कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।
बाजुरा — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको आठौं जिल्ला अधिवेशनबाट धनराज पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार पार्टीका शीर्ष नेताहरूले सहमतिबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि पाँच दिनमा जिल्ला कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
शुक्रबार चयन भएको कार्यसमितिको उपसभापतिमा रामबहादुर बोहरा र गोरखबहादुर रौले, सचिवमा कुम्भनाथ योगी र मोहनसिंह कार्की तथा सहसचिवमा भीमबहादुर विष्ट र रमेश भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
पूर्वसुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी नेतृत्वको तीन सदस्यीय टोलीले सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (२) को सभापतिमा मीनबहादुर धामी सर्वसम्मत चयन भएका छन् । जिल्ला र प्रदेश अधिवेशन एकैसाथ सञ्चालन भएको हो । उपसभापतिमा लालबहादुर हमाल र सुरतबहादुर साउद, सचिवमा पदमबहादुर अयडी र कलमबहादुर गुयाल तथा सहसचिवमा प्रकाश रावत र रामबहादुर बुढा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जोशीले बताए ।
दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेस बाजुराको अधिवेशन कात्तिक १५ गते उद्घाटन गरिएको थियो ।