Trending
Prev Story
Next Story

सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

Onlinekhabar •
November 11, 2026 • 09:00 AM
1
1 reads 0 reactions

भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसक्रममा आफ्ना छोरा राहुल गान्धीसँग भएको संवादबारे खुलासा गरेकी छन् । सोनिया गान्धीले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङ : अ …

सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसक्रममा आफ्ना छोरा राहुल गान्धीसँग भएको संवादबारे खुलासा गरेकी छन् ।

सोनिया गान्धीले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ को प्रसंग उल्लेख गर्दै लेखेकी छन्, ‘मेरो मनबाट शंकाको अन्तिम अंश पनि हट्यो । मैले आफूलाई भनेँ– सोनिया, आफूप्रति इमानदार बन । तिमीलाई सधैँदेखि यसको जवाफ थाहा थियो । त्यसैले यो विषय छाडिदेऊ ।’

उनले आफ्नो पुस्तकमा त्यस समयका विभिन्न घटनाक्रम र राजनीतिक परिस्थितिबारे स्मरण गरेकी छन् । पुस्तकमा उल्लेखित कतिपय प्रसंग अहिले चर्चामा छन् ।

सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि भारतको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको थियो । त्यसबेला कांग्रेसको नेतृत्व सोनिया गान्धीले गरिरहेकी थिइन् । कांग्रेसले चुनाव जितेपछि उनी नै प्रधानमन्त्री बन्ने चर्चा पनि व्यापक थियो ।

कांग्रेसका धेरै कार्यकर्ता सोनियालाई प्रधानमन्त्रीका रूपमा देख्न चाहन्थे । अर्कोतर्फ, चुनावमा सत्ता गुमाएको भारतीय जनता पार्टी (भाजपा) र त्यसका नेताहरूले उनको प्रधानमन्त्री बन्ने सम्भावनाको विरोध गरिरहेका थिए ।

सोनिया गान्धीले त्यतिबेला प्रधानमन्त्री पद अस्वीकार गर्दै आफ्नो ‘अन्तरात्माको आवाज’ अनुसार निर्णय लिएको बताएकी थिइन् ।

तर मनमोहन सिंह प्रधानमन्त्री बनेपछि पनि भाजपा र तत्कालीन विपक्षी नेताहरूले सरकार १० जनपथ अर्थात् सोनिया गान्धीको निवासबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएका थिए ।

मनमोहन सिंह नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारको समयमा सोनिया गान्धी गठबन्धनकी अध्यक्ष थिइन् । सामाजिक तथा आर्थिक विकासका नीति र कार्यक्रमबारे सुझाव दिन राष्ट्रिय सल्लाहकार परिषद् पनि गठन गरिएको थियो । त्यसको नेतृत्वसमेत सोनियाले गरेकी थिइन् ।

यद्यपि, सरकारको दैनिक कामकाजमा आफूले हस्तक्षेप नगरेको सोनियाले स्पष्ट पारेकी छन् ।

अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सका अनुसार आफ्नो पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मा सोनियाले त्यतिबेला सरकार र पार्टीबीच अधिकारको स्पष्ट बाँडफाँट रहेको उल्लेख गरेकी छन् । उनका अनुसार मनमोहन सिंहले सरकार सञ्चालन गर्थे भने आफूले पार्टीको नेतृत्व गर्थिन् ।

उनले आफूलाई कहिल्यै सरकारी फाइल नदेखाइएको पनि दाबी गरेकी छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार सोनिया गान्धीले यूपीए सरकारको समयमा आफूले कहिल्यै सरकारी फाइल नहेरेको उल्लेख गरेकी छन् ।

सरकार गठनका क्रममा भने उनले आफ्ना सुझाव दिएकी थिइन् । लामो समयदेखि पार्टीमा काम गरेका नेताकार्यकर्ताको उचित व्यवस्थापन होस् भन्ने उनको चाहना थियो ।

तर प्रधानमन्त्री कार्यालय (पीएमओ) बाट सरकारी फाइल मगाउने गरेको भन्ने आरोपलाई उनले गलत नियतले लगाइएको पूर्णतः झुटो आरोप भनेकी छन् ।

सोनियाले सन् २००४ को आमनिर्वाचनको नतिजा आउनुभन्दा केही महिनाअघि नै आफ्ना छोराछोरी राहुल गान्धी र प्रियंका गान्धीसँग आफू प्रधानमन्त्री नबन्ने विषयमा छलफल गरेको पनि पुस्तकमा उल्लेख गरेकी छन् ।

इन्डियन एक्सप्रेसका अनुसार उनले लेखेकी छन्, ‘चुनाव हुनुभन्दा केही महिनाअघि मैले र मेरा छोराछोरीले मेरो प्रधानमन्त्री बन्ने विषयमा कुरा गरेका थियौँ । हामीमध्ये एक जनाले पार्टीले चुनाव जितेमा के म प्रधानमन्त्री पद स्वीकार गर्छु भनेर सोधे । मैले स्पष्ट रूपमा भनेँ– बिल्कुलै गर्दिनँ। मैले झन्डै रिसाउँदै यस्तो जवाफ दिएकी थिएँ ।’ उनका अनुसार छोराछोरीले पनि आफ्नो निर्णयबारे निश्चित हुन आग्रह गरेका थिए ।

‘उनीहरूले मलाई फेरि सोधे- के तिमी यसबारे निश्चित छौ ? मैले दृढतापूर्वक भनेँ– म यसबारे पूर्ण स्पष्ट छु । न राहुललाई न प्रियंकालाई नै म प्रधानमन्त्री बन्नुपर्छ भन्ने लागेको थियो’, सोनियाले लेखेकी छन् ।

सोनियाले त्यसको कारण पनि खुलाएकी छन् । उनका छोराछोरीले हजुरआमा इन्दिरा गान्धीको हत्या र पिता राजीव गान्धीको निर्मम हत्याको पीडा भोगिसकेका थिए । त्यसैले उनीहरूका लागि प्रधानमन्त्री पद थप सुरक्षा जोखिमसँग जोडिएको थियो ।

उनले लेखेकी छन्, ‘उनीहरू मेरो निर्णयबाट ढुक्क भएका थिए । म पनि हलुका महसुस गरिरहेकी थिएँ, किनकि पहिलोपटक मैले आफ्नो मनको कुरा खुलेर भनेकी थिएँ ।’ चुनाव प्रचारका क्रममा प्रधानमन्त्री को बन्ने भन्ने प्रश्न उठ्दा आफूले कहिल्यै निश्चित जवाफ नदिएको पनि उनले उल्लेख गरेकी छन् ।

उनका अनुसार भारतको नेतृत्व गर्न सरकार सञ्चालनको लामो अनुभव र इमानदार छवि भएको व्यक्ति आवश्यक थियो। विगतका कांग्रेस सरकारहरूको विरासतलाई अघि बढाउन सक्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्ने उनको धारणा थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार सोनिया गान्धीले सन् २००३ जुलाईमा सिम्लामा भएको कांग्रेसको तनावपूर्ण बैठकबारे पनि पुस्तकमा उल्लेख गरेकी छन् ।

त्यतिबेला अन्य दलसँग गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र मतभेद थियो । बैठकमा आफूलाई बाहिर राखिएको महसुस भएको सोनियाले लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘मैले उनीहरू के विषयमा छलफल गरिरहेका छन् भनेर सोधेँ। केही असहज हुँदै उनीहरूले चुनावमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको जवाफ दिए ।’

सोनियाका अनुसार आफ्नै पार्टीका नेताहरूले आफूलाई बाहिरको व्यक्तिजस्तो व्यवहार गरेकोमा उनलाई दुःख लागेको थियो । कांग्रेस अध्यक्षका रूपमा चुनावी प्रचारको नेतृत्व आफूले गर्ने तर नेतृत्वको विषयमा भने आफूसँग छलफल नगरिएको उनको गुनासो थियो ।

तर सोनियाको नेतृत्वमा भएको चुनावमा कांग्रेसले भाजपालाई ठूलो धक्का दियो । सन् २००४ को लोकसभा निर्वाचनमा भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) पराजित भयो ।

त्यतिबेला एनडीए सरकारले ‘इन्डिया साइनिङ’ र ‘फिल गुड’ जस्ता नारा अघि सारेको थियो । यही नारासहित सरकारले निर्धारित समयभन्दा करिब ६ महिना अगाडि नै लोकसभा निर्वाचन गराएको थियो ।

तर भाजपाको चुनावी रणनीति असफल भयो । कांग्रेस सत्ताको नजिक पुग्यो। एकातिर भाजपाले सोनिया गान्धीको विदेशी मूलको विषयलाई चुनावी मुद्दा बनाइरहेको थियो भने अर्कोतिर कांग्रेस पहिलोपटक उनको नेतृत्वमा केन्द्र सरकार गठन गर्ने अवस्थामा पुगेको थियो ।

इन्डियन एक्सप्रेसका अनुसार चुनावी नतिजा आएपछि आफू निकै द्विविधामा परेको सोनियाले पुस्तकमा उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रधानमन्त्री बन्न अस्वीकार गर्दा दुःखी र निराश हुने पार्टीका कार्यकर्ताप्रति मेरो जिम्मेवारी थियो । हामीलाई मत दिएका जनताप्रति पनि मेरो जिम्मेवारी थियो । मेरा भावना क्षणक्षणमा बदलिरहेका थिए। एक मिनेट म आफ्नो निर्णयमा स्पष्ट हुन्थेँ, अर्को मिनेट फेरि अन्योलमा पर्थें ।’

त्यसपछि गठबन्धनका नेताहरूले सोनियालाई प्रधानमन्त्री पद स्वीकार गराउन उनको निवासमै बैठक राखे ।

उनका अनुसार बैठक राजीव गान्धीको सम्मेलन कक्षमा भएको थियो । गठबन्धनका नेताहरूले उनलाई प्रधानमन्त्री बन्न सहमत गराउने प्रयास गरे ।

सोनियाले लेखेकी छन्, ‘छलफल सकिएपछि मैले साहस जुटाएर आफ्नो कुरा राखेँ । त्यसपछि त्यहाँ ठूलो हंगामा भयो । उनीहरू उठेर मतिर आए । म पनि उठेँ । उनीहरूले मलाई घेरे । एक जनाले भने– हामी यो मान्दैनौँ । अर्काले भने– म्याडम, तपाईंले यस्तो निर्णय लिन पाउनुहुन्न ।’

नेताहरूको स्वर निकै चर्को र आक्रामक थियो । उनीहरूले आफू प्रधानमन्त्री बन्नुपर्ने अडान राखेपछि आफू दबाबमा परेको सोनियाले बताएकी छन् ।

‘म आत्तिएँ । उनीहरूले ममाथि हाबी भएको महसुस गरेँ । मैले बिस्तारै भनेँ– ठीक छ’, उनले अगाडि लेखेकी छन् ।

तर आफूले आफ्नो कुरा पूरा गर्न नपाउँदै नेताहरूले बधाई दिन थालेको उनले उल्लेख गरेकी छन् ।

‘उहाँ मान्नुभयो, उहाँ मान्नुभयो’ भन्दै नेताहरूले एकअर्कालाई बधाई दिन थाले । सोनिया भने स्तब्ध अवस्थामा उभिइरहिन् । त्यसपछि नेताहरू खुसी हुँदै त्यहाँबाट बाहिरिए ।

सोनिया गान्धीले प्रधानमन्त्री पद स्वीकार गर्न दबाबमा सहमति जनाएको घटनाले छोरा राहुल गान्धीलाई निकै आक्रोशित बनाएको थियो ।

इन्डियन एक्सप्रेसका अनुसार सोनियाले पुस्तकमा त्यसपछिको घटनाबारे लेखेकी छन् ।

उनका अनुसार राहुलले रिसाउँदै सोधे, ‘तपाईंले हुन्छ भन्नुभयो ?’

सोनियाले जवाफ दिइन्, ‘उनीहरूले मेरो कुरा सुन्दैनन् । म यो गर्न चाहन्नँ भन्ने तिमीलाई थाहै छ । उनीहरूले ममाथि दबाब दिइरहेका थिए ।’

त्यसपछि राहुलले प्रश्न गरे, ‘तपाईंमाथि दबाब दिइँदै छ भने हाम्रो के ?’

यति भन्दै राहुल रिसाएको अनुहारसहित त्यहाँबाट बाहिरिएको सोनियाले लेखेकी छन् ।

प्रियंकाले भने आमालाई आफ्नो पुरानो निर्णयमै अडिग रहन आग्रह गरेकी थिइन् ।

सोनियाले लेखेकी छन्, ‘प्रियंकाले भनिन्– आमा, तपाईं यस विषयमा सधैँ स्पष्ट हुनुहुन्थ्यो । जबर्जस्ती नगर्नुहोस् । तपाईंले जे निर्णय गर्नुभएको छ, त्यही गर्नुहोस् ।’

त्यतिबेला प्रियंकाका आँखा पनि रातो भएका थिए । आफूलाई पनि रुन मन लागेको सोनियाले उल्लेख गरेकी छन् ।

उनका अनुसार त्यसबेला आफूले लिने निर्णयको प्रभाव पार्टीमा मात्रै नभई सम्पूर्ण भारतमा पर्नेबारे सोचिरहेकी थिइन् ।

उनले लेखेकी छन्, ‘भारतलाई विभाजन गर्ने राजनीतिबाट टाढा राख्न हामीलाई बलियो र सक्षम सरकार आवश्यक थियो। सबैभन्दा बढी हामीलाई विकास र प्रगतिको आवश्यकता थियो ।’

सोनियाका अनुसार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र त्यसका कट्टरपन्थी समूहहरूको प्रभावमा रहेको भाजपा सत्तामा आएमा विभिन्न समुदायबीच द्वन्द्व बढाउने र संविधान कमजोर बनाउने उनको चिन्ता थियो ।

प्रधानमन्त्री बनेको अवस्थामा पनि भाजपाले आफ्नो विदेशी मूलको विषयलाई राजनीतिक मुद्दा बनाइरहने उनको बुझाइ थियो ।

उनले लेखेकी छन्, ‘मैले प्रधानमन्त्री पद स्वीकार गरेको भए चुनावी अभियानका क्रममा फैलाइएको प्रचार र हल्ला रोकिने थिएन । भाजपा र उसका सहयोगीहरूले मेरो विदेशी मूलको विषयलाई मुद्दा बनाउने थिए । उनीहरूले जनभावना भड्काउने थिए र विगत तथा भविष्यका धेरै सकारात्मक उपलब्धिलाई ओझेलमा पार्ने अवस्था सिर्जना गर्ने थिए । यस्तो अवस्थामा म कसरी प्रधानमन्त्री बन्न सहमत हुन सक्थेँ ? सक्दिनथेँ, कहिल्यै सक्दिनथेँ ।’

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी र उनकी छोरी शर्मिष्ठा मुखर्जीले यसअघि पनि गान्धी परिवारले प्रणव मुखर्जीलाई प्रधानमन्त्री बनाउन हिचकिचाएको संकेत गर्दै आएका थिए ।

यूपीए सरकारको मन्त्रिपरिषद्मा सबैभन्दा वरिष्ठ मन्त्रीमध्ये एक भएपनि उनलाई प्रधानमन्त्री बनाउने विषयमा गान्धी परिवार सकारात्मक नरहेको उनीहरूको भनाइ थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार सोनिया गान्धीले आफ्नो पुस्तकमा सन् २०१० को एउटा घटनाबारे पनि उल्लेख गरेकी छन् । यूपीए दोस्रोपटक सत्तामा आएको एक वर्षपछि प्रणव मुखर्जीले प्रधानमन्त्री परिवर्तन गर्ने सुझाव दिएको उनले लेखेकी छन् ।

सोनियाका अनुसार मुखर्जीले आफूलाई प्रधानमन्त्री परिवर्तन गर्ने समय आएको हुन सक्ने बताएका थिए ।

उनले लेखेकी छन्, ‘उनले अब शीर्ष नेतृत्व परिवर्तन गर्ने समय आएको हुन सक्ने सुझाव दिएर मलाई आश्चर्यचकित बनाए । मैले यसलाई उनी लामो समयदेखि प्रधानमन्त्री बन्न चाहिरहेको संकेतका रूपमा बुझेँ । त्यसपछि मैले बिस्तारै विषय परिवर्तन गरेँ ।’

मुखर्जी निराश भएका हुनसक्ने भए पनि उनले आफूविरुद्ध कुनै असन्तुष्टि रहेको महसुस हुन नदिएको सोनियाले पुस्तकमा उल्लेख गरेकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
सोनिया गान्धीको आत्मकथाले भारतीय राजनीतिमा तरंग, भाजपा–कांग्रेसबीच आरोप–प्रत्यारोप

सोनिया गान्धीको आत्मकथाले भारतीय राजनीतिमा तरंग, भाजपा–कांग्रेसबीच आरोप–प्रत्यारोप

काठमाडौं । दुई दशकभन्दा लामो समयसम्म भारतीय राजनीतिमा सोनिया गान्धीको सार्वजनिक मौनता चर्चाको विषय बनिरह्यो । समर्थकहरूले त्यसलाई शालीनताका रूपमा व्याख्या गरे । आलोचकहरूले अपारदर्शी शक्तिको अभ्यास ...

#गान्धी #सोनिया
Compare →
Nagarik News
3d ago
यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।

#गान्धी #सोनिया
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#सन् #अस्वीकार
Compare →
Bizshala
1w ago
बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

काठमाडौं। उत्तर कोरियाले क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी...

#अस्वीकार
Compare →

Related Stories

Politics & Governance
Build #2611