नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउने सन्देश दिएको छ।
धनकुटा — नेपाल सम्वत् ११४७ को स्वागतमा नेवारी समुदायले धनकुटामा उत्सव सहितको र्याली प्रदर्शन गरेको छ।
नेपाल सम्वत् ११४७ को नयाँ वर्षको अवसरमा धनकुटामा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको हो । नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेवारी समुदायले र्याली आयोजना गरेको हो।
धनकुटा नगरपालिका-७ शङ्खधर साख्वा चोकबाट सुरु भएको र्यालीले मदनचोक बीचबजार हुँदै बजार परिक्रमा गरेको हो। नगर परिक्रमापछि तल्लो कोप्चेस्थित कृष्ण एण्ड कम्पनीमा सांस्कृतिक कार्यक्रम समेत हुने जनाइएको छ।
नेपाल सम्वत्को नयाँ वर्ष नेवार समुदायका लागि सांस्कृतिक पहिचान, मौलिक परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा रहँदै आएको नवीन किशोर शाक्य बताउँछन् । यस अवसरमा निकालिने भिन्तुना र्यालीले पुर्खादेखि चलिआएको संस्कृति, भेषभूषा, कला संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।