Trending
Prev Story
Next Story

विचार | तिहारको मनोवैज्ञानिक सन्देश

Ekantipur •
November 07, 2026 • 05:31 PM
1
1 reads 0 reactions

मनोवैज्ञानिक सेलिगम्यानले विकास गरेको सिद्धान्तभित्रको पाँच वटा जीवनदर्शन केलाउँदा तिहारको पाँचदिने उत्सवसँग ठ्याक्कै मेल खान्छ।

विचार | तिहारको मनोवैज्ञानिक सन्देश

मनोवैज्ञानिक सेलिगम्यानले विकास गरेको सिद्धान्तभित्रको पाँच वटा जीवनदर्शन केलाउँदा तिहारको पाँचदिने उत्सवसँग ठ्याक्कै मेल खान्छ।

नेपाली हिन्दु समाजमा तिहार चाड मात्र होइन, आत्मीयता, कृतज्ञता, प्रकृतिप्रेम र जीवनप्रतिको आशा व्यक्त गर्ने सुन्दर अवसर पनि हो । घरको आँगनमा झिलिमिली बत्ती, ढोकामा सयपत्री र मखमली फूलका माला, भान्सामा सेलरोटीको बास्ना, देउसी–भैलोको गुञ्जन र निधारमा सप्तरंगी टीका आदिले तिहारलाई विशेष बनाउँछन् । तर, यी दृश्यभन्दा पर तिहारभित्र लुकेको गहिरो मनोवैज्ञानिक सन्देश पनि छ ।

हामीले कहिल्यै सोचेका छौं, वर्षका यी पाँच दिनले हाम्रो मन, सम्बन्ध र सामाजिक जीवनमा कस्तो प्रभाव पार्छन् ? किन हामी कागदेखि कुकुरसम्म, गाईदेखि गोरुसम्म, प्रकृतिदेखि आफ्नै शरीरसम्मलाई सम्मान गर्छौं ? किन दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई विशेष महत्त्व दिइन्छ ? किन राति घरघरमा दियो बालिन्छ ? यी प्रश्नको उत्तर खोज्दा तिहार पूर्वीय दर्शन र आधुनिक मनोविज्ञानबीचको सुन्दर सेतुका रूपमा देखिन्छ ।

मनोविज्ञानको दृष्टिले हेर्दा तिहारलाई मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्ने सांस्कृतिक अभ्यासका रूपमा बुझ्न सकिन्छ । यसको अभ्यासले सकारात्मक भावना, आत्मीयता र जीवनको अर्थबोध बढाउन सघाउँछन् ।

तिहार मृत्युका देवता यमराजसँग सम्बन्धित रहेको र कार्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपाली सांस्कृतिक परम्परामा तिहारको प्रमुख आधार यमराज र उनकी बहिनी यमुनासँग सम्बन्धित कथा हो । लोकपरम्पराअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा निमन्त्रणा गरी स्वागत, सत्कार र पूजा गरिन् । दाजुबहिनीबीचको आत्मीयता, प्रेम र शुभकामनाको यो कथा पछि भाइटीकाको परम्परासँग जोडियो ।

यस कथाको मनोवैज्ञानिक अर्थ सुन्दर छ । मृत्यु जीवनको अपरिहार्य सत्य हो, तर मानिसलाई जीवनप्रति आशावादी बनाउने शक्ति प्रेम, सम्बन्ध र आत्मीयतामा हुन्छ । हामीले प्रेम गर्ने मानिसको उपस्थिति, उसको साथ र शुभकामनाले कठिन परिस्थितिमा पनि बाँच्ने हिम्मत दिन्छ ।

तिहारको अर्को लोकप्रिय सांस्कृतिक व्याख्या रामायणसँग जोडिन्छ । भगवान् राम चौध वर्षको वनवासपछि अयोध्या फर्किएको खुसीमा नगरवासीले दीप प्रज्वलन गरेर स्वागत गरेको प्रसंगलाई दीपावलीको प्रकाश परम्परासँग जोडेर सम्झने गरिन्छ । यसले अन्धकारमाथि प्रकाश, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजयको सन्देश दिन्छ ।

यी कथालाई धार्मिक आस्थाका रूपमा सम्मान गर्दै तिनमा रहेका मानवीय सन्देश बुझ्न सकिन्छ । तिहारको वास्तविक सुन्दरता यही हो, यसले जीवन, मृत्यु, सम्बन्ध, प्रकृति र आशालाई एउटै सांस्कृतिक उत्सवमा जोडेको छ ।

पूर्वीय दर्शनमा मानिसलाई समाजबाट अलग्गै रहेको व्यक्तिका रूपमा मात्र हेरिँदैन । मानिस परिवार, समुदाय, प्रकृति र समग्र जीवनसँग जोडिएको हुन्छ ।

अयं निज: परो वेति गणना लघुचेतसाम् ।

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

अर्थात्, ‘यो आफ्नो हो, त्यो पराइ हो भन्ने सोच सानो र संकीर्ण मन भएका मानिसहरूको हुन्छ । उदार हृदय भएका मानिसहरूका लागि सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो ।’ तिहारमा कागदेखि, कुकुरसम्म, गाईदेखि गोरुसम्मको पूजा गर्नुलाई यही सहअस्तित्वको सांस्कृतिक अभिव्यक्तिका रूपमा बुझ्न सकिन्छ । मानिसले आफ्नो सुखका लागि मात्र होइन, अन्य जीवको अस्तित्व र कल्याणका लागि पनि सोच्नुपर्छ भन्ने सन्देश यसमा पाइन्छ ।

मनोवैज्ञानिक सिद्धान्तको साँचोमा तिहार

अमेरिकी मनोवैज्ञानिक मार्टिन सेलिगम्यानले आफ्नो पुस्तक ‘फ्लोरिस’मा मानवीय कल्याण र मानव जीवनको समग्र उन्नतिका लागि एक सिद्धान्त विकास गरेका छन्– पीईआरएमए । यसले प्रस्तुत गर्ने पाँच आधार हुन्– पोजेटिभ इमोसन, इन्गेजमेन्ट, रिलेसनसिप्स, मिनिङ, अचिभमेन्ट ।

तिहारका गतिविधिलाई यी पाँच आधारसँग जोडेर हेर्दा यसको मनोवैज्ञानिक पक्ष अझ स्पष्ट हुन्छ । तर तिहारका पाँच दिन र यो सिद्धान्तका पाँच पक्षबीच एक–एक दिनको वैज्ञानिक सम्बन्ध हुन्छ भन्ने होइन । यो सांस्कृतिक अभ्यासलाई बुझ्ने एउटा उपयोगी व्याख्यात्मक दृष्टिकोण हो ।

यो सिद्धान्तका पाँच आधारबारे क्रमश: चर्चा गरौं ।

तिहारको महत्त्वपूर्ण सन्देश जीवजन्तुप्रतिको माया, करुणा र जिम्मेवारी हो । तिहारमा कागलाई खानेकुरा दिनु, कुकुरलाई पूजा गरेर मिष्ठान्न खुवाउनु, परिवारसँग रमाउनु, मीठा परिकार मिलेर खानु र देउसी–भैलो खेल्नुजस्ता गतिविधिले खुसी, सन्तुष्टि, कृतज्ञता र आत्मीयता साट्ने अवसर दिन्छन् । विशेषगरी कुकुरसँगको आत्मीय व्यवहारले मानिसमा भावनात्मक न्यानोपन उत्पन्न गर्न सक्छ । मानिस र जनावरबीचको सकारात्मक अन्तरक्रियाले तनाव कम गर्न र भावनात्मक स्वास्थ्यमा सहयोग पुर्‍याउन सक्ने अध्ययनहरूले पनि देखाएका छन् । तर हरेक व्यक्तिमा एउटै प्रकारको जैविक प्रतिक्रिया हुन्छ वा कुकुरलाई एक पटक छोएपछि डिप्रेसन निको हुन्छ भन्न मिल्दैन ।

लक्ष्मीपूजाको तयारीमा घर सफा गर्ने, आँगन सजाउने, माला उन्ने, दियो राख्ने काममा परिवारका सदस्यहरू सहभागी हुन्छन् । मनोविज्ञानमा कुनै अर्थपूर्ण काममा पूर्ण ध्यान र रुचिका साथ संलग्न हुने अवस्थालाई ‘इन्गेजमेन्ट’ भनिन्छ । चुनौती र सीपबीच उचित सन्तुलन हुँदा यस्तो अनुभव अझ गहिरिएर ‘फ्लो स्टेट’ अर्थात् कुनै कार्य वा गतिविधिमा व्यक्ति पूर्ण रूपमा तल्लीन हुने र उच्च ऊर्जा तथा उत्साहका साथ संलग्न हुने उत्कृष्ट मानसिक अवस्थासम्म पुग्न सक्छ ।

जब हामी परिवारसँग मिलेर घर सजाउँछौं वा माला उन्छौं, रंगोली बनाउँछौं, यो सामूहिक कामले केही समयका लागि दैनिक तनावबाट ध्यान हटाएर खुसी दिन्छ, सम्बन्धमा थप माधुर्य आउँछ । आफ्नो हातले केही सुन्दर बनाएको अनुभूतिले सन्तुष्टि पनि दिन्छ ।

तिहारको विशेष दिन भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास पुन: स्मरण गराउँछ र सम्बन्ध थप प्रगाढ बनाउँछ । आधुनिक जीवनमा मानिसहरू रोजगारी, अध्ययन र अवसरको खोजीमा गाउँबाट सहर तथा देशबाट विदेश पुगेका छन् । एउटै परिवारका सदस्यहरू पनि वर्षौंसम्म भेट्न नपाउने अवस्था छ । यस्तो समयमा भाइटीकाको फोन, भिडियो कल, सन्देश वा सम्भव भए प्रत्यक्ष भेटले सम्बन्धमा पुन: आत्मीयता थप्न सक्छ ।

मनोवैज्ञानिक जोन बोल्बीका ‘एट्याचमेन्ट थ्योरी’ले मानिसको जीवनमा सुरक्षित र विश्वासिलो सम्बन्धको महत्त्व देखाउँछ । बाल्यकालदेखि विकसित हुने सुरक्षित सम्बन्धले भावनात्मक विकासमा सहयोग गर्छ । वयस्क जीवनमा पनि विश्वासिलो सम्बन्ध र सामाजिक सहयोगले कठिन परिस्थितिको सामना गर्न मानसिक शक्ति दिन्छ । यसविपरीत एक्लोपन र सामाजिक विच्छेदले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले भाइटीका केवल टीका लगाउने विधि होइन, सम्बन्धलाई पुन: जोड्ने अवसर पनि हो ।

गाई तिहार र गोवद्र्धन पूजाले हामीलाई प्रकृति, कृषि, पशुपालन र श्रमको महत्त्व सम्झाउँछन् । नेपाली समाजको परम्परागत जीवनमा गाई र गोरुले दूध, खेतीपाती, मल र जीविकोपार्जनमा ठूलो योगदान गरेका छन् । गाईलाई माता मान्ने धार्मिक विश्वास र गोरुलाई श्रमको साथीका रूपमा सम्मान गर्ने परम्पराले मानिस र प्रकृतिबीचको अन्तरनिर्भरता उजागर गर्छ । मनोविज्ञानमा आफ्नो जीवनलाई कुनै ठूलो उद्देश्य, मूल्य वा समुदायसँग जोडेर बुझ्ने क्षमतालाई ‘मिनिङ इन लाइफ’ भनिन्छ । तिहारले हामीलाई प्रकृतिप्रति कृतज्ञ हुन, श्रमको सम्मान गर्न र आफ्नो जीवनको उद्देश्यबारे सोच्न प्रेरित गर्छ ।

हामी अरूको दु:ख बुझ्छौं, अरूलाई सान्त्वना दिन्छौं, तर आफ्नो असफलता र पीडामा आफैंलाई कठोर व्यवहार गर्छौं । नेवार समुदायमा मनाइने म्ह: पूजाले तिहारको अर्को विशेष मनोवैज्ञानिक पक्ष प्रस्तुत गर्छ । म्ह: पूजाले प्रतीकात्मक रूपमा एउटा सुन्दर प्रश्न उठाउँछ— अरूलाई सम्मान गर्ने हामीले आफूलाई कति सम्मान गरेका छौं ? आफ्नो स्वास्थ्य, श्रम, सीप, प्रयास र जीवनप्रतिको जिम्मेवारीलाई सम्मान गर्नु आत्मपूजाको आधुनिक अर्थ हुन सक्छ । आफ्नै शरीर र अस्तित्वलाई सम्मान गर्नु आफैंप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने अभ्यास हो ।

समग्रमा, तिहारमा दीपावलीको वास्तविक अर्थ उज्यालो घरको चोटा र आँगनमा होइन, मानिसको मनमा बल्नुपर्छ । दियो बाल्नु भनेको घर उज्यालो बनाउनु मात्र होइन, सम्बन्धमा न्यानोपन, व्यवहारमा करुणा र आफ्नै मनमा आशाको प्रकाश जगाउनु पनि हो । सबैको जीवनमा प्रेम, शान्ति, सद्भाव र मानसिक स्वास्थ्यको उज्यालो फैलियोस् ।

पदमराज जोशी मनोवैज्ञानिक हुन्, उनी त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत छन्।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612