Trending
Prev Story
Next Story

महँगिए ड्राइफ्रुट्स र फलफूल

Ekantipur •
November 07, 2026 • 05:31 PM
1
1 reads 0 reactions

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ ।

महँगिए ड्राइफ्रुट्स र फलफूल

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ ।

काठमाडौँ — तिहारका ५ दिनसम्म मानवदेखि पशुपन्छीसम्मको पूजाआजा गरिन्छ । यस पर्वको अन्तिम दिन दाजुभाइलाई टीका लगाएर मनाउने गरिन्छ । दिदीबहिनीले टीका लगाइसकेपछि दाजुभाइलाई कोसेलीका रूपमा फलफूल, ड्राइफ्रुट्स, लत्ताकपडा दिने गर्छन् । तिहारमा फूलमालादेखि फलफूल, ड्राइफ्रुट्ससम्मको कारोबार बढ्छ । तर, विगतमा जस्तो ड्राइफ्रुट्सको व्यापार यसपालि नरहेको व्यवसायी बताउँछन् ।

काठमाडौंको असनस्थित ड्राइफ्रुट्स बिक्री गर्ने पसलहरूमा काजु, बदाम, पिस्ता, अन्जिरलगायत भाइमसलामा प्रयोग हुने सामग्री लहरै देखिन्छ । तिहार नजिकिएसँगै पसलमा भाइमसलाका प्याकेट र खुला रूपमा काजु, बदाम किन्न आउने ग्राहक बढ्ने व्यवसायीको अपेक्षा छ । तर, असनस्थित ‘वीरसिंह स्टोर’ सञ्चालक विदेह तुलाधर विगतका वर्षमा जस्तो यस पटक व्यापार हुनेमा ढुक्क हुन सकेका छैनन् ।

२८ वर्षदेखि व्यवसाय गर्दै आएका तुलाधरले तिहार नजिकिएसँगै भाइमसला राख्न थालेको सुनाए । ‘दसैं सकिनेबित्तिकै पसलमा भाइमसलाका प्याकेटहरू राख्न सुरु गरेका थियौं,’ उनले भने, ‘पहिला एक सयदेखि २ हजार ५ सय रुपैयाँसम्मको भाइमसलाका प्याकेट बनाउँथ्यौं । यसपालि हजार रुपैयाँसम्मका बनायौं, त्यही पनि महँगो भयो भन्छन् ।’

अहिले ४ सय ५० रुपैयाँदेखि ७ सय ५० पर्ने भाइमसलाको प्याकेटको माग रहेको तुलाधरले सुनाए । ‘एउटा प्याकेटमा काजु, बदाम, पिस्ता, अन्जिर, ओखर, छोकडा, नरिवल, मखना, चकलेट साथै अन्य सामग्री हुन्छ,’ उनले भने । पछिल्लो समय अनलाइनबाटै खरिदबिक्री बढेपछि पसलमा आउने ग्राहक घटेको उनको अनुभव छ । ‘मूल्य हेरेर प्याकेट बनाएका छौं तर ग्राहक पहिलाको जस्तो छैन, तिहारमा भाइमसला मात्रै बिक्री गर्ने पनि बढ्दो छ,’ उनले भने ।

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायत आयात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १४ करोड रुपैयाँको ड्राइफ्रुट्स आयात भएको थियो ।

इन्द्रचोककै ‘उत्तम तिहार मसला’ पसलमा मंगलबार पुग्दा भाइमसलाको रकम सोध्ने ग्राहकको भीड थियो । सञ्चालक मदन शाहले तिहारमा भाइमसलाका प्याकेट, किसमिस, काजु, बदाम बेच्दै आएका छन् । ‘तिहार आउन लागेपछि हरेक वर्ष २० दिन अगाडिबाट भाइमसला साथै अन्य खानेकुरा बेच्दै आएको छु । अरू बेला सिजनअनुसारका सामान बेच्छु,’ उनले भने ।

यसपालि काजुको मूल्य बढेको शाहले बताए । ‘पहिला किलोको १६ सय जतिमा पाइने काजु अहिले हामीलाई नै १७ सय ५० देखि १८ सय रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘बदाम, पिस्तालगायतको मूल्य पनि बढेको छ । एउटै सामानमा सय रुपैयाँभन्दा बढी मूल्य बढेको छ ।’ महँगी बढेकै कारण व्यापार घटेको हुन सक्ने उनले सुनाए ।

भाइमसलाको प्याकेट ६० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको रहेको उनी सुनाउँछन् । सामानको मूल्य बढेपछि भाइमसलामा पनि पहिलाको भन्दा साइज हेरेर १० देखि २० रुपैयाँ बढेको उनी सुनाउँछन् । पिस्ता प्रतिकिलो २२ सय रुपैयाँ पर्नेमा अहिले ४ हजार रुपैयाँ पुगेको व्यवसायी बताउँछन् ।

तिहारका अवसरमा फलफूल पनि अत्यधिक खपत हुन्छ । तर विगतका दसैंतिहारको तुलनामा यसपालि फलफूलको व्यापार ३०/४० प्रतिशतसम्म घटेको फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँ बताउँछन् । चितवनको केरा सकिसकेको छ भने त्रिवेणीको कम हुँदै गइसकेको उनले सुनाए । ‘अब टीकापुरमा मात्रै केरा बाँकी छ । यसपालिको तिहारमा त्यहींको केराले माग धान्छ,’ उनले भने । अहिले किसानकोमा १४ केजीको कार्टुनको केराको मूल्य ७ देखि ८ सय रुपैयाँ परे पनि काठमाडौं आइपुग्दा ११ सय रुपैयाँ पर्ने उनको भनाइ छ ।

‘अहिले केराको मूल्य २०० रुपैयाँ दर्जन छ, बढ्यो भने पनि तिहारकै दिन बढ्ला,’ उनले भने । स्याउ आयातित र मुस्ताङको पर्याप्त रहेको समेत उनले सुनाए । ‘भारतमा महँगो भयो भने नेपालमा पनि लागू हुन्छ । खर्बुजा किलोको ४०/४५ रुपैयाँ छ । मेवा १२० छ । भारतमा घटिरहेकाले नेपालमा पनि घट्छ,’ उनले भने । गत वर्षको तिहारमा फलफूल ३० करोड रुपैयाँको कारोबार भए पनि यसपालि २० करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान गरेको उनले सुनाए ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
जहाँ तिहार यसपालि 'रौनकविहीन' छ

जहाँ तिहार यसपालि 'रौनकविहीन' छ

तिहारमा घरआँगन सफा गरी दीप बाल्ने, झिलमिली बत्ती र फूलले घर सजाउने चलन रहिआए पनि गत भदौको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति बेहोरेका बाढीपीडितहरूले यो वर्ष चाडपर्वप्रति कुनै उत्साह नै नभएको बताएक...

#तिहार #यसपालि
Compare →

Related Stories

Business & Economy
Build #2612