Trending
Prev Story
Next Story

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

Arthasansar •
November 09, 2026 • 02:04 AM
2
2 reads 0 reactions

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ ।...

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार वार्ताको तयारी भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य र आर्थिक दबाब बढाउने प्रयास गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार यस वर्षको जाडोमा युक्रेनले सामना गर्नुपर्ने मानवीय संकट अघिल्ला वर्षहरूको तुलनामा निकै गम्भीर हुन सक्छ । किनकि रुसले ऊर्जा उत्पादन तथा वितरण प्रणालीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । यसका कारण लाखौँ मानिस विद्युत्, खानेपानी र घर तताउने सुविधाबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना भएको छ ।

लन्डनस्थित थिंकट्यांक न्यु यूरेसियन स्ट्राटेजिज सेन्टरका अन्तर्राष्ट्रिय साझेदारी प्रमुख जोन लफका अनुसार रुसको हवाई आक्रमण अब स्पष्ट रूपमा युक्रेनको अर्थतन्त्र ध्वस्त पार्ने उद्देश्यबाट निर्देशित छ । उनी भन्छन्, ‘पुटिनले थप सैनिक परिचालन गरेर रुसले डोनबास क्षेत्रमा युद्ध जित्न नसक्ने निष्कर्ष निकालेका छन् । युक्रेनी सेनाले पछिल्लो गर्मीयाममा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ । त्यसैले अब युक्रेनको अर्थतन्त्र नै ध्वस्त पारेर युद्ध जित्न सकिन्छ भन्ने निष्कर्षमा उनी पुगेका छन् ।’

लफका अनुसार युक्रेनको आर्थिक संरचनामाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ । युक्रेनलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूले त्यहाँ विकसित भइरहेको संकटको गम्भीरता र त्यसले भविष्यमा आफूहरूमाथि पार्न सक्ने आर्थिक भारलाई पर्याप्त रूपमा बुझ्न नसकेको उनको ठहर छ । विश्वव्यापी द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका पूर्वी युरोप अनुसन्धानकर्ता क्रिस्टियन भ्लासले यस वर्षको जाडोमा युक्रेनले अत्यन्तै भयावह मानवीय संकट सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ‘यो सामान्य जाडो हुने छैन,’ उनी भन्छन् ।

नागरिक हताहतीमा वृद्धि, आक्रमणको संख्या पनि बढ्दो

सन् २०२६ मा युक्रेनमा रुसी आक्रमणबाट मारिने सर्वसाधारणको संख्या युद्ध सुरु भएयताका सुरुवाती महिनापछिको सबैभन्दा उच्च स्तरमा पुगेको छ । एसीएलईडीले संकलन गरेको तथ्यांकअनुसार सन् २०२६ मा अहिलेसम्म रुसी आक्रमणबाट दुई हजार सात सयभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको छ । युक्रेनमाथि रुसले गर्ने आक्रमणको संख्या पनि निरन्तर बढिरहेको छ । सन् २०२६ को जनवरीमा युक्रेनमाथि तीन हजार ६५० रुसी आक्रमण भएका थिए । अक्टोबरसम्म आइपुग्दा यो संख्या बढेर पाँच हजार ५३२ पुगेको छ ।

ऊर्जा पूर्वाधारदेखि उद्योग, कृषि र निर्यातसम्म रुसी आक्रमणको निशानामा परेका छन् । लाखौँ युक्रेनी विद्युत्, खानेपानी र ताप सुविधाबाट वञ्चित हुने जोखिममा छन् । यसबीच युक्रेनले पनि रुसी भूमिभित्र आक्रमण बढाएको छ । अक्टोबरमा मात्रै युक्रेनले रुसभित्र दुई हजार ३०२ आक्रमण गरेको तथ्यांकमा उल्लेख छ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार गत महिना युक्रेनी सेनाले हतियार उत्पादनमा संलग्न कम्तीमा सात रुसी उद्योग, तीन सैन्य विमानस्थल तथा महत्त्वपूर्ण राडार र सैन्य सञ्चार केन्द्रलाई निशाना बनाएको थियो । यसअघि गर्मीयाममा युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका गोदामहरूमा समेत आक्रमण गरेको थियो । तर रुसी आक्रमणको मुख्य प्रभाव युक्रेनको नागरिक अर्थतन्त्र र सर्वसाधारणको जीवनमा देखिन थालेको छ ।

उद्योग, अन्न निर्यात र व्यापारिक संरचनामाथि प्रहार

रुसले युक्रेनका कृष्णसागरस्थित निर्यात संरचना, डेन्युब नदीका बन्दरगाह, औद्योगिक गोदाम, रेलवे पूर्वाधार तथा इस्पात उद्योगलाई नियमित रूपमा निशाना बनाइरहेको छ । यस्ता संरचनामध्ये केहीले सैनिक र नागरिक दुवै प्रयोजनमा काम गरे पनि पछिल्ला आक्रमणमा पूर्ण रूपमा नागरिक प्रयोजनका संरचनासमेत लक्षित भएको विज्ञहरूको भनाइ छ ।

यसै क्रममा गत सोमबार जापोरिजियास्थित विद्यालय भवनमा रुसी बम आक्रमण हुँदा कम्तीमा ५५ युक्रेनी नागरिकको मृत्यु भएको थियो । उक्त विद्यालयलाई आश्रयस्थल तथा मानवीय सहायता केन्द्रका रूपमा प्रयोग गरिएको थियो । युद्धको पाँचौँ वर्षमा भएका घातक घटनामध्ये यो एक थियो । यद्यपि मस्कोले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

युक्रेनका क्रिभी रिह र जापोरिजियास्थित प्रमुख इस्पात उद्योगहरूमा अगस्टदेखि अक्टोबरबीच भएका ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणका कारण ती उद्योग बन्द भएका छन् । उद्योग बन्द हुँदा हजारौँ परिवारको आम्दानी गुम्ने र स्थानीय अर्थतन्त्रमा गम्भीर सामाजिक तथा आर्थिक असर पर्ने भन्दै क्रिभी रिहका स्थानीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

एसीएलईडीका अनुसन्धानकर्ता भ्लासका अनुसार उद्योगमाथिको आक्रमणले उत्पादन मात्रै प्रभावित गर्दैन, यसले सरकारको कर आम्दानी र सर्वसाधारणको तलबसमेत प्रभावित बनाउँछ ।

रुसले कृषि क्षेत्र र अन्न निर्यातलाई पनि निशाना बनाइरहेको छ । उद्योग, कृषि, व्यापार र निर्यातका विभिन्न क्षेत्रमा एकैपटक आक्रमण गरेर युक्रेनको अर्थतन्त्रमा बहुआयामिक संकट सिर्जना गर्ने प्रयास भइरहेको उनको विश्लेषण छ । रुसले सपिङ मल, भण्डारण केन्द्र र गोदामहरूमा समेत आक्रमण गरिरहेको छ । यसले सामानको आपूर्ति, बिक्री र वितरण प्रणालीमा अवरोध सिर्जना गरेको छ ।

पहिले रुसले मुख्यतः रातको समयमा आक्रमण गर्ने गरेकामा अहिले दिउँसो पनि आक्रमण बढाएको छ । दिउँसो हुने आक्रमणले दैनिक व्यापारिक गतिविधि अवरुद्ध पार्ने उद्देश्य राखेको विश्लेषण गरिएको छ । युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी भएपछि सरकारी कार्यालय र कतिपय व्यवसायले कानुनी रूपमा आफ्नो नियमित गतिविधि सञ्चालन गर्न पाउँदैनन् । यसले अर्थतन्त्रलाई थप प्रभावित बनाउँछ ।

ऊर्जा संकटले लाखौँ मानिसको जनजीवन प्रभावित

रुसी आक्रमणको सबैभन्दा गम्भीर प्रभाव युक्रेनको ऊर्जा पूर्वाधारमा परेको छ । विद्युत् उत्पादन केन्द्र, वितरण प्रणाली र अन्य महत्त्वपूर्ण संरचनामा भएका आक्रमणका कारण धेरै ऊर्जा केन्द्र मर्मत गरेर पुनः सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन् । विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध हुँदा उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको छ । घर तताउने प्रणाली प्रभावित हुँदा जाडोमा सर्वसाधारणको जीवन झन् जोखिमपूर्ण बनेको छ । रुसले यसअघि आक्रमणको निशानामा नपरेका पश्चिमी युक्रेनका क्षेत्रलाई समेत लक्षित गर्न थालेको छ । पश्चिमी सहर रिभ्नेसम्म ऊर्जा पूर्वाधारमाथि आक्रमण हुन थालेपछि युक्रेनको सीमित हवाई प्रतिरक्षा प्रणालीमाथि थप दबाब परेको छ ।

पछिल्लो पटक रुसले द्निप्रोपेत्रोभ्स्क क्षेत्रको विद्युत् ग्रिडमा गरेको आक्रमणका कारण ६ लाखभन्दा बढी मानिस विद्युत् सुविधाबाट वञ्चित भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । खार्किभ र झितोमिरलगायत अन्य क्षेत्रमा पनि व्यापक विद्युत् अवरोध भएको जनाइएको छ ।

युक्रेनको राजधानी किभमा शनिबारसम्म करिब ४० प्रतिशत भवनमा ताप सुविधा उपलब्ध थिएन । यसैबीच यस वर्षको पहिलो हिमपातसमेत सुरु भइसकेको छ । युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसले जाडोयाम सुरु हुनुअघि नै लाखौँ मानिसलाई विद्युत्, ताप र खानेपानीबाट वञ्चित गराउने उद्देश्य राखेको आरोप लगाएका छन् । ‘रुसले युद्धमैदानमा हासिल गर्न नसकेको उपलब्धि चिसो र अन्धकारमार्फत प्राप्त गर्न खोजिरहेको छ,’ उनले भनेका छन् ।

रुसी आक्रमणबाट सर्वसाधारणको मृत्यु बढ्नुमा जेट इन्जिनयुक्त साहेद ड्रोन र लामो समयसम्म लक्ष्य पछ्याएर आक्रमण गर्ने हतियारको प्रयोग पनि प्रमुख कारण बनेको छ । यस्ता हतियारलाई युक्रेनी सेनाले आकाशमै खसाल्न कठिन भइरहेको छ । युक्रेनले यी हतियार रोक्ने आफ्नो क्षमता सुधार गर्ने प्रयास गरिरहेको छ । तर अहिले रुसी हतियारको तुलनामा युक्रेनको प्रतिरक्षा कमजोर देखिएको विज्ञहरूको भनाइ छ । विशेषगरी अमेरिकामा निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरको अभावले युक्रेनलाई थप समस्यामा पारेको छ । रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सक्ने सीमित हतियारमध्ये प्याट्रियट पनि एक हो ।

एसीएलईडीका भ्लासका अनुसार अप्रिलदेखि नै सर्वसाधारणको मृत्यु र घाइते हुने संख्या लगभग निरन्तर बढिरहेको छ । अक्टोबरको सुरुवातमा मृत्यु हुनेको संख्यामा भएको वृद्धि झन् चिन्ताजनक रहेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) को नयाँ प्रतिवेदनले पनि दक्षिणी र पूर्वी युक्रेनका सर्वसाधारण आर्थिक संकटका कारण आफ्नो घर छाड्न वा जीविकोपार्जनका लागि जोखिमपूर्ण काम गर्न बाध्य भएको देखाएको छ ।

केही क्षेत्रमा किसानहरू आफ्नो आम्दानीको स्रोत जोगाउन बारुदी सुरुङले भरिएका खेतमा समेत काम गर्न बाध्य छन् । खेतमा विस्फोटक पदार्थ रहेको थाहा हुँदाहुँदै पनि उनीहरू खेतीपाती गर्न जोखिम मोलिरहेका छन् । माइकोलाइभ क्षेत्रमा गरिएको सर्वेक्षणमा सहभागी सयौँ परिवारमध्ये ९१ प्रतिशतले तत्काल आर्थिक सहायता आवश्यक रहेको बताएका छन् । त्यस्तै, द्निप्रोपेत्रोभ्स्क क्षेत्रमा ४२ प्रतिशत परिवारले आर्थिक सहयोगलाई आफ्नो अत्यावश्यक आवश्यकता बताएका छन् ।

युक्रेनमा आईआरसीकी उपक्षेत्रीय व्यवस्थापन निर्देशक ओल्गा कासुबाका अनुसार आर्थिक स्रोतको अभाव केवल बिल तिर्न नसक्ने समस्यामा सीमित छैन । यसले मानिसलाई आफ्नो जीवन नै परिवर्तन गर्नुपर्ने कठिन निर्णय लिन बाध्य बनाइरहेको छ । पूर्वी युक्रेनका धेरै सर्वसाधारणका लागि सन् २०१४ देखि नै युद्धले दैनिक जीवन र जीविकोपार्जनमा अवरोध सिर्जना गरेको छ । अर्थात्, उनीहरूले एक दशकभन्दा बढी समयदेखि निरन्तर आर्थिक दबाब सामना गरिरहेका छन् ।

कासुबाले किभमा बस्दा आफ्नै वरपरका मानिसको आम्दानी गुम्दै गएको र आर्थिक चिन्ता बढ्दै गएको प्रत्यक्ष अनुभव गरेकी छन् । उनले किनमेल गर्ने स्थानीय किसान बजार रुसी आक्रमणबाट ध्वस्त भएपछि बन्द भएको थियो । नजिकैको एउटा गोदाममा भएको अर्को आक्रमणले साना पुस्तक पसलका सञ्चालकहरूको सामानसमेत नष्ट गरेको उनले बताइन्। ‘किराना पसलहरू जलाइँदा र गोदामहरू ध्वस्त पारिँदा सामानमा मात्रै क्षति पुग्दैन । ती हजारौँ मानिसको आम्दानीको स्रोत पनि हुन्,’ उनले भनिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

काठमाडौँ । आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार वार्ताको तयारी भइरहँदा रुसी राष्ट्रपति...

#रुसी #आक्रमण #शान्तिवार्ता
Compare →
Ekantipur
1d ago
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर तयारीमा जुटेका छन् भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।

#तीव्र
Compare →
Nagarik News
2d ago
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

#आक्रमण
Compare →
Onlinekhabar
2d ago
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण …

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611