कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ — कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा आइतबार विशेष समारोह आयोजना हुने भएको छ ।
प्रधानमन्त्री पत्नी तथा समाजसेवी सबिना काफ्लेको आतिथ्यमा बिहान नक्सालस्थित नारायणचौरमा समारोह आयोजना हुन लागेको हो । कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने काफ्लेले बताइन् ।
‘कुकुर तिहार र डग फेस्टिभललाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ ? नेपालमा एउटा यस्तो पर्व छ, जहाँ देवीदेवतालाई जस्तै कुकुरलाई पूजा गरिन्छ । उनीहरूको इमानदारीको सम्मान र कदर गर्नुपर्छ भन्ने कुरा विश्वलाई थाहा होस्,’ काफ्लेले भनिन्, ‘विश्वका अन्य मुलुकमा कुकुरलाई क्युट भनेर माया गर्दै गर्दा हामी यो जनावरलाई पूजा गर्छौं । यसमार्फत नेपाल संसारमाझ फरक रूपमा स्थापित होस् भन्ने हाम्रो उद्देश्य हो ।’
कुकुर तिहार एक दिन मनाइने पर्व भए पनि यसले बोकेको सन्देशलाई एक दिनमा मात्र सीमित राख्नु नहुने काफ्लेको तर्क छ । कुकुरलाई एक दिन पूजा गरेर मात्र जिम्मेवारी पूरा नहुने र यससँगै पशुकल्याणका विषयहरूलाई पनि उत्तिकै प्राथमिकताका साथ उठाउनुपर्ने तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा पर्यटनमन्त्री तथा संसदीय पर्यटन समिति सदस्यहरू, कृषिमन्त्री तथा कृषि समिति सांसदहरू, विभिन्न देशका राजदूत र कन्सुलेटहरू, पशुकल्याण समूह र संगठनहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, नाम चलेका कलाकार, खेलाडीका साथै कला र साहित्य क्षेत्रका दिग्गजहरूको उपस्थिति रहने जनाइएको छ ।