काठको अभाव, आधुनिक सुविधाप्रतिको आकर्षण र बदलिँदो जीवनशैलीले रानाथारु समुदायमा घरसँगै पहिरन, भाँडाकुँडा र पर्वका परम्परा पनि कमजोर बनाएको छ।
कञ्चनपुर — रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।
माटो, खर र काठ प्रयोग गरेर आकर्षक ढंगले बनाइने घर रानाथारु समुदायको पहिचान हुन् । घर निर्माणमा प्रयोग हुने सामग्री र बनावटले यस समुदायको मौलिक जीवनशैली, संस्कृति र रहनसहन झल्काउँथे । तर, आजभोलि यस्ता परम्परागत घर विरलै देख्न पाइन्छन् । रानाथारु समुदायमा अहिले परम्परागत घरको सट्टा पक्की घर निर्माण हुन थालेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना बताउँछन्।
'घर निर्माणका लागि ठूला–ठूला सालका खम्बाहरू आवश्यक हुन्छन्,' रानाले भने,'पहिलाजस्तो जंगलबाट काठ ल्याउन पाइँदैन । यसकारण परम्परागत घर निर्माण हुन छोडेका हुन् । 'परम्परागत घर निर्माणमा स्थानीय स्रोतसाधन र पुस्तौंदेखि चलिआएको सीप प्रयोग हुने गरेको छ । घरका भित्ता, छाना, आँगन र कोठाको बनावटसमेत समुदायको मौलिक विशेषतासँग जोडिएको उहाँको भनाइ छ ।
'घर निर्माणमा प्रयोग भएका काठमा १०–१५ वर्षपछि किरा लागेर कुहिन थाल्छन्, त्यसपछि फेर्नुपर्छ,' रानाले भने, 'काठ पाउन मुस्किल हुने, पाइहाले पनि १०–१५ वर्षपछि फेरि अर्को ल्याउनुपर्ने झन्झटका कारण अहिलेको पुस्ताले आधुनिक घर निर्माण गर्न थालेको हो ।'
घर मात्रै नभई रानाथारु समुदायको परम्परागत पहिरन र दैनिक प्रयोगमा आउने घरमै बनाइने भाँडाकुँडासमेत लोप हुँदै गएको उहाँको भनाइ छ । रानाथारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन घगरिया, अङ्गिया र उनियाँ अहिले हराउँदै गएका छन् । 'घर मात्रै होइन, रानाथारु समुदायका परम्परागत पहिरनसमेत लोप हुँदै गएका छन्,' स्थानीय सुदा रानाले भने, 'परम्परागत पहिरन सिलाउने मान्छेसमेत भेटाउन गाह्रो हुन्छ ।' उनका अनुसार अहिले रानाथारु समुदायको परम्परागत पहिरन शुभकार्यमा मात्रै देख्न सकिन्छ ।
आधुनिकताको प्रभाव रानाथारु समुदायका परम्परागत घरमा मात्रै नभई उनीहरूले मनाउने पर्वमा समेत पर्न थालेको समुदायका अगुवा पशुराम राना बताउँछन्। 'हिउँदमा न्यानो र गर्मीमा चिसो हुने परम्परागत घरको विशेषता हो,' उनले भने, 'अहिले परम्परागत घरहरू निर्माण हुँदैनन् । आधुनिकताको प्रभाव हाम्रा पर्वमा समेत परेको छ ।'
उनका अनुसार रानाथारु समुदायमा महिनौँसम्म चल्ने होली, तीजलगायतका पर्व छोट्टिँदै गएका छन् । पहिले महिलाले जस्तै पुरुषले पनि धोती र कुर्ता लगाउने गरेकोमा अहिले गाउँमा एक–दुई जना बूढापाकाबाहेक कसैले पनि त्यस्तो लुगा लगाउँदैनन् । त्यस्तै, अन्न भण्डारण गर्न प्रयोग गरिने माटोबाट निर्मित भकारीलगायत परम्परागत सामग्रीसमेत लोप हुँदै गएका छन् ।
पछिल्लो समय परिवारको आर्थिक अवस्था सुधार हुँदै जानु, आधुनिक सुविधासहितका घरप्रति नयाँ पुस्ताको आकर्षण बढ्नु र परम्परागत निर्माण सामग्रीको उपलब्धता घट्नुजस्ता कारणले रानाथारु समुदायमा मौलिक घर निर्माण गर्ने चलन घट्दै गएको छ ।