खेलाडीहरूले नेपाली खेलकुदको विकासका लागि पूर्वाधार, नियमित प्रतियोगिता, व्यावसायिक व्यवस्थापन र दीर्घकालीन योजनामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं — खेलकुदलाई जति संस्थागत र व्यावसायिक बनाउन सकिन्छ, त्यहीअनुरूपका सफलता हात पार्न मद्दत पुग्ने खेलाडीहरूले बताएका छन् । कान्तिपुर म्याक्स च्यानलले शुक्रबार आयोजना गरेको ‘म्याक्स स्पोर्ट्स समिट’ को ‘खेलको आधारशिला’ कार्यक्रममा खेलाडीहरूले यस्तो धारणा राखेका हुन् ।
नेपाली महिला कबड्डी टोलीले २०२३ र २०२६ मा गरी दुई पटक एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो । मानमति विष्ट दुवै पटक यस कबड्डी टोलीमा सदस्य थिइन् । दुई महिनाअघि जापानमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जित्दा मानमतिले यसको नेतृत्व गरेकी थिइन् ।
‘जापानमा एसियाली खेलकुदका लागि हाम्रो तयारी भारतमा भइरहेको थियो, टाइसिट आएसँगै पछिल्लो एसियाली खेलकुदमा पदक जितेको हिसाबमा यसपटक पनि पदक जित्नुपर्छ भन्ने ठूलो दबाब थियो,’ मानमतिले छलफलका क्रममा भनिन्, ‘तर हामीले पदक जितेर देशको नामलाई पुनः गर्व गर्न लायक बनायौँ । तर अवस्था उस्तै छ, नेपालमा कबड्डीको कुनै पूर्वाधार छैन । होस्टल बनाइदिन्छु भन्ने आश्वासन पाएको पनि धेरै भइसकेको छ । महिला खेलाडीलाई त्यसै पनि गाह्रो छ । गाउँ, समाजलाई चिरेर महिला खेलाडी अगाडि आउनुपर्छ ।’
महिला भलिबलकी कप्तान निरुता ठगुन्नाले एसियन गेम्समा अघिल्लो प्रदर्शनभन्दा अझ राम्रो नतिजा ल्याउने लक्ष्यसहित टोलीले तयारी गरेको, खेलाडीहरूले आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि अन्य देशहरूको तयारी र प्रदर्शनसँग तुलना गर्दा आवश्यक स्तरको तयारी तथा सहयोग जुटाउन नसकिएको महसुस भएको जनाइन् । ‘टोलीमा नयाँ र अनुभवी खेलाडीहरूको राम्रो मिश्रण थियो । समग्रमा टोलीको प्रदर्शन सन्तोषजनक रह्यो । तर नयाँ खेलाडीहरूका लागि पर्याप्त मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर नहुँदा उनीहरूको अनुभव र प्रदर्शनमा केही कमी देखियो । नयाँ खेलाडीहरूले राम्रो खेले पनि अझै सुधार र अनुभवको आवश्यकता छ,’ निरुताले भनिन्, ‘एसियाली खेलकुदजस्तो प्रतियोगितामा खेल्दा राम्रो तयारी गर्नुपर्छ र त्यसका लागि दुई–तीन महिनाको प्रशिक्षणले पुग्दैन, स्पष्ट भिजन बनाएर अगाडि बढ्नुपर्छ ।’
राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले नेपाली खेलकुदमा एनपीएल उदाहरण बनिरहेको जनाए । ट्यालेन्ट हन्ट भएकाले एनपीएलले एकदमै नयाँ खेलाडीलाई मौका दिइरहेको छ । ‘डेभिड वार्नरजस्तो खेलाडी आउनु काठमाडौं गोर्खाज र नेपाली क्रिकेटका लागि ठूलो विषय हो, नेपाली खेलाडीले सिक्ने अवसर पाएका छन् । कठिन अवस्थामा खेलाडीहरूले त्यो माहोलले कसरी नियन्त्रण गर्ने भन्ने कुराहरू सिक्न पाएका छन् ।’
पूर्वराष्ट्रिय खेलाडी विक्रम लामाले निरन्तर खेल्ने वातावरण बनाउने हो भने फुटबल अहिले पनि नेपालको लोकप्रिय खेल हुने दाबी गरे । ‘मैले २१ वर्ष फुटबल खेलेँ तर लिग आठ सिजन मात्र खेल्न पाएँ । यस्तो कसरी भयो, किन भयो भन्दा पनि अब कसरी हरेक वर्ष लिग गर्ने वातावरण बनाउनेमा सबै जना लाग्नुपर्छ,’ उनले भने, ‘त्यसै पनि अहिले नेपाल फिफामा निलम्बन रहेको अवस्थामा हामी कठिन चुनौतीबाट अगाडि बढिरहेका छैनौँ । खेल्न छाडेपछि हामीले धेरै कुरा यस्तो पो गर्नुपर्ने रहेछ भनेर थाहा पाएका छौँ । भोलिको दिनमा ग्रासरुटमा यो कुरा बुझाएर ल्याउने हो भने हामी आधुनिक खेलकुदतर्फ पनि लाग्छौँ र नतिजा पनि ल्याउन सकिन्छ ।’
उनले नेपाली फुटबलका समस्या मुख्यतः व्यवस्थापकीय र प्राविधिक गरी दुई पक्षमा विभाजित देखे । ‘यी दुवै क्षेत्रमा कमजोरी रहँदा नेपाली फुटबल अझै परम्परागत शैलीमै सीमित भयो र आधुनिक तथा वैज्ञानिक फुटबलको गतिसँग अघि बढ्न सकेको छैन,’ लामाले भने, ‘घरेलु लिगको अपर्याप्तताले नेपाली फुटबललाई दिन प्रतिदिन पछाडि धकेलिरहेको छ । खेल शिक्षा, प्रशिक्षकको प्रो-लाइसेन्स, खेलाडीको नैतिक तथा सामाजिक शिक्षामा जोड दिनुपर्छ । प्रतियोगिताले तत्कालीन प्रभाव मात्र पार्ने भएकाले फुटबल विकासका लागि दीर्घकालीन योजना र संरचनाभन्दा पनि खेल शिक्षामा बढी लगानी आवश्यक रहेको छ ।’
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।
अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।