दक्षिण एसियामा फैलिएको घरकागलाई मानिसले किरा नियन्त्रण गर्न समुद्रपारिका बस्तीमा पुर्याए । नयाँ वातावरणमा अनुकूल हुँदै यो सर्वभक्षी चरा आफ्नो प्राकृतिक क्षेत्रभन्दा टाढा-टाढासम्म फैलिँदै गयो ।
काठमाडौँ — कागलाई हामी प्रायः घरको छत, सडकछेउका बिजुलीका तार, फोहोरको थुप्रो वा खेतबारीमा देख्छौं । सहरमा त बिहानदेखि साँझसम्म यसको आवाज सुनिन्छ । तर यही परिचित चराको एउटा प्रजातिको इतिहास समुद्रपारिको यात्रासँग जोडिएको छ ।
मानिसले किरा नियन्त्रण गर्न घरकागलाई समुद्रपारिका बस्तीमा लगेर छाडे । कतिपय ठाउँमा भने यो चरा जहाजकै सहायताले अनायासै पुग्यो । यसरी आफ्नो प्राकृतिक क्षेत्रबाहिर पुगेको घरकागले नयाँ भूभागमा समेत आफ्नै बासस्थान विस्तार गर्यो ।
यो घरकाग (कर्वस स्प्लेनडन्ज) को इतिहास-कथा हो । जो दक्षिण एसियामा विकसित भयो, मानिससँगै नयाँ भूभागमा परिभ्रमण गर्यो अनि आफ्नो अनुकूलन क्षमताका कारण संसारका विभिन्न ठाउँमा आफ्नो अस्तित्व बचाइराख्यो ।
म यो आजभन्दा १२४ वर्षअघिको कथा सुनाउँदै छु ।
तत्कालीन मलाया प्रायद्वीप (मलेसिया) को बुकिट राजा बगानमा झुसिलकिराले निकै दु:ख दिएको थियो । फेडेरेटेड मलाय स्टेट्सको युनाइटेड प्लान्टर्स एसोसिएसनका अध्यक्ष ईभी केरीले सन् १९०२ जुलाई २२ मा काग ल्याउने अनौठो प्रस्ताव अघि सारे । त्यस क्षेत्रमा काग पुर्याउनुको उद्देश्य थियो- बगानका बोटबिरुवा नष्ट गर्ने झुसिलकिरा नियन्त्रण गर्नु ।
उनले कफी, रबरका रुख, नरिवल, क्रोटन र क्यास्टरजस्ता बोटमा आक्रमण गर्ने झुसिलकिराका ६ वटा फरक प्रजाति भएको उल्लेख गरेका छन् । कुनै समयमा यीमध्ये कुनैको प्रकोप गम्भीर रूपमा फैलिन सक्ने चिन्ता पनि पत्रमा उनले गरेका छन् । सन् १८८५ तिर तत्कालीन सिलोन (श्रीलंका) को सिन्कोना खेतीमा पनि यस्तै परिवारको झुसिलकिराले ठूलो क्षति पुर्याएको भन्दै उनी पत्रमा लेख्छन्- 'मेरो स्मृतिमा अझै ताजै छ, त्यतिबेला दसौं हजार काग झुसिलकिरा नष्ट गर्न त्यहाँ पुगेका थिए र तिनले त्यसको प्रकोप लगभग समाप्त पारेका थिए ।'
उनको यो प्रस्तावपछि त्यहाँका रेसिडेन्ट जनरल डब्ल्यू एच ट्रिचरले सिलोनको औपनिवेशिक प्रशासनलाई पत्र लेखे । योजनामुताबिक श्रीलंकाबाट काग पठाइने भयो ।
अभिलेखअनुसार तीनवटा ठूला पिँजडामा ७२ वटा घरकागको प्रस्थान भयो । तर, बन्दरगाहसम्म लैजाँदा दुईवटा मरे । त्यसपछि अस्ट्रियन लोयड कम्पनीको अस्ट्रिया नामक पानीजहाजमा राखेर सन् १९०२ डिसेम्बर २८ मा यात्रा सुरु गरियो । जनवरी २ मा पेनाङ पुग्दासम्म समुद्री यात्रामा थप १० वटा काग मरे । क्लाङ पुगेपछि जनवरीका विभिन्न मितिमा ५० भन्दा बढी काग खुला छाडियो ।
यो विवरण कोलम्बो म्युजियमका निर्देशक आर्थर विलीले सन् १९०३ मा प्रकाशित गरेको ऐतिहासिक अभिलेखमा उल्लेख छ ।
मानिससँगको निकटताले कागलाई प्रकृतिमा मात्र होइन, विभिन्न समाजका संस्कृति, मिथक र धार्मिक विश्वासमा पनि विशेष स्थान दिलाएको छ । यमपञ्चकको पहिलो दिन कागतिहारमा कागलाई मिठा खानेकुरा दिएर पूजा गर्नु मानिस र प्रकृतिबीचको सम्बन्ध स्मरण गर्ने परम्परा पनि हो । हामीले सामान्य भाषामा कौवाका रूपमा बुझिने काग संसारमा एकै खालका छैनन् । कागजस्ता देखिने सबै चरा एउटै प्रजातिका पनि होइनन् । काग, रेवेन, म्याग्पाई र ज्याकडजस्ता चरा कोर्भिडी परिवारमा पर्छन् । यो परिवारमा विविध प्रजाति विकसित हुन थालेको करिब १ करोड ८० लाखदेखि २ करोड २० लाख वर्षअघि हो भन्ने वैज्ञानिक अनुमान छ । यसभित्र १३५ प्रजाति छन् । यही परिवारभित्रको कर्वस वंश (जसमा काग र रेवेन पर्छन्) भने करिब ८८ लाखदेखि १ करोड १३ लाख वर्षअघि विविध प्रजातिमा फैलिन थालेको मानिन्छ ।
सन् २०१७ मा प्रकाशित कागसम्बन्धी एक आनुवंशिक अध्ययनले घरकागको उत्पत्ति सम्भवतः नेपाल, बंगलादेश र उत्तर भारत आसपासको उत्तरी दक्षिण एसियामा भएको देखाएको छ । ८९ वटा घरकागको माइटोकन्ड्रियल जिनोम विश्लेषणमा आधारित उक्त अध्ययनले सबैभन्दा टाढाका आनुवंशिक वंशरेखाबीचको विभाजन करिब ६ लाख ३० हजार वर्षअघि भएको अनुमान गरेको थियो । नेपाल, भारत, बंगलादेश र श्रीलंकासहित एसिया तथा अफ्रिकाका नौ स्थानबाट नमुना संकलन गरिएको थियो ।
आज देखिने काग त्यही समयमा अहिलेको स्वरूपमा थिए भन्ने होइन । लामो विकासक्रममा तिनका पुर्खाबाट फरक प्रजाति बने र विभिन्न वातावरणमा अनुकूल हुँदै फैलिँदै गए ।
सन् २०१० मा प्रकाशित पक्षीविज्ञ कोलिन रायल को अध्ययनले घरकाग आफ्नो प्राकृतिक क्षेत्रबाहिर कम्तीमा २१ देशमा स्थापित भएको उल्लेख गरेको थियो । कतिपय ठाउँमा यसलाई जानाजानी लगेर छाडिएको थियो भने अन्य ठाउँमा समुद्री जहाजसँगै पुगेको थियो ।
मलायाको घटना यसको एउटा प्रस्ट अभिलिखित उदाहरण हो । तर घरकागको अन्तर्राष्ट्रिय यात्रा त्यही घटनाबाट सुरु भएको वा त्यहीँबाट संसारभर फैलिएको भन्न मिल्दैन ।
सन् १८९१ मा प्रकाशित जोन लकवुड किप्लिङको पुस्त ' बिस्ट एन्ड मेन इन इन्डिया : अ पपुलर स्केच अफ इन्डियन एनिमल्स इन देयर रिलेसन्स विद द पिपल ' मा अदन (यमनको बन्दरगाह सहर) को किल्ला निर्माणमा खटिएका हिन्दु मजदुरले भारतबाट कागको एक जोडी त्यहाँ पुर्याएको उल्लेख छ । उनले यो घटना आफूले लेखेको समयभन्दा करिब ४० वर्षअघिको भएको बताएका छन् । यसबाट सन् १८५० को दशकतिर त्यहाँ घरकाग पुगेको अनुमान गर्न सकिन्छ ।
यस्तै, सन् १८९० को दशकमा भारतबाट जन्जिबार (अफ्रिकी देश तान्जानियाको तटबाट केही टाढा अवस्थित टापु) मा घरकाग लगिएको थियो । त्यहाँका अधिकारीहरूले सहरको फोहोर खाने चराका रूपमा यसलाई भित्र्याएका थिए । पछि घरकाग तान्जानियासँगै मोजाम्बिक, दक्षिण अफ्रिका, केन्या, सोमालिया र इथियोपियाका तटीय क्षेत्रमा फैलिएको थियो । केन्यामा सन् १९४७ मा मोम्बासामा पहिलोपटक घरकाग अभिलेख गरिएको थियो ।
आफूलाई कुनै खतरा भएमा कागले ठूलो स्वरले कराउने भएकाले त्यो सूचना अरूका लागि फाइदाजनक पनि बन्न सक्छ । यसकारण कागले सूचकको काम पनि गर्छ । - डा. हेमसागर बराल , वरिष्ठ चराविद् नेपालका गाउँसहरमा देखिने घरकागको वैज्ञानिक नाम कर्वस स्प्लेनडन्ज हो । यसको प्राकृतिक बासस्थान दक्षिण एसियामा पर्छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका लगायतका देश यसको मूल विचरण क्षेत्र हो । यसको टाउको, घाँटीको अगाडिको भाग, पखेटा र पुच्छर कालो हुन्छ । घाँटीको पछिल्लो भाग र छातीको माथिल्लो हिस्सामा भने खैरो रङ देखिन्छ । मानिसको बस्ती आसपास बस्न र त्यहीँ उपलब्ध खानेकुरामा अनुकूल हुन सक्ने भएकाले यो गाउँदेखि ठूला सहरसम्म सहजै देखिन्छ ।
कागका आफन्तहरू आज एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका र अन्य भूभागमा पनि पाइन्छन् । वरिष्ठ चराविद् डा हेमसागर बरालका अनुसार नेपालमा घरकागको ऐतिहासिक अभिलेख सन् १८४६ मै ब्रायन हड्सनले गरेका थिए ।
धेरैजसो चरा संकटमा परिरहेका बेला अवस्थामा कागबारे चिन्ता गरिहाल्नुपर्ने अवस्था भने नभएको उनी बताउँछन् । 'कागजति अनुकूलित चरा नै छैन अहिलेसम्म,' उनी भन्छन्, 'यसको संख्या बढेको नै पाइएको छ ।'
मान्छेको उपस्थिति र चहलपहलमा घरकाग बढी निकट बन्ने उनको भनाइ छ । 'ललितपुरको वज्रवाराही मन्दिरमा पहिले मान्छे कम जान्थे, कागको संख्या पनि थोरै थियो । जब चहलपहल बढ्यो, तिनको संख्या यति धेरै भयो कि अरू ससाना चराहरुलाई नै असर पर्न थालेको छ,' उनले भने, 'यसले घरकागको विस्तार कुन रुपमा भइरहेको भन्ने देखाउँछ ।'
कागका प्रजातिअनुसार आकार, रङ, बासस्थान र खानेकुरा फरक छन् । कतिपय वनमा बस्छन्, कतिपय खुला भूभाग र हिमाली भूगोमा त कतिपय मानिसको बस्तीमा घुलमिल गर्न रुचाउँछन् । कागको उल्लेखनीय विशेषता तिनको सिक्ने र समस्या समाधान गर्ने क्षमता हो । विभिन्न प्रजातिमाथि गरिएका अनुसन्धानले कागवर्गका चराले नयाँ परिस्थिति बुझ्ने, वस्तु प्रयोग गर्ने र अनुभवबाट व्यवहार बदल्ने क्षमता देखाएका छन् । यही व्यावहारिक लचकता घरकागको सफलतासँग पनि जोडिन्छ ।
घरकागले नयाँ ठाउँमा आफूलाई स्थापित गर्न सक्नुको एउटा प्रमुख कारण यसको अनुकूलन क्षमता हो । प्राकृतिक बासस्थानमा यसले किरा, साना जीव र अन्य उपलब्ध खानेकुरा खान्छ । सहरमा भने भान्साको फोहोर, मासु पसलका अवशेष, खुला फोहोरदानी र मानिसले फालेका खानेकुरा सजिलै भेटिन्छन् ।
भारत प्रशासित जम्मु-कश्मीरको श्रीनगरमा घरकागको आहारा अध्ययन गरिएको थियो । सन् २०२३ जुलाईदेखि २०२४ फेब्रुअरीसम्म गरिएको अवलोकनमा भान्साको फोहोर र वधशालाका अवशेष महत्त्वपूर्ण आहार कागका स्रोतका रूपमा देखिएको २०२६ मार्चमा 'जर्नल अफ एसिया-प्यासिफिक बायोडाइभर्सिटी' प्रकाशित अध्ययनम ा उल्लेख छ । कागले मरेका जनावर, किरा र मुसा पनि खाएको अध्ययनमा छ । सहरमा उपलब्ध खानेकुराअनुसार यसको आहार बदलिन सक्ने देखाउँछ ।
वनस्पति र मासु पनि खाने भएकाले पर्यावरणीय सन्तुलनका हिसाबले यसको महत्व धेरै रहेको चराविद् बराल बताउँछन् । किरा फट्यांग्रा, ससाना सर्प, फोहोर खाएर प्रकृतिलाई सफा राख्न कागले सघाउँछ । उनका अनुसार मरेका जनावर र फालिएका खाद्य अवशेष खाएर वातावरणबाट केही जैविक फोहोर हटाउन सहयोग गर्ने भएकाले कागलाई प्रकृतिको कुचीकार पनि भन्ने गरिएको हो ।
आफूलाई कुनै खतरा भएमा कागले ठूलो स्वरले कराउने भएकाले त्यो सूचना अरूका लागि फाइदाजनक पनि बन्न सक्ने बरालले बताए । 'उसको आफ्नो समूहलाई त फाइदा भयो, अरू जीवजन्तु र मान्छेलाई सतर्क रहन सघाउने भएकाले कागले सूचकको काम पनि गर्छ,' उनले भने ।
नेपाली हिन्दु समाजले भने यसलाई धार्मिक आस्था र परम्परासँग जोडेर हेर्दै आएको छ । कागलाई यमराजको दूत मानिन्छ । धार्मिक विश्वासअनुसार कागले मानिसका गतिविधि र कर्मबारे यमराजलाई खबर पुर्याउँछ । त्यसैले कागतिहारका दिन उसलाई खाना दिएर पूजा गरिन्छ । कागले शुभ समाचार यमराजसम्म पुर्याओस् र घरपरिवारमा दुःख तथा अनिष्ट नआओस् भन्ने कामना गरिन्छ । यमपञ्चकको पहिलो दिन नै कागको पूजा गर्ने परम्पराले हिन्दु संस्कृतिमा यस चराको विशेष धार्मिक महत्त्व रहेको देखाउँछ ।
नेपालमा मात्र होइन, विश्वका अरू समाजमा पनि कागलाई धार्मिक आस्था र सांस्कृतिक विश्वाससँग जोडिएको पाइन्छ । भारतका विभिन्न हिन्दु समुदायमा पनि नेपालमा जस्तै पितृपक्षका बेला पितृहरूको सम्झनामा खाना चढाउने चलन छ । कागले त्यो खाना खाएमा पितृहरूले अर्पण स्वीकार गरेको विश्वास गरिन्छ ।
जापानमा तीनखुट्टे पौराणिक काग यातागारासुलाई देवताको सन्देशवाहक र बाटो देखाउने पात्रका रूपमा लिइन्छ । प्राचीन जापानी ग्रन्थ कोजिकी अनुसार यातागारासुले पौराणिक सम्राट जिम्मुको सेनालाई यामातोतर्फको यात्रामा बाटो देखाएको थियो ।त्यहाँका केही शिन्तो मन्दिरमा यसको मूर्ति राखिएको छ ।
प्राचीन चिनियाँ पौराणिक कथामा तीनखुट्टे काग सूर्यभित्र बस्ने विश्वास थियो । हान वंशकालीन रेशमी चित्रकलामा पनि सूर्यभित्र सुनौलो कागको आकृति देखाइएको छ । कोरियाको प्राचीन गोगुरियो राज्यका समाधिस्थलका भित्तेचित्रमा पनि तीनखुट्टे कागको आकृति भेटिन्छ । जियानस्थित काक्जोचोङ र साङयेङचोङ समाधिस्थलका चित्रमा सूर्यभित्र तीनखुट्टे काग देखाइएको छ ।
यी केही उदाहरणले मानिसको बस्तीमा देखिने सामान्य चरा मात्र नभई कागले विभिन्न सभ्यताका धार्मिक विश्वास, मिथक र सांस्कृतिक कल्पनामा समेत स्थान बनाएका छन् ।
दक्षिण एसियाको सामान्य चरा घरकाग आज संसारका विभिन्न भूभागमा फैलिएको छ । मानिसले आफ्नो स्वार्थका लागि नयाँ ठाउँमा पुर्याएको यो चराले त्यहाँको वातावरणमा आफूलाई अनुकूलित बनायो र अस्तित्व विस्तार गर्यो ।
मानिससँगको यही निकटताले कागलाई प्रकृतिमा मात्र होइन, विभिन्न समाजका संस्कृति, मिथक र धार्मिक विश्वासमा पनि विशेष स्थान दिलाएको छ । यमपञ्चकको पहिलो दिन कागतिहारमा कागलाई मिठा खानेकुरा दिएर पूजा गर्नु मानिस र प्रकृतिबीचको सम्बन्ध स्मरण गर्ने परम्परा पनि हो ।
फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।