रुपेश जैसवालको नेतृत्वमा पाँच सदस्यीय टोलीले अबुधाबीमा २१ देश सहभागी नौ चरणको स्विस लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ — एसियन चेस फेडेरेसनको निमन्त्रणामा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा आयोजना हुन गइरहेको एसियन नेशन कप बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
युवा खेलाडीहरूको बाहुल्यता रहेको नेपाली टोलीमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल, क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल, रिसोन थापा, निकेन कुसाथा र मुहान नर्सिङ श्रेष्ठ रहेका छन् ।
टोलीमा २१५१ रेटिङ भएका अनुभवी खेलाडी रुपेश जैसवालले पहिलो बोर्डबाट प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी २०९३ रेटिङ प्राप्त पुरुषोत्तम सिलवालले दोस्रो बोर्ड, २०७५ रेटिङका रिसोन थापाले तेस्रो बोर्ड, २००७ रेटिङका निकेन कुसाथाले चौथो बोर्ड तथा १९८३ रेटिङका मुहान नर्सिङ श्रेष्ठले पाँचौँ बोर्डबाट नेपालको प्रतिनिधित्व गर्नेछन् ।
४६औँ चेस ओलम्पियाडमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पदकको नजिक पुगे पनि अन्तिम चरणमा पदक जित्नबाट चुकेको थियो । उक्त प्रतियोगितामा नेपाली टोलीले चौथो स्थान हासिल गरेको थियो भने छ जना नेपाली खेलाडीले व्यक्तिगत रूपमा क्यान्डिडेट मास्टर उपाधि प्राप्त गरेका थिए। साथै, नेपाल विश्व च्याम्पियनसिपका लागि छनोट हुनसमेत सफल भएको थियो ।
यसपटकको नेशन कपमा पनि नेपाली टोलीको मुख्य लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत उपाधि हासिल गर्नुका साथै एसियाली स्तरमा नेपालको रेटिङ तथा वरीयतामा सुधार गर्नु रहेको छ।
स्विस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिता नौ चरणसम्म चल्नेछ। प्रतियोगितामा नेपालसहित रुस, चीन, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, युएई, उज्बेकिस्तान, काजाकिस्तान, मलेसियालगायत २१ देशका टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।