प्रहरीले वीरेन्द्रनगरका तीन स्थानमा छापा मार्दा ५ लाख ८८ हजार ३ सय ८५ रुपैयाँ र जुवातास बरामद गरेको छ।
सुर्खेत — प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका तीन स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ५ लाख ८८ हजार ३ सय ८५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाको कमान्डमा खटिएको टोलीले चाडपर्वका बेला विभिन्न स्थानमा जुवातास खेल्ने र नगद कम देखाएर मोबाइल बैंकिङलगायतका माध्यमबाट ठूलो रकमको कारोबार गरी सट्टेबाजी गर्ने गरेको सूचनाका आधारमा छापा मारेको हो ।
प्रहरीका अनुसार कात्तिक २२ गते राति वीरेन्द्रनगर नगरपालिका–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरबाट ५ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५ हजार ८ सय रुपैयाँ र एक थान तास बरामद भएको छ ।
त्यस्तै, वीरेन्द्रनगर–९ मुलपानीचोकस्थित सुशील भारतीको घरबाट १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ४ लाख १ हजार ४ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, वीरेन्द्रनगर–१० बुलबुलेचोकस्थित डिलाराम गिरीको घरबाट १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ८१ हजार १ सय रुपैयाँ र जुवातास बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।