पुल निर्माणको सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।
हेटौंडा — मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकास्थित जिर्खे खोलामा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिन सकेको छैन । पुल निर्माणको सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।
२०८२ असारमा पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौता भएको १६ महिना बित्न लागिसक्दा पनि पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशतमा सीमित छ । स्थानीयका लागि अत्यावश्यक मानिएको पुल निर्माणमा ढिलाइ हुँदा राक्सिराङसहित छिमेकी पालिकाका बासिन्दाहरू जिर्खे खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई जोड्ने उक्त पुल बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माण कार्य अघि बढाएको हो । उक्त पुल निर्माण भएपश्चात् राक्सिराङ र कैलाश गाउँपालिकालगायत क्षेत्रका २० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् । जिर्खे खोला वर्षायाममा निकै जोखिमपूर्ण हुने गरेको छ । विगतमा खोला तर्ने क्रममा मानिससँगै बोलेरो गाडी र मोटरसाइकलसमेत बगाएका घटना छन् । बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ । पुल नहुँदा वर्षायाममा आवतजावत प्रभावित हुने र सामान्य कामका लागि समेत जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता छ ।
बागमती प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको पुलको लागत ६ करोड ५३ लाख ३० हजार ९ सय ५४ रुपैयाँ रहेको छ । बिन्ध्याचल निर्माण सेवाले पुलको ठेक्का लिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म निर्माणमा २ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशत मात्रै पुगेको छ ।
सम्झौताअनुसार हालसम्म बढी काम सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माण कम्पनीले अपेक्षाअनुसार काम गर्न नसकेको उनले बताए । समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । पुलका दुईवटा पिलरको जगमा ढलान गरिएको छ ।
पुल निर्माण कार्य २०८४ असारसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलको कुल लम्बाइ ७२ मिटर रहेको छ । पुलमा ३५/३५ मिटरका दुईवटा स्पान रहनेछन् । पुल निर्माण कम्पनीका ठेकेदार हरिवंश बर्तौलाले वर्षायाममा मनहरी खोलाबाट सामान ढुवानी गर्न समस्या भएका कारण पुल निर्माणले गति लिन नसकेको बताए । 'छठ पर्व सकिएपछि पुल निर्माण कार्यले गति लिनेछ,' उनले भने, 'तोकिएकै समयमा पुल निर्माण कार्य सम्पन्न हुनेछ ।'
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।