खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको तिहार विशेष रैथाने मेलामा स्थानीय अन्न, अर्गानिक खाद्य सामग्री, अल्लोका कपडा र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ ।
काठमाडौँ — अनलाइनमा गाँजाको मोजा (हेम्प्स मोजा) को विज्ञापन देखिरहन्थे प्रक्षेप थापा । नगनाउने, बलियो र टिकाउ रहेको विज्ञापनले सधैं उनको ध्यान तानिरहन्थ्यो ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको तिहार विशेष रैथाने मेलाको पहिलो दिन शनिबार नेपाल टेलिकमका सहायक प्रवक्ता रहेका थापाले २ जोर हेम्प्स मोजा किने । ‘यो खुब विज्ञापनमा देखिरहन्थेँ । गनाउँदैन, टिक्छ भन्ने सुनेको थिएँ । लगाउन मन थियो,’ थापाले भने, ‘आफ्नै देशको उत्पादन हो । आज किन्न पाएँ । एकपटक लगाएर कस्तो हुन्छ, हेर्छु ।’
खाद्य व्यवस्था कम्पनीले नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले शनिबारदेखि तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ सञ्चालन गरेको छ । मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला तथा सजावटका सामग्री, माटाका भाँडाकुँडा र रैथाने बालीलगायतका २६ स्टल रहेका छन् ।
थापाजस्तै उपभोक्ताहरू मोजा, झोलादेखि इस्टकोट किन्न उत्साहित देखिन्थे ।
कोठी हिमाल अल्लो कपडा उद्योगले मोजालगायत इस्टकोट, अल्लोबाट बनेका टोपी, महिलाले प्रयोग गर्ने झोलालगायत सामग्री बिक्रीमा राखेको छ । जसको मूल्य ३ सय ५० देखि १ हजार ५ सय ५० रुपैयाँसम्म छ । उद्योगका प्रतिनिधि मगर एमका अनुसार मेलामा विशेष छुटका साथ सामान बिक्री भइरहेको छ । ‘हामीले अहिले सामानमा छुट दिइरहेका छौं । टोपी तथा ब्यागको मूल्य ३ सय ५० रुपैयाँदेखि १ हजार ५ सय ५० रुपैयाँसम्म छ,’ मगरले भने, ‘अहिले हामीले केही सामानमा २ सय रुपैयाँसम्म छुट दिएका छौं ।’
उपभोक्ता भने अर्गानिक र रैथाने सामग्री खोज्दै मेला नियालिरहेका छन् । मेलामा पुगेका उपभोक्ता प्रकाशमान श्रेष्ठले पनि मुस्ताङमा उत्पादित भन्दै कालो र सेतो सिमी किने । केही वर्षअघि जोमसोम जाँदा मुस्ताङको सिमीको स्वाद मिठो लागेकाले किनेको उनले बताए । उनले मेलामा रैथाने र अर्गानिक खाद्यान्न एकै स्थानमा सस्तो मूल्यमा पाएको बताए । प्रतिकेजी ३ सय ५० रुपैयाँमा सिमी किनेका उनले बाहिरभन्दा सस्तो पाएको बताए । ‘यो मेलामा लोकल सामानहरू एकै स्थानमा पाइने रहेछ, सस्तो पनि,’ श्रेष्ठले भने, ‘खोजीखोजी हिँड्नुपरेन नि, सजिलै भयो ।’
भर्टेक्स फुड्स एन्ड बेभरेजेजले विभिन्न प्रकारका तयारी खाद्य सामग्री बिक्रीका लागि राखेको छ । कम्पनीले बालबालिका तथा वयस्कलाई लक्षित गरी प्यानकेक, पौष्टिक पेय, जाउलो, खिर र लिटो बनाउन मिल्ने तयारी मिश्रण (प्रिमिक्स) उत्पादन गरेको कम्पनीकी प्रतिनिधि तथा खाद्यविद् रचना पाण्डेले बताइन् । कम्पनीले स्थानीय अन्न तथा गेडागुडीको प्रयोग गरी प्यानकेक, पौष्टिक पेय, जाउलो, लिटो र खिर बिक्रीमा राखेको उनले बताइन् । ‘कोदो, गहुँ, कालो दाल, बदाम र आलसजस्ता सामग्री प्रयोग गरेर खाद्यान्न बनाइएको छ,’ पाण्डेले भनिन्, ‘यी उत्पादन सहज रूपमा तयार गर्न सकिने र अर्गानिक स्वादका छन् ।’
सरकारी निकाय जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि आफ्नै छुट्टाछुट्टै स्टल राखेका छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले उत्पादित सञ्चो, हिमालयन मसाज आयल र शिलाजित बिक्रीका लागि राखेको छ । शिलाजित स्वास्थ्यका लागि उपयोगी हुने भएकाले अवलोकनकर्ताहरूले धेरै खोज्ने गरेको कर्मचारी प्रेमबहादुर रावलले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै स्टल राखेको छ । जहाँ जुम्लाका सिमी, कागुनो, मासको दाल र मसुरो दाल छुटमा बिक्री भइरहेको छ ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।