Trending
Prev Story
Next Story

न्यायाधीशहरूको दिनचर्या निगरानी गर्नुपर्ने प्रस्तावित न्यायाधीश डाँगीको प्रस्ताव

Onlinekhabar •
November 07, 2026 • 07:30 AM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले न्यायपालिकामा सुशासन कायम गर्न न्यायाधीशको कामकारबाहीमाथि समेत निगरानी आवश्यक रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको दिनचर्या र काम गर्ने …

न्यायाधीशहरूको दिनचर्या निगरानी गर्नुपर्ने प्रस्तावित न्यायाधीश डाँगीको प्रस्ताव

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले न्यायपालिकामा सुशासन कायम गर्न न्यायाधीशको कामकारबाहीमाथि समेत निगरानी आवश्यक रहेको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको दिनचर्या र काम गर्ने शैलीको प्रभावकारिता अनुगमन हुनुपर्ने बताएका हुन् ।

उनले न्यायाधीशले कहाँ, कस्तो व्यवहार गरिरहेका छन् र आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् कि छैनन् भन्ने विषयमा प्रभावकारिता मापन गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘न्यायाधीशको दिनचर्या हेरिएको छैन, काम गरिरहेको छैनझैं काम भएको छ कि भन्ने कुरामा प्रभावकारिताको अनुगमन हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले प्रस्तुतिमा भने ।

न्यायाधीशले आफूलाई ठूलो व्यक्ति ठानेर सेवाग्राहीसँग व्यवहार गर्न नहुने भन्दै उनले न्यायाधीश र अदालतका कर्मचारी दुवै सेवाग्राहीमैत्री हुनुपर्नेमा जोड दिए ।

डाँगीले न्यायिक सुशासनको पहिलो सर्त न्यायाधीश आफैँले आचारसंहिता पालना गर्नु भएको बताए । न्याय परिषद्ले बनाएको न्यायाधीशको आचारसंहिता र न्यायिक आचरणसम्बन्धी बेङ्लोर सिद्धान्तका मूल्यमान्यता आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘पहिला कम्प्लिट नै आचारसंहिताको पूर्ण पालना आफैंले गर्नुपर्‍यो । त्यसपछि त्यसको प्रभावकारी अनुगमन गर्नुपर्‍यो ।’

सेवाग्राहीको गुनासो सुन्न छुट्टै डेस्क

डाँगीले अदालतमा आउने सेवाग्राहीले कहाँ जाने, कसलाई भेट्ने र आफ्नो काम कसरी अघि बढाउने भन्ने जानकारी नपाउने अवस्थालाई पनि समस्याका रूपमा औंल्याएका छन् ।

यसका लागि अदालतमा सेवाग्राहीको गुनासो सुन्ने डेस्क स्थापना गर्नुपर्ने उनको प्रस्ताव छ । अदालतका विभिन्न तहमा सेवाग्राहीलाई आवश्यक सूचना र सहजीकरण उपलब्ध गराउने इकाइ बनाउनुपर्ने उनको धारणा छ ।

अदालतका कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार, फैसला लेखन, मानव अधिकार र न्यायिक सेवा व्यवस्थापनसम्बन्धी निरन्तर तालिम दिनुपर्ने पनि उनले बताएका छन् ।

डाँगीले सर्वोच्च अदालतको कार्यबोझलाई पनि कार्ययोजनाको महत्त्वपूर्ण विषय बनाएका छन् ।

उनका अनुसार २०८३ कात्तिक १५ सम्म सर्वोच्च अदालतमा २६ हजार ४८ मुद्दा बाँकी थिए । त्यसमध्ये पाँच वर्ष नाघेका १ हजार ३०३ र आठ वर्ष नाघेका ३४ मुद्दा रहेको उनले सुनाए ।

उनले मुद्दाको चाप बढ्नुमा न्यायाधीश नियुक्तिमा हुने ढिलाइ, दरबन्दीअनुसार जनशक्ति अभाव र अदालतका कर्मचारीको उचित व्यवस्थापन हुन नसक्नुलाई पनि कारण मानेका छन् ।

अदालतको क्षेत्राधिकार र कार्यबोझबीच सन्तुलन नमिल्दा पनि समस्या बढेको उनको विश्लेषण छ । सर्वोच्च अदालतले अध्ययन गरेर सरकार र संसद्लाई पठाएका कानुन संशोधनसम्बन्धी सुझावसमेत पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।

पुराना मुद्दा घटाउन वार्षिक कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने उनको प्रस्ताव छ । उच्च अदालतमा आफ्नो नेतृत्वमा मुद्दा फछ्र्योटको परिणाम देखाएको अनुभव सुनाउँदै उनले सर्वोच्चमा पनि मुद्दा व्यवस्थापनमा योगदान दिन सक्ने प्रतिबद्धता व्यक्त गरे ।

डाँगीले इजलास व्यवस्थापन र बहसको समयलाई पनि सुधार गर्नुपर्ने बताएका छन् ।

मुद्दाको प्रकृति र जटिलताअनुसार बहसको समय निर्धारण गर्नुपर्ने उनको प्रस्ताव छ । कतिपय अवस्थामा दुई–तीन मिनेटमै बहस टुंग्याउनुपर्ने अवस्था रहेको भन्दै उनले त्यसलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

पेसी व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न पूर्ण अदालतको निर्णय वा नियमावली संशोधनमध्ये आवश्यक उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।

इजलासको समयलाई अधिकतम उपयोग गर्ने र अनावश्यक रूपमा पेसी दोहोरिने अवस्था घटाउने विषयलाई पनि उनले कार्ययोजनामा समेटेका छन् ।

डाँगीले सर्वोच्च अदालतमा दिवाणी, फौजदारी, वाणिज्य र संवैधानिक इजलासका विवाद निरूपणमा आफ्नो अनुभव उपयोग गर्ने पनि बताएका छन् ।

न्याय सम्पादन गर्दा संविधान, कानुन र न्यायका स्थापित मूल्य मान्यता पालना गर्ने उनको प्रतिबद्धता छ । बाह्य प्रभाव, लोकप्रियता वा प्रशंसाबाट प्रभावित नभई स्वतन्त्र, निष्पक्ष र इमानदारीपूर्वक निर्णय गर्ने उनले बताएका छन् ।

उनले न्यायपालिकाको अहिलेको अवस्थालाई चित्रण गर्दै साना मुद्दामा अल्झिँदा महत्त्वपूर्ण र सार्वजनिक सरोकारका मुद्दाले प्राथमिकता नपाएको पनि उल्लेख गरे ।

डाँगीले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा न्यायिक क्षेत्रमा प्राप्त अनुभवलाई पनि आधार बनाएका छन् ।

उनका अनुसार उनले तत्कालीन पुनरावेदन अदालत तुलसीपुरको इजलासको नेतृत्व गरेका थिए । नेपाल बार एसोसिएसनको उपाध्यक्ष भएर पनि काम गरेका थिए । त्यसपछि उच्च अदालत वीरगन्ज, जुम्ला इजलास र वैदेशिक रोजगार न्यायाधिकरणमा नेतृत्व गर्ने अवसर पाएका थिए ।

वीरगञ्ज इजलासमा आफ्नो नेतृत्वमा ७१ प्रतिशत र जुम्ला इजलासमा ९१ प्रतिशत मुद्दा फछ्र्योट भएको उनले सुनाए । न्यायिक विषयमा करिब नौवटा तालिम लिएको र भारतका दुईवटा उच्च अदालत भ्रमण गरेको अनुभव पनि उनले समितिसमक्ष प्रस्तुत गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ । स...

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रस्तावित
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Ekantipur
6d ago
सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
11h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
11h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

National (Nepal)
Build #2611