जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त नामावली एकीकृत गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
रामेछाप — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका रामेछापका ३७ जनाको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय भएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेछापको शुक्रबार बसेको बैठकले स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी ३७ जनाको नामावलीसहितको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिकता यकिन गर्न सरकारले तयार पारेको 'रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया, २०८३' अनुसार विवरण संकलन गरिएको हो ।
रामेछापका स्थायी बासिन्दा भए पनि विभिन्न कामको सिलसिलामा रसुवालगायतका जिल्लामा पुगेका बेला बाढीमा परी बेपत्ता भएकाहरूको विवरण सम्बन्धित स्थानीय तहबाट स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित प्राप्त भएको बैठकमा जानकारी गराइएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार बैठकले ती विवरणलाई एकीकृत गरी आधिकारिकता यकिनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।
नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।