जुम्ला सदरमुकाम खलंगाबाट करिब ६ किलोमिटर टाढाको चेरेचौरमा हरियाली, पशुपालन र प्राकृतिक दृश्य हेर्न पर्यटकको संख्या बढिरहेको छ।
जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका–३ मा रहेको चेरेचौर प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । वर्षायामका तीन महिना गोठालाहरू यही चौरमा बसेर पशुवस्तु चराउँछन् । हरियालीले ढाकिएको विशाल चौर र गोठालाको सरल जीवनशैलीले यहाँ पुग्नेलाई प्रकृतिसँग नजिक बनाउने गरेको छ ।
माथि डाँफे लेक, पारिपट्टि धिमीचौर अनि तल फराकिलो फाँट । त्यही फाँटको बीचमा हरियाली ओढेर बसेको छ- चेरेचौर । टाढाबाट हेर्दा सामान्य चौरजस्तो लागे पनि यहाँ पुगेपछि यसको सुन्दरताले आफैं कथा सुनाउन थाल्छ । लस्करै चरेका गाईभैंसी, चौरमा दौडिरहेका भेडा, गोठालाको व्यस्त दैनिकी अनि जंगलबाट सुनिने चराको चिरबिर । यही दृश्यले चेरेचौर पुग्ने मानिसलाई केहीबेर आफ्नै संसार भुलाइदिन्छ ।
स्थानीय दलजीत खत्रीका अनुसार अहिले चेरेचौरमा भिडियो र टिकटक बनाउन मात्रै दैनिक ५० भन्दा धेरै आन्तरिक पर्यटक आइपुग्छन् । चेरेचौरमा ५० भन्दा धेरै पशुवस्तुका गोठ छन् ।
जुम्ला सदरमुकाम खलंगाबाट करिब ६ किलोमिटर टाढा छ चेरेचौर । पैदल हिँड्दा करिब डेढ घण्टा लाग्ने यो ठाउँ सवारीसाधनमा झन्डै ३० देखि ४५ मिनेटमै पुग्न सकिन्छ । पछिल्लो समय सडक र यातायातको पहुँचसँगै यहाँ घुम्न आउने मानिसको संख्या पनि बढ्दै गएको छ ।
तर चेरेचौरको सुन्दरता आजको होइन । वर्षौंदेखि यही चौरले गाउँलेका गाईभैंसी चराएको छ । गोठालाका दिन काटेको छ । यही चौरमा उत्पादन भएको दूध र दहीले धेरै परिवारको घरखर्च चलेको छ । पुस्तौंदेखि पशुपालन गर्दै आएका स्थानीयका लागि चेरेचौर जीवनसँग जोडिएको ठाउँ पनि हो ।
अहिले पनि गोठालाहरू दूध, दही बेचिरहेका छन् । यहाँ छिना, महतगाउँ, भण्डारीबाडा र ढाणथपलालगायत क्षेत्रका मानिसले पशुवस्तु चराउन ल्याउने गर्छन् । कसैले अस्थायी गोठ बनाएर राख्छन्, कसैले चौरमै छाडेर फर्किन्छन् । पर्यटक आउँदा स्थानीयले उत्पादन गरेको ताजा दूध र दही बेच्ने अवसरसमेत पाउँछन् ।
अर्का गोठाला नरबहादुर खत्रीले भने, ‘घुम्नका लागि मानिसहरू आउँछन् । दही–दूध खान्छन् । यहाँको सुन्दरता हेर्छन्, रमाइलो गर्छन् । अहिले त बाहिरबाट आउने मानिसहरू पनि धेरै छन् ।’
चेरेचौरमा आउनेहरू यहाँ ठूलो होटल वा महँगा मनोरञ्जन खोज्दैनन् । उनीहरूलाई चौरको खुला आकाश, हरियाली, गोठको दूध–दही र गाउँको सरल जीवन नै पर्याप्त हुने गरेको छ । अझ महत्वपूर्ण कुरा- चेरेचौर र धिमीचौर जोड्ने पुल निर्माण भइरहेको छ । पुल बनेपछि आवागमन सहज हुने र यहाँ आउने पर्यटक अझ बढ्ने स्थानीयको विश्वास छ ।
चेरेचौरको सम्भावना यतिमै सकिँदैन । यही क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शैक्षिक भवन निर्माण भइरहेको छ । निकट भविष्यमा स्वास्थ्य शिक्षाको पढाइसमेत सुरु हुने अपेक्षा गरिएको छ । यसले चेरेचौरमा विद्यार्थी, शिक्षक र बाहिरबाट आउने मानिसको चहलपहल थप बढाउने स्थानीयको विश्वास छ । स्थानीय कमलबहादुर खत्रीले भने, ‘प्रकृतिले चेरेचौरलाई सुन्दर बनाइसकेको छ । अब सडक, खानेपानी, पुल र आवश्यक पूर्वाधार थप्न सके यही सुन्दरता स्थानीयको आम्दानीसँग जोडिन सक्छ।’
मुगुको राराताल हुँदै ट्रेकिङमा आउने पर्यटक चेरेचौरमा बसोबास गर्ने अपेक्षा गरिएको छ । खस भाषाको उद्गमस्थल सिंजा क्षेत्रका स्थानीयसमेत त्यही बाटो हुँदै आउने भएकाले चहलपहल हुने गरेको छ । पछिल्लो समय हिउँदमा हिउँ कम पर्ने भएकाले हिउँ खेल्नकै लागि स्थानीय चेरेचौरमै पुग्ने गरेका छन् ।
डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।