वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ ।
मध्यवर्ती सामुदायिक वनमा जीप सफारीमा जाने धेरैको इच्छा बाघलगायतका ठूला वन्यजन्तु देख्न पाइयोस् भन्ने हुन्छ । चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को अमलटारी क्षेत्रका सामुदायिक वनमा पर्यटक डुलाउने नेचर गाइड प्रेम महतो पर्यटकलाई सुरुमै भन्छन्, ‘तपाईंहरूले वनलाई सुन्नुस् । वनलाई सुन्न सक्नुभयो भने यसले आफ्ना धेरै कथाहरू हामीलाई सुनाउँछ ।’
शान्त भएर नेचर गाइडको निर्देशनअनुसार वनमा डुल्ने हो भने बाघगैंडा देखे पनि नदेखे पनि वनले पर्यटकलाई पक्कै रोमाञ्चित बनाउँछ । शान्त भएर जीप सफारी गर्दा प्रेमको कानमा मसिनो आवाज ठोक्कियो । त्यो ‘रुफस नेक्ड लाफिङ थ्रस’को चिरबिर थियो । जुन सुनेर प्रेम निकै हर्षित देखिन्थे । अनि यसको विशेषताबारे पर्यटकलाई बताउन सुरु गरे । यो चरा नेपालमा यही क्षेत्रमा मात्रै देखिँदो रहेछ ।
‘यस्तो महत्त्वपूर्ण चरा तपाईंहरूलाई देखाउन पाइयो,’ प्रेमले खुसी हुँदै भने । कृष्णसार मध्यवर्ती सामुदायिक वनको दक्षिणी किनार चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको नारायणी नदीको तटमा साना बुट्यान र झाडी थिए । रुफसको बथान त्यहीँ भेटियो । हल्का कुहिरो लागेको बिहानको समय थियो । चञ्चल रुफस एकै ठाउँमा धेरै बेर अडिँदैनथ्यो । घरि यता, घरि उता भुर्रभुर्र गरिरहेको थियो ।
‘रुफस नेक्ड लाफिङ थ्रस’का बारेमा चराविज्ञ/संरक्षणकर्मी कृष्णप्रसाद भुषालले पछि अलि धेरै बेलीबिस्तार लगाए । यो चरालाई नेपालीमा ‘कालीकण्ठे तोरी गाँडा’ भनिन्छ । ‘यो चरा नेपालमा चितवन निकुञ्जको पश्चिम भेग अमलटारी क्षेत्रका वनहरूमा मात्रै देखिने गरेको छ । हजुरहरूले पनि त्यहाँ देख्नुभएछ । यो राम्रो अवसर हो,’ भुषालले भने । नेपालमा यो अति संकटापन्न अवस्थामा पुगेको छ ।
विश्वव्यापी रूपमा खासै समस्यामा नपरे पनि नेपालमा यसको अवस्था बिग्रँदै गएको भुषालले जानकारी दिए । चञ्चल स्वभाव र चिरबिर आवाजले हेर्नेलाई आनन्दित बनाउने यो चराले वनको अवस्था कस्तो छ भन्ने संकेत पनि दिने गर्दछ । गुँड बनाउन बाक्लो झाडी र काँडेदार वनस्पति रोज्ने यो चरा जहाँ देखिन्छ, त्यहाँको वनको चरित्र पत्ता लाग्छ भन्छन् संरक्षणकर्मी भुषाल ।
वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ । लाटोकोसेरो एक त दिनमा सक्रिय हुँदैन । रातमा डुल्न निस्कने चरा दिउँसै देख्न पाउनु, त्यसमा पनि कलर्ड स्कप्स आउलको तस्बिर लिन सक्नु सफारीमा रोमाञ्चकता थपिनु हो ।
चितवन निकुञ्जको आडमा रहेको मेघौलीको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा घुम्न जाने पर्यटकले प्रायः पाटेबाघ देख्छन् । गैंडाको त हुलै हुन्छ त्यहाँ । तर यी जीवजन्तुभन्दा पनि अर्को विशेष पन्छी बसेको छ । त्यो हो, चित्री उलक । जीप सफारीमा जाँदा मेघौली घट्गाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश लिम्बुको आँखा यो चरामा पर्यो । उनी चराप्रेमी र संरक्षणकर्ता हुन् ।
मनेशको अनुभवले गर्दा त्यो उल्लु देखा पर्यो । उनले पर्यटकलाई देखाए । यो उल्लु झट्ट देखिँदैन । रुखको माथिल्लो खण्डमा एउटा प्वाल थियो । त्यही प्वालमा हलचल नगरी मजाले बसेका थिए चित्री उलकको एक जोडी । यो उल्लु छद्मावरणका लागि परिचित छ । रुखको बोक्राको जुन रङ छ, उल्लुको रङ पनि ठ्याक्कै उस्तै छ । त्यहाँ चरा छ भन्ने मेसो मान्छेले मात्रै हैन, अन्य सिकारीले पनि पाउँदैनन् ।
चराविज्ञ कृष्णप्रसाद भुषाल नेपालमा २३ प्रजातिका उल्लु पाइने बताउँछन् । त्यसमध्ये चित्री उलक छद्मावरणका कारण परिचित छ । खैरो, खरानी र हल्का पहेँलो–खैरो रङ मिसिएका प्वाँखले यो चरालाई रूखको बोक्रासँग मिल्दोजुल्दो रूप दिने भुषालले बताए ।
‘दिउँसो खतरा महसुस हुँदा यसले शरीरलाई तन्काएर ठाडो बनाउने, आँखा सानो पार्ने र लामो समयसम्म निश्चल रहने गर्छ । यो सुकेको वा भाँचिएको रूखको हाँगाजस्तै देखिन्छ र सजिलै पहिचान गर्न कठिन हुन्छ,’ भुषालले भने । टाउकोमा कानजस्ता प्वाँखका झुप्पा, अगाडि फर्किएका ठूला आँखा र घाँटीको पछाडि हल्का पहेँलो–खैरो रङको घेराजस्तो चिह्न हुन्छ । जसले गर्दा यो अरूभन्दा फरक देखिन्छ ।
जंगलमा बाघगैंडा मात्रै हुँदैनन्, अनेक रूप र विशेषता बोकेका पन्छी पनि छन् । ती पन्छीलाई चाहिने आहारा र बास कम भए संकट थपिन्छ । जंगललाई सुन्न र बुझ्न आवश्यक भएजस्तै जंगलमा बस्ने सबै प्राणीको आवश्यकता पनि ख्याल राख्नुपर्छ । ‘जस्तै, यो उल्लुले गुँड बनाउने भनेको रुखका टोड्काहरूमा हो । यस्ता रुखहरू पनि जंगलमा आवश्यक छन् भन्ने ज्ञान हामीलाई हुनुपर्छ,’ चराविज्ञ भुषालले भने ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।