Trending
Prev Story
Next Story

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

Ekantipur •
November 12, 2026 • 05:01 PM
1
1 reads 0 reactions

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

शिव पुरी , प्रताप विष्ट , सुवास विडारी

चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलकी ४९ वर्षीया निर्मलादेवी यादव बुधबार बिहानैदेखि छठको तयारीमा जुटेकी थिइन् । आइतबार हुने छठ पूजाका लागि उनले आवश्यक पूजा सामग्री जुटाइसकेकी थिइन् । मात्रै प्रतीक्षा थियो, काठमाडौंमा रहेका छोराबुहारी र नातिनातिनाको । तर उनको प्रतीक्षा सधैंका लागि अधुरो भइदियो ।

काठमाडौंबाट छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस (ईभी) भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान ५ः४५ तिर दुर्घटनामा पर्‍यो । इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ८ किलोमिटर उत्तरमा मूल सडकबाट गाडी करिब ७ सय मिटर तल खस्दा त्यसमा सवार २० यात्रुमध्ये १३ यात्रु र चालक रविशंकर कुमार मण्डलको मृत्यु भयो । त्यही मृतकको सूचीमा थिए, निर्मलादेवीकी गर्भवती बुहारी पुनम र परिवारका अन्य पाँच सदस्य । नजिकिँदो छठको उल्लास सुरु नहुँदै निर्मलाको घर शोकमा डुब्यो ।

सुरुमा निर्मलाले खबर पत्याउन सकिनन् । नजिकै रहेका आफन्त उपेन्द्र रायसँग थप सोधीखोजी गरिन् । पुष्टि भएपछि आफूलाई सम्हाल्न सकिनन् । एकैछिनमा उनी होस गुमेजस्तो भइन् र भुइँमा ढलिन् ।

भीमफेदी दुर्घटनाको शोक निर्मलाको परिवारमा मात्र परेको छैन । निर्मलाको परिवारका ६ जनासहित सुन्दरपुरका अन्य ७ जना गरेर यो वडाका १३ जनाले ज्यान गुमाए । घटनाले सिंगो सुन्दरपुर गाउँमा सन्नाटा छाएको छ । गाउँवासी शोकमग्न भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउने सुन्दरपुरका अधिकांश काठमाडौंमा तरकारी र फलफूल व्यवसाय गर्दै आएका थिए । स्थानीय सरोज यादवले सिंगो गाउँ नै शोकमा परेकाले सजाइएको छठ घाट नै सुनसान बनेको बताए । उनले भने, ‘दुर्घटना के–कसरी भयो, राम्ररी अनुसन्धान होस् ।’

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? अनि काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको गाडीबारे थाहा पाएनन् ? प्रश्न गम्भीर र अनुत्तरित नै छ । अनौठो त के छ भने, फर्पिङस्थित प्रहरी चौकीमा चालकले ११ यात्रु रहेको टिपाएको देखिन्छ । चेकिङमा रहेका प्रहरीले क्षमता कति हो र के कति यात्रु चढाइएको भनेर चासो लिएको देखिँदैन ।

‘बालबालिकाको संख्या नखुलाइएकाले गाडीमा सवार यात्रुको यकिन विवरण पत्ता लगाउन समस्या भयो,’ मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले भन्छन्, ‘चालकले यात्रुको संख्या सही लेख्नुपर्छ, संख्या यकिन नहुँदा उद्धारमा समेत अन्योल भयो ।’ क्षमताभन्दा बढी यात्रु राख्नु र चालकले पनि रातभर गाडी चलाउनु दुर्घटनाको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

निर्मलादेवीको भन्दा विक्षिप्त हालत छ उनका छोरा अवधेशको । नहोस् पनि किन, उनी बिहान पत्नी, छोराछोरी र भाइहरूलाई गाडी चढाएर आफू भने मोटरसाइकलमा घर जाने तयारीमा थिए । आफूले यात्रा नथाल्दै उनले ३५ वर्षीया गर्भवती पत्नी पुनम, भाइ विकेश र रूपेश, १० वर्षीया छोरी अनु, सात वर्षीया छोरी दीक्षा, पाँच वर्षीया छोरी दीपिकाको मृत्यु भएको खबर सुने । घटनामा घाइते भएका उनका १६ महिने छोरा सुदीपको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ‘सबै कुरा समाप्त भयो,’ अवधेशका मामा उपेन्द्रले भने, ‘यति ठूलो वज्रपात कसरी सहने ?’

निर्मलादेवीले यस्तै शोक १० वर्षअघि खेपेकी थिइन् । जतिबेला भारतको चण्डीगढमा रहेका उनका श्रीमान् राम सुनारको मृत्यु भएको थियो । शोकको त्यो घाउ भुल्न खोजिरहेकी उनी फेरि अर्को वियोगमा परिन् । अवधेशको परिवार एक दशकदेखि काठमाडौंको जडीबुटीमा तरकारी व्यवसाय गर्दै आएका थिए । छठको उत्साह परिवारका सबै सदस्य मिलेर मनाउने गरी सपरिवार घर जाँदै थिए । तर उनको योजना दुर्घटनाग्रस्त भयो ।

१४ यात्रु सिट क्षमताको गाडीमा बालबालिकासहित २० जना सवार रहेकामा चालकसहित दुई महिला, ४ बालबालिका र ८ जना पुरुषको घटनास्थलमै ज्यान गयो । घाइते ६ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने थप उपचारका लागि एक जनालाई काठमाडौं र दुई जनालाई भरतपुर पठाइएको छ । एक घाइतेको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

निर्मलाको घरबाट करिब सय मिटरको दूरीमा छ, ६२ वर्षीय निर्सु यादवको घर । यहाँ पनि उस्तै शोक छ । घटनाबारे थाहा पाएदेखि निर्सु घरअगाडिको सडकछेउमा बोल्नसमेत नसक्ने अवस्थामा थिए । उनलाई आफन्त र छिमेकीले सम्हाल्न खोजिरहेका थिए । काठमाडौंबाट छठ मान्न घर फर्किरहेका ४० वर्षीय छोरा राकेश राय यादव र १४ वर्षीय नाति रोहणको मृत्युको खबरले उनी विक्षिप्त छन् ।

छठको तयारीका लागि दुई दिनअघि गाउँ आइपुगेकी बुहारी गायती भने श्रीमान् र छोराको मृत्युको खबरले बेहोस छिन् । ‘मेरो त सबै कुरा गुम्यो,’ निर्सुले भने, ‘कस्तो दुर्दशा देख्नुपर्‍यो ।’ यति बोल्दै गर्दा शब्द उनको घाँटीमा अड्केजस्तै भयो, गला अवरुद्ध भयो ।

घाट सजाउने, पूजाका सामग्री तयार गर्ने र आफन्तलाई स्वागत गर्ने तयारीमा रहेका सुन्दरपुरवासी यतिबेला एकले अर्कालाई कसरी सम्हाल्ने भन्ने चिन्तामा छन् । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले भने, ‘पर्वको मुखैमा यति ठूलो दुर्घटना भयो, सिंगो पालिकावासी स्तब्ध छौं ।’

गाडी किन दुर्घटनामा पर्‍यो ? प्रहरीले निष्कर्ष निकालिसकेको छैन । तर क्षमताभन्दा धेरै यात्रु र चालकले रातभर गाडी चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार बुधबार राति सर्लाहीबाट यात्रु लिएर काठमाडौं गएको यो माइक्रो बिहीबार बिहान करिब २ बजे यात्रु लिएर हेटौंडातर्फ आउँदै थियो । निरन्तरको खटाइबाट चालक थकित भएको हुन सक्ने र निद्राका कारण दुर्घटना भएको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको छ ।

प्रहरीका अनुसार दुर्घटना बिहान पौने ६ बजे भएको थियो । ‘दिनमा दुई–तीन टिप यात्रु बोक्ने लोभले पनि दुर्घटना भएको हुन सक्छ । चालकलाई निद्राको समस्या भएको हुन सक्छ । हामी अनुसन्धानमै छौं,’ प्रहरी उपरीक्षक खत्रीले भने ।

खत्रीको जस्तै अनुमान छ, गाडीमा सवार यात्रु सञ्जय यादवको पनि । उनले दुर्घटनाका बेला सवार धेरैजसो यात्रु निद्रामा रहेको बताए । उनी आफैं पनि पातलो निद्रामा थिए । ‘चिसापानीगढीमा गाडी रोकिएको थियो । चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर गाडी भीरबाट खस्यो । म पनि गाडीसँगै भीरबाट खसें,’ उनले भने, ‘गाडी भीरबाट खस्ने क्रममा म बीचमै उछिट्टिएर बाँचें ।’ उनले चालक निदाएकै कारण दुर्घटनामा परेको हुन सक्ने अनुमान सुनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडाका प्रमुख रमेश विष्ट भन्छन्, ‘काठमाडौंको दिशाबाट आउँदा चिसापानीगढी पुग्न करिब ८ सय मिटर वर गाडी दुर्घटना भएको हो । त्यो ठाउँमा सडक फराकिलो छ, चालक निदाएर वा गाडी रोकेर चलाउँदा एक्कासि अगाडि बढेर दुर्घटना भएको हुन सक्छ ।’ उनका अनुसार उक्त सडक खण्डमा दुर्घटना हुने खालको सडक अवस्था छैन ।

स्थानीय होटल सञ्चालक सञ्जीव श्रेष्ठले चिसापानीगढीदेखि देउरालीसम्म यसअघि यस्तो ठूलो दुर्घटना नभएको बताए । उनले सुनाए, ‘चिसापानीगढी हुँदै जुरीखेतसम्मको सडक खण्डमा सवारी दुर्घटना धेरै हुने गरेको थियो, तर यो खण्डमा दुर्घटना भएको अहिले नै हो ।’

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी भीमभेदी दुर्घटनाको कारण यकिन नभए पनि सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नमिल्ने र एउटा चालकले साढे २ सय किलोमिटरभन्दा बढी गाडी चलाएपछि अर्को चालकको व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘दुई सय ५० किलोमिटरभन्दा लामो दूरीमा एउटै चालकले गाडी चलाउन मिल्दैन । चालकको थकान र निद्राले पनि दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘सिट क्षमताभन्दा बढी यात्रु बोके/नबोकेको यकिन गर्न पनि चेकिङ गर्दै आएका छौं । क्षमताभन्दा बढी यात्रु हुँदा ओभरलोडले पनि दुर्घटना हुने गरेको छ ।’

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुर्घटनाको अध्ययन गर्न समिति गठन गरेको छ । भीमफेदीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्न समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत र पूर्वाधार विकास कार्यालय, बागमती प्रदेशका प्रतिनिधि रहेको समिति गठन गरिएको उनले जनाए । समितिलाई सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था तथा सम्भावित जोखिमको अध्ययन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा दुर्घटना न्यूनीकरणका उपाय पहिचान गरी कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले दुर्घटनाको गम्भीर छानबिन हुनुपर्ने बताए । उनले भने, ‘यति ठूलो दुर्घटना कसरी भयो ? कसको भूमिकामा कमजोरी भयो ? अनुसन्धान गर्नुपर्छ । मृतकका परिवारलाई राज्यले हेर्नुपर्छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #सुन्दरपुर
Compare →
Hamro Patro News
6h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#दुर्घटना #मृत्यु #सुन्दरपुर
Compare →
Nagarik News
2h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #दुर्घटना
Compare →

Related Stories

World News
Build #2611