डच प्रहरीले शुक्रबार साँझसम्म प्रदर्शनका क्रममा १५० देखि २०० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ
एम्स्टर्डम — युरोपभर फैलिँदै गएको डेटा सेन्टरविरोधी आन्दोलनअन्तर्गत नेदरल्यान्ड्सको एम्स्टर्डड्ममा शुक्रबार प्रदर्शनकारीहरू माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमा प्रवेश गरेका छन् । यसक्रममा केही प्रदर्शनकारीहरूले क्रेनमा चढेर आगो बालेका थिए भने केहीको प्रहरीसँग झडप भएको थियो ।
स्थानीय प्रसारणकर्ता ‘एटी फाइभ’ सँग कुरा गर्दै विरोध समूह ‘गेफ टेगेनगास’ का नाथन टिम्मरले निर्माण रोक्ने उद्देश्यले प्रदर्शनकारीहरूले उक्त स्थान कब्जा गरेको बताएका छन् । ऊर्जाको अत्यधिक खपत गर्ने यी ठूला संरचनाहरूले पार्ने सामाजिक तथा वातावरणीय प्रभावको विरोध गर्दै प्रदर्शन भएको हो ।
‘हामी डेटा सेन्टर निर्माण भएको हेर्न चाहँदैनौँ । कसैलाई पनि यसको आवश्यकता छैन,’ टिम्मरले भने, ‘यसको प्रयोग केवल एआईको फोहोर, एआई युद्ध, डेटा निगरानी र आमहत्या गर्नका लागि मात्र हुनेछ । हामी यो चाहँदैनौ“,’ उनले निर्माण कार्य बन्द नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
डच राजधानीमा भएको यो प्रदर्शनमा प्यालेस्टाइन समर्थकहरू पनि सामेल भएका थिए। डच प्रहरीले शुक्रबार साँझसम्म प्रदर्शनका क्रममा १५० देखि २०० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रवेश निषेध गरिएका क्षेत्रमा अनाधिकृत प्रवेश गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइक्रोसफ्टले एम्स्टर्डमको प्रदर्शनबारे भनेको छ, ‘ हामी शान्तिपूर्ण रूपमा आफ्ना विचार व्यक्त गर्ने अधिकारको हामी सम्मान गर्छौं,“ तर, कुनै पनि गैरकानुनी वा मानिसहरूको सुरक्षा जोखिममा पार्ने कार्यलाई समर्थन गर्दैनौ“ ।’
डेटा सेन्टरहरूले अत्यधिक परिमाणमा कम्प्युटिङ पावर र पानी खपत गर्ने भएकाले विश्वभर त्यसको विरोध भइरहेको छ । अमेरिकामा संसदीय चुनावका क्रममा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले यी मुद्दाहरु उठाएका थिए । उनीहरुले चुनावपछि डेटा सेन्टरहरूलाई नियमन गर्ने वाचा पनि गरेका थिए । अमेरिकी चुनावमा डेमाक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुबैमा बहुमत ल्याएको केही दिनभित्रै युरोपमा डेटा सेन्टरविरोधी प्रदर्शन सुरु भएको हो ।
आयोजकहरूका अनुसार आयरल्यान्ड, पोल्यान्ड, डेनमार्क, फिनल्यान्ड, स्पेन, इटाली, नेदरल्यान्ड्स, फ्रान्स र बेलायतसहित १५ वटा युरोपेली देशहरूमा शुक्रबार र शनिबार आयोजना हुने ‘स्टप डर्टी डेटा सेन्टरिज’ (फोहोर डेटा सेन्टर बन्द गर) कार्यक्रममा दर्जनौँ नागरिक समाज र स्थानीय समूहहरू सहभागी हुनेछन् ।
‘स्टप डर्टी डेटा सेन्टरिज डट इयु’ का संयोजक ओवेन एस्प्लेले भने, ‘एआईको प्रचार–प्रसारमा अन्धाधुन्ध विश्वास गर्ने निर्वाचित नेताहरू र सर्वसाधारण जनताबीचको भावनामा ठूलो खाडल रहेको छ ।’
जर्मनीमा पनि शुक्रबार बर्लिनको बाहिरी इलाकामा रहेको एक डेटा सेन्टर अगाडि करिब एक दर्जन प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शन आयोजना गर्ने समूहकी प्रवक्ता क्यारो वेबरले भनिन्, ‘हामी कुनै पनि वातावरणीय चिन्तालाई बेवास्ता गर्दै जर्मनीभर भइरहेको यो अन्धाधुन्ध डेटा सेन्टर निर्माण कार्य रोक्न चाहन्छौं । यो हाम्रो भविष्यका लागि साँच्चै नै धेरै खतरनाक छ ।’
पोल्यान्डको संसद् भवन अगाडि पनि करिब १०० जनाले सम्भावित डेटा सेन्टर निर्माणविरुद्ध प्रदर्शन गरेका छन् । इटालीमा पनि तीव्र रूपमा बढिरहेको डेटा सेन्टर उद्योगविरुद्ध त्यस्तै तीब्र जनविराधी आन्दोलनहरू उठिरहेका छन् । विशेषगरी, डिजिटल पूर्वाधारको मुख्य केन्द्र मानिने उत्तरी लोम्बार्डी क्षेत्रमा प्रदर्शन भएको छ ।
पर्याप्त सार्वजनिक परामर्श र वातावरणीय अनुगमन नगरी द्रूत गतिमा डेटा सेन्टरहरुको निर्माण भइरहेको अभियान्ताहरुको आरोप छ । यी पूर्वाधारहरु क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता (एआई) लाई सेवा दिने योजनाका साथ निर्माण गरिएका हुन् ।
गत अक्टोबर १० मा इटालीको मिलानस्थित पियाज्जा डेला स्कालामा १ हजारभन्दा बढी मानिसहरू जम्मा भएर प्रदर्शन गरेसँगै युरोपमा डेटा सेन्टर विरोधी प्रदर्शन बढ्दो छ । युरोपभरका प्रदर्शनकारीहरूले नयाँ परियोजनाहरूमाथि रोक लगाउन र यो उद्योगको वृद्धिलाई नियन्त्रण गर्ने राष्ट्रिय रणनीतिको माग गरेका छन् ।