Trending
Prev Story
Next Story

विचार | प्रकृति र सहअस्तित्वको पर्व तिहार

Ekantipur •
November 09, 2026 • 02:31 AM
1
1 reads 0 reactions

यमपञ्चकका पाँच दिनले मानव जीवन, कृषि, पशुपालन र पर्यावरणबीचको अन्योन्याश्रित सम्बन्ध तथा पारिवारिक एकताको सन्देश दिन्छन्।

विचार | प्रकृति र सहअस्तित्वको पर्व तिहार

यमपञ्चकका पाँच दिनले मानव जीवन, कृषि, पशुपालन र पर्यावरणबीचको अन्योन्याश्रित सम्बन्ध तथा पारिवारिक एकताको सन्देश दिन्छन्।

काठमाडौँ — तिहार नेपाली समाजको मौलिक सांस्कृतिक जीवनसँग गहिरो गरी जोडिएको पर्व हो । उज्यालो, उमंग, प्रेम र आत्मीयताको प्रतीकका रूपमा मनाइने यो पर्व धार्मिक अनुष्ठान र मनोरञ्जनमा मात्र सीमित छैन । यसले प्रकृति, कृषि, पशुपक्षी र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत उजागर गर्छ । काग, कुकुर, गाई र गोरुको पूजा तथा गोवर्द्धन पूजाका माध्यमबाट तिहारले मानिसलाई आफू बाँचेको प्राकृतिक संसारप्रति कृतज्ञ हुन र अन्य जीवसँग सहअस्तित्व कायम गर्न प्रेरित गर्छ । त्यसैले तिहारलाई प्रकृति र समस्त जीवजगत्प्रतिको सम्मान अभिव्यक्त गर्ने पर्वका रूपमा पनि बुझ्नुपर्छ ।

तिहार भन्नेबित्तिकै दीपावली गर्ने, बत्तीले घर–आँगन झिलिमिली पार्ने पारिन्छ । दीपावलीको अर्थलाई पनि भौतिक उज्यालोमा सीमित पारिनु हुँदैन । घर उज्यालो पार्दा आफू र अरूको उदास मनमा पनि आशाको दीप बाल्ने प्रयास गरिरहनुपर्छ । यमपञ्चकअन्तर्गत तिहारका पाँच दिनका आआफ्नै धार्मिक र सांस्कृतिक महत्त्व छन् । काग तिहारबाट सुरु हुने यस पर्वमा कागलाई सन्देशवाहकका रूपमा पूजा गरिन्छ । कागलाई पूजा गरेर मीठा खानेकुरा खुवाउनु मानिस र प्रकृतिबीचको सम्बन्धको स्मरण र सम्मान हो । यस्तै, कुकुर तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई उजागर गर्छ । मानिसले पालेको पहिलो जनावर कुकुरले घरको सुरक्षा, खोज तथा उद्धारलगायतका काममा विशिष्ट योगदान गर्दै आएको छ ।

गाई तिहार र लक्ष्मीपूजाले धार्मिक आस्थासँगै कृषि तथा पशुपालनको महत्त्व स्मरण गराउँछन् । गाई दूध र पोषणको स्रोत हो भने गोरुले परम्परागत कृषि प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यस्तै, गोवर्द्धन पूजाले मानव जीवन प्रकृतिमा निर्भर रहेको यथार्थ बोध गराउँदै प्रकृति र पर्यावरण संरक्षणको महत्त्व स्पष्ट पार्छ । नदी, वनजंगल र जैविक विविधताको संरक्षणबिना मानव जीवनको निरन्तरता सम्भव छैन । त्यसैले गोवर्द्धन पूजाको सन्देशलाई कर्मकाण्डमा सीमित नगरी प्रकृति संरक्षणमा सामूहिक प्रयाससँग जोड्नुपर्छ । खासगरी मानवीय क्रियाकलापका कारण पृथ्वीको औसत तापमान बढेर प्राकृतिक सन्तुलन बिथोलिँदै गएको विद्यमान अवस्थामा प्रकृतिको स्याहारमा गम्भीर बन्नुपर्ने सन्देश यो पूजाबाट लिन सकिन्छ । भाइटीकामा लगाइने सप्तरंगी टीका पनि इन्द्रधनुष र विविध रङ पाइने प्रकृतिसँग सम्बन्धित पाटो हो ।

तिहारका यी परम्पराले मानव जीवन पशुपक्षी र प्रकृतिबाट अलग रहन नसक्ने सन्देश दिन्छन् । तर पशुपक्षीको पूजा गर्ने परम्परा एक दिनको अनुष्ठानमा सीमित हुनु हुँदैन । वर्षभरि भोक, रोग र असुरक्षासँग जुध्ने गरेका सडकका जनावरप्रति हाम्रो व्यवहार सम्मानजनक हुनुपर्छ । चराचुरुंगीको बासस्थान संरक्षण, जनावरको उचित हेरचाह र जैविक विविधताको सुरक्षामा ध्यान दिनु आवश्यक छ ।

तिहारको सुन्दर र विशिष्ट पक्ष भाइटीका हो । दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता र विश्वासलाई यसले प्रगाढ बनाउँछ । तिहारमा खेलिने देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सद्भाव, सामूहिकताको भावना र लोकसंस्कृतिको आधार पनि हो । समयसँगै चाडपर्व मनाउने शैली फेरिए पनि यिनले बोकेको सांस्कृतिक मूल्य जोगाउनु आवश्यक छ ।

भाइटीका लगाउँदा सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ । लामो समय नओइलाउने मखमली र सयपत्री फूलका माला प्रयोग गरिनु पनि प्रतीकात्मक रूपमा लामो आयुको कामनासँगै जोडिन्छ । तिहार भन्नेबित्तिकै दीपावली गर्ने, बत्तीले घर–आँगन झिलिमिली पार्ने पारिन्छ । दीपावलीको अर्थलाई पनि भौतिक उज्यालोमा सीमित पारिनु हुँदैन । घर उज्यालो पार्दा आफू र अरूको उदास मनमा पनि आशाको दीप बाल्ने प्रयास गरिरहनुपर्छ । देउसी–भैलोमा सामूहिकतामा रमाउँदा एक्लो र हतास मनोभावमा रहेका व्यक्तिलाई पनि समाज र जीवनसँग जोड्ने कसर छाड्न हुँदैन ।

दीर्घायु जीवनको कुरा गर्नेबित्तिकै तिहारमा सुरक्षा र सजगता पनि जोडिन्छ । दियो–बत्ती बाल्दा घरटोलमा आगलागी भएका समाचार आउने गरेकाले त्यस्ता घटना हुन नदिन सजगता जरुरी छ । यस्तै, पशुप्राणीको पूजा गरिने तिहार पटाका, आतिसबाजी प्रयोग गरिँदा तिनै अबोध प्राणी असाध्यै डराउने, तर्सिने गरेका छन् । हामीले आफ्नो जीवन बाँच्दा र खुसी मनाउँदा अरूको अस्तित्वमा दखल दिन नहुनेतर्फ पनि ध्यान दिन आवश्यक छ ।

तिहारको वास्तविक महिमा उज्यालो बाल्नु, मीठो खानु र रमाइलो गर्नुमा मात्रै छैन । यसले प्रकृतिप्रति कृतज्ञ हुन, पशुपक्षीको अस्तित्व स्वीकार गर्न, कृषि र किसानको श्रमको सम्मान गर्न तथा परिवार र समाजबीच प्रेम, सद्भाव र एकता कायम राख्न सिकाउँछ । परम्पराको संरक्षण त्यसको बाहिरी स्वरूप दोहोर्‍याउनु मात्र होइन, त्यसमा निहित जीवनोपयोगी सन्देशलाई व्यवहारमा उतार्नु पनि हो ।

यस वर्षको तिहारले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको उज्यालो छरोस् । प्रकृति, पर्यावरण र समस्त जीवजगत्प्रतिको सम्मान अझ गहिरो बनोस् । दिदीबहिनी र दाजुभाइबीचको सुसम्बन्ध मात्र होइन, परिवार र समाजमा प्रेम, सद्भाव र एकता कायम रहोस् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#जीवन #कृषि
Compare →

Related Stories

Science & Climate
Build #2611