बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
सुर्खेत — कर्णाली प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पाँचवटा निर्णय गरेको छ। बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
बैठकले कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूको अस्थायी संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।