्कारमा सहभागी हुन वरपरका छिमेकी पाँच गाउँका मानिसहरू आएका थिए । अन्तिम संस्कारका लागि आफन्तजनको शव चितामाथि राख्ने क्रममा मृतक परिवारका सदस्यहरू त्यहीँ बेहोस भई ढलेका थिए । केहीलाई घरमै स्लाइन दिइएको थियो । घटनापछि सिंगो सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

छठपर्व मनाउन आउँदै गर्दा बिहीबार दुर्घटनामा मृत्यु भएकाहरूको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार राति सुन्दरपुर गाउँ ल्याइएको हो । एउटै गाउँका १३ जनाको दुर्घटनामा मृत्यु भएपछि धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

हेटौंडाबाट तीनवटा एम्बुलेन्समा शव सुन्दरपुर ल्याइएको थियो । तर गाउँसम्म शव पुर्‍याउने अवस्था सहज थिएन । आफन्तले एकैपटक यति धेरै प्रियजन गुमाएको पीडा थेग्न सक्ने अवस्था नदेखिएपछि मधेश प्रदेशका पूर्वसांसद सञ्जय यादवले अन्त्येष्टि स्थलनजिकै एम्बुलेन्स रोक्न लगाएका थिए ।

त्यसपछि शोकाकुल परिवारका सदस्यलाई घरबाट अर्को सवारीमा राखेर शवको अन्तिम दर्शन र बिदाइको व्यवस्था मिलाइएको थियो । एम्बुलेन्सबाट शव निकाल्नासाथ आफन्तहरू भक्कानिए । कोही त्यहीँ ढले, कोही सम्हालिनै सकेनन् । आफन्तलाई सम्हाल्न स्थानीयलाई समेत हम्मेहम्मे पर्‍यो । एउटै गाउँका यति धेरै मानिसको एकैपटक अन्त्येष्टि भएको दृश्यले सुन्दरपुर मात्र होइन, वरपरका गाउँलाई समेत स्तब्ध बनायो ।

अन्तिम बिदाइका लागि ठूलो संख्यामा मानिसहरू नदी किनार पुगेका थिए । निकै बेरसम्म त्यहाँ कोलाहल मच्चियो । कसैसँग सान्त्वनाका शब्द थिएनन्, कसैसँग आफन्त गुमाएका परिवारलाई सम्हाल्ने सामर्थ्य पनि थिएन । दुर्घटनामा एउटै परिवारका ६ सदस्य गुमाएका अवधेश यादवको पीडा झन् असह्य थियो । गर्भवती श्रीमतीसहित परिवारका ६ सदस्य गुमाएका उनी अन्तिम संस्कारका क्रममा दागबत्ती दिन अघि बढ्थे, तर पटकपटक भक्कानिएर रोकिन्थे ।

सम्हालिन खोज्दा पनि आँसु थाम्न सकिरहेका थिएनन् । उनकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन् । आफ्नै हातले दागबत्ती दिनुपर्ने अवस्थामा पुगेका अवधेशका लागि त्यो क्षण जीवनकै सबैभन्दा कठिन बन्यो । गर्भमै रहेको आठ महिनाको छोरालाई नजिकै गाडिएको थियो ।

अवधेशकी आमा निर्मला देवी यादव बेहोस भई अवस्था असहज भएपछि स्लाइन चढाएर उपचार गरिएको थियो । निर्मलाकी बुहारी पुनम, तीन नातिनी र दुई छोराको मृत्यु भएको थियो । एकैपटक परिवारका ६ सदस्य गुमाउँदाको पीडाले निर्मला घरमै बेहोस भएर ढलिन् ।

राति दाहसंस्कारस्थलमा देखिएको दृश्यले उपस्थित सबैलाई भावविह्वल बनाएको थियो । शोकको त्यो क्षणमा गाउँका मानिसहरू निकै बेर अकमकाएका थिए । एउटै गाउँका यति धेरै घरमा एकैपटक परेको विपत्तिले सबैलाई असहाय बनाएको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले सुनाए । उनी दुर्घटनाको खबर पाउनासाथ हेटौंडा पुगेका थिए ।

‘छठ तराई–मधेशका परिवारका लागि केवल पर्व होइन, घरपरिवार र आफन्तजनसँग भेटघाट गर्ने, सँगै बसेर खुसी साट्ने अवसर पनि हो,’ उनले भने, ‘यही पर्व मनाउन घर फर्किएकाहरूको असामयिक मृत्युले सुन्दरपुरका परिवारको खुसी खोसेको छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
9h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #सुन्दरपुर
Compare →
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको ब...

#दुर्घटना #भीमफेदी
Compare →
Nagarik News
17h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #भीमफेदी
Compare →
Bizshala
18h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →

Related Stories

National (Nepal)
Build #2612