मौसमअनुसार लेक र बेंसी ओहोरदोहोर गर्ने गुरुङ समुदायको पुस्तौंदेखिको जीवनशैली घट्दो पशुपालनबीच पनि जीवित छ।
लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित घिम्चेफाँट यतिबेला गोठले भरिएको छ । असोजमा धानका बालाले पहेँलपुर देखिने यो फाँटमा अहिले गाईभैंसीका गोठ लस्करै छन् । वरपर भेडाबाख्राका गोठ पनि छन् ।
माथिल्लो खर्कमा चिसो बढ्न थालेपछि गोठाला पशुचौपाय लिएर बेंसी झरेका हुन् । महिनौंसम्म लेकका खर्कमा गाईभैंसी र भेडाबाख्रा चराउँदै बिताएका उनीहरु अहिले घिम्चेफाँटमा बस्न थालेका छन् । लेकमा हरियाली र घाँस पर्याप्त भए पनि उच्च क्षेत्रमा चिसो बढेको छ । चिसोले पशु बिरामी पर्ने र मर्ने जोखिमसमेत हुने भएकाले मौसमअनुसार गोठ सार्ने गरिन्छ ।
स्थानीय नौराज गुरुङका अनुसार भुजुङवासीका लागि लेकबाट बेंसी र बेंसीबाट लेक झर्ने यो क्रम नयाँ भने होइन । पुस्तौंदेखि चल्दै आएको परम्परागत जीवनशैली हो । मौसमअनुसार गोठ सार्ने र खेतीपातीसंगै पशुपालन गर्ने यहाँको आफ्नै चलन छ । ‘यसअघि लेकमा थियो । अहिले गोठ बेंसीमा ल्याएका छौं । अलि ओभानो ठाउँमा गोठ बनाएको छु,’ गोठाला नरबहादुर गुरुङले गुरुङ भाषामा सुनाए ।
उनका अनुसार घिम्चेमा मल मोलेर सकिएपछि अन्यत्र सारिन्छ । मलिलो भएको जमिनमा गहुँ, जौ, करुलगायत हिउँदे बाली लगाइन्छ । घिम्चेफाँटमा जेठको अन्तिम साताभित्रै धान रोपिसकिन्छ । यो ठाउँ लमजुङमै सबैभन्दा छिटो धान रोप्ने ठाउँको रुपमा कहलिएको छ । यहाँ तामरे (ताक्मरे) जातका धान खेती गरिन्छ ।
घिम्चेफाँटमा गोठहरु मंसिरसम्म रहन्छन् । त्यसपछि तल्हृयु, ह्रउँजे (राम्चे), कौंदी–किज्गुँलगायत ठाउँमा सारिन्छन् । गाउँमुनि र गाउँमाथिका खेतमा पनि पालैपालो गोठ राखिन्छ । फागुन–चैतदेखि खेतीपातीको काम सुरु हुन्छ । त्यसपछि गोठहरु फेरि लेकतिर उक्लिन थाल्छन् । ‘गोठ कहिले सार्ने, कहाँ राख्ने र कुन खर्कमा जाने भन्ने विषयमा गोठालाको समितिले निर्णय गर्छ । यसको अनुमोदन भदौ अन्तिम साता गाउँमा गरिने भदौसभाले गर्छ,’ गोठाला समितिका अध्यक्ष सनबीर गुरुङले भने, ‘गोठालाले आफूखुसी पशु चराउन र लैजान पाउँदैनन् । बन्देज लगाइएका ठाउँमा गोठ लगेमा वा पशुचौपाय चराएमा हर्जना तिर्नुपर्छ ।’
घिम्चेफाँटमा गोठको लस्कर देखिए पनि भुजुङमा परम्परागत पशुपालनको चलन भने क्रमशः घट्दै गएको छ । कुनै समय गाउँमा गाईभैंसीका १ सय ५ वटा गोठ रहेको सनबीर गुरुङ सम्झन्छन् । अहिले त्यो संख्या घटेर ३९ मा सीमित भएको छ । तीमध्ये गाईका गोठ ८–९ वटा मात्रै छन् । बाँकी भैंसीका हुन् ।
८४ वर्षीय गुरुङका अनुसार गाउँमा पशुपालन गर्नेको संख्या घट्दै गएको छ । गाउँका मानिस सहरबजारमा बसाइँ सर्न थालेका छन् । युवाहरु वैदेशिक रोजगारी साथै अन्य कामका लागि विदेश जाने क्रम बढेको छ । यसको असर परम्परागत पशुपालनमा परेको छ । ‘दिनहुँ गोठ हेर्नुपर्ने, घाँसपातको व्यवस्था गर्नुपर्ने, मौसमअनुसार गोठ सार्नुपर्ने भएकाले यसमा दुःख ज्यादा छ । त्यसैले नयाँ पुस्ताको आकर्षण घटेको छ’ उनले भने ।
भुजुङ आफैंमा ग्रामीण पर्यटनका लागि परिचित गाउँ हो । यहाँको गुरुङ संस्कृति, परम्परागत घर, रहनसहन, खानपान र सामुदायिक जीवन पर्यटकका लागि आकर्षणका विषय हुन् । कहिलेकाहीं घिम्चेफाँटमा धान काट्ने दृश्य हेर्न र गोठालाहरुको परम्परागत जीवनशैली बुझ्न पनि पर्यटक पुग्ने गरेका पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन् ।
वडाध्यक्ष नारायण गुरुङका अनुसार घिम्चेफाँटमा धान भित्र्याएपछि गोठ ल्याउने चलन पहिलेदेखि नै हो । सुरुमा गाईभैंसीका गोठ फाँटमा राखिन्छन् । त्यसपछि स्वाँरातिर सार्ने गरिन्छ । खेतीपाती र पशुपालनलाई एकअर्कासंग जोडेर अघि बढाइएको यो चलन गाउँको पुरानो जीवनशैली रहेको उनी बताउँछन् । उनका अनुसार यो जीवनशैलीलाई बचाउने प्रयास गरिए पनि युवाको बढ्दो वैदेशिक मोह, सहरको अवसर र बसाईंसराइका कारण चुनौति छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।