दराज नेपालका अनुसार चाडपर्वमा सजावट, उपहार र घरायसी सामग्रीको अनलाइन माग बढेको छ भने डिजिटल भुक्तानी कुल कारोबारको ६० प्रतिशतभन्दा बढी छ ।
दसैं, तिहार र छठजस्ता पर्वका बेला बजार र पसल धाउनेसँगै अनलाइन बजारमा किनमेलको आकार पनि बढ्ने गर्छ । चाडपर्वमा उपहार आदानप्रदान गर्ने शैली, स्थानीय उत्पादनको पहुँच, ६० प्रतिशत नाघेको क्यासलेस भुक्तानी र देशभरको डेलिभरी सञ्जाललाई लिएर ई-कमर्स प्लाटफर्म दराज नेपालका प्रमुख वाणिज्य अधिकृत (सीसीओ) रतिश लुँइटेल , पेमेन्ट्स कन्ट्री म्यानेजर ऋषभ थापा र प्रमुख लजिस्टिक अधिकृत (सीएलओ) सन्तोष विष्ट सँग कान्तिपुरले गरेको इमेल-संवादको सम्पादित अंश :
दसैं, तिहार र छठका बेला चाडपर्वसँग सम्बन्धित सामग्री तथा उपहार अनलाइनबाटै किनमेल गर्ने प्रवृत्तिमा कस्तो परिवर्तन आएको छ ? अघि-पछिको तुलनामा तिहारका बेला औसत कारोबार परिमाण कति बढ्छ ?
पछिल्ला वर्षमा नेपालका प्रमुख चाडपर्वका बेला अनलाइन किनमेलतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको छ । उपभोक्ताले इलेक्ट्रोनिक्स, फेसन र घरायसी अत्यावश्यक सामग्रीका लागि मात्र नभई चाडपर्वका सजावट सामग्री, उपहार, व्यक्तिगत स्याहारका उत्पादन तथा परिवार र साथीभाइलाई पठाउन चाहेका सामग्रीका लागि पनि दराजजस्ता प्लाटफर्म रोज्न थालेका छन् ।
सहजता, छनोट सुविधा, प्रतिस्पर्धी मूल्य र जहाँसुकैबाट किनमेल गर्न सकिने सुविधाले अनलाइन किनमेल चाडपर्वको अभिन्न अंग बनेको छ । उपभोक्ताले छुट, भाउचर तथा अन्य प्रवर्द्धनात्मक अफरको पनि लाभ लिन ११.११ जस्ता अभियानमा सहभागी हुने गरेको हामीले देखेका छौँ । अरू बेलाको तुलनामा चाडपर्वलक्षित अभियानमा उपभोक्ताको सहभागिता र अर्डरको परिमाण उल्लेखनीय रूपमा बढी हुने गर्छ ।
हाल सञ्चालनमा रहेको ११.११ अभियानको पहिलो तीन दिनमै दराजको कारोबार परिमाणमा २१९ प्रतिशत वृद्धि भएको थियो भने दैनिक औसत करिब ८ लाख उपभोक्तालाई सेवा प्रदान गरिएको छ । ग्राहकको यही उत्साहजनक सहभागिताका कारण दराजले नोभेम्बर १९ सम्म अभियानको अवधि थपेको छ । उपभोक्तामाझ ईकमर्सको बढ्दो प्रयोग र चाडपर्वको तयारीमा अनलाइन किनमेलको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको छ ।
चाडपर्वका बेला स्थानीय रूपमा उत्पादित सामग्री वा साना उद्यमीका वस्तुको बिक्री बढ्छ कि आयातित उत्पादन र स्थापित ब्रान्डकै माग बढी हुन्छ ? विशेषगरी तिहारका बेला कस्तो प्रवृत्ति देखिएको छ?
उपभोक्ताले निश्चित ब्रान्ड वा उत्पादन खोज्ने समूहमा स्थापित ब्रान्ड र आयातित उत्पादनकै माग ज्यादा रहन्छ । तर, तिहारजस्ता चाडपर्वमा सजावटका सामग्री, हस्तकला, कपडा, एक्सेसरिज तथा उपहारका सामग्री उपलब्ध गराउने स्थानीय उद्यमीहरूलाई पनि अवसर सिर्जना गर्छन् ।
यी व्यवसायका लागि ईकमर्स विशेष रूपमा उपयोगी हुनुको कारण आफ्नो नजिकको छिमेक वा सहरभन्दा परका ग्राहकसम्म पनि पुग्न सक्नु हो । चाडपर्वका सामग्री बिक्री गर्ने साना उद्यमीले भौतिक वा खुद्रा बिक्रीमा मात्र निर्भर नभई ठूलो ग्राहकसम्म पहुँच विस्तार गर्न सक्छन् ।
तिहारका बेला अनलाइन किनमेल गर्ने ग्राहकले कुन भुक्तानी विधि बढी रुचाउँछन् ? क्यूआर भुक्तानीसहित डिजिटल भुक्तानीको लोकप्रियता बढिरहेको छ कि अधिकांश ग्राहक अझै पनि सामान प्राप्त गरेपछि भुक्तानी गर्ने (क्यास अन डेलिभरी) विधि रुचाउँछन्?
नेपालमा अनलाइन किनमेलको क्षेत्रमा देखिएको उल्लेखनीय परिवर्तनमध्ये एउटा डिजिटल भुक्तानीप्रतिको बढ्दो प्राथमिकता पनि हो । हाल दराजमा हुने कुल भुक्तानीमध्ये अग्रिम भुक्तानी र क्यूआर भुक्तानीसहित डिजिटल भुक्तानीको हिस्सा ६० प्रतिशतभन्दा बढी छ ।
यसले उपभोक्ताले अनलाइन कारोबार गर्ने तरिकामा आएको परिवर्तनलाई प्रतिविम्बित गर्छ । डिजिटल वालेट, क्यूआर भुक्तानी तथा डेबिट र क्रेडिट कार्डले ग्राहकलाई भुक्तानीका थप विकल्प उपलब्ध गराएका छन् । साथै, बैंक तथा डिजिटल वालेटसँगको सहकार्यले छुट र प्रवर्धनात्मक सुविधामार्फत नगदरहित कारोबारलाई थप आकर्षक बनाएको छ।
अर्डर प्राप्त गरेपछि मात्र भुक्तानी गर्न रुचाउने ग्राहकका लागि सामान प्राप्त गरेपछि भुक्तानी गर्ने, क्यास अन डेलिभरी विधि अझै पनि महत्त्वपूर्ण विकल्पका रूपमा कायम छ । तर, डिजिटल भुक्तानीका विधिको बढ्दो प्रयोगले नेपालको डिजिटल वित्तीय प्रणालीप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखाउँछ ।
चाडपर्वलक्षित अभियानले डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने अर्को अवसर पनि प्रदान गर्छन् । विशेषगरी, ग्राहकले आफूले रुचाएका बैंक वा वालेटमार्फत थप अफरको लाभ लिन सक्ने अवस्थामा यसको महत्त्व अझ बढ्छ ।
तिहारजस्ता प्रमुख चाडपर्वका बेला अर्डरको चाप व्यवस्थापन गर्न र डेलिभरीको मापदण्ड कायम राख्न दराजले के गर्ने गरेको छ ?
भरपर्दो डेलिभरी सुविधा सुनिश्चित गर्नु हाम्रो प्राथमिकतामध्ये एक हो । ग्राहकले प्रायः निश्चित अवसरका लागि उपहार तथा अत्यावश्यक सामग्री खरिद गर्ने भएकाले चाडपर्वको समयमा समयमै डेलिभरी हुनु विशेष महत्त्वपूर्ण हुन्छ भन्ने हामी बुझ्छौँ ।
दराजमा डेलिभरी सञ्चालनका लागि हाम्रो लजिस्टिक्स टोली, डेलिभरी कर्मचारी, सामान छाँट्ने केन्द्र तथा विक्रेता सञ्जालबीच समन्वयात्मक योजना आवश्यक हुन्छ । माग उच्च हुने अवधिमा हामी डेलिभरी क्षमताको पूर्वयोजना बनाउँछौँ, अर्डर समयमै प्रोसेसिङ हुने सुनिश्चित गर्न विक्रेतासँग समन्वय गर्छौँ र अर्डरको बढ्दो परिमाण व्यवस्थापन गर्न आवश्यक सञ्चालनसम्बन्धी व्यवस्था मिलाउँछौँ।
हाम्रो दराज एक्सप्रेस सञ्जालको पहुँच विस्तार भएर ५१६ सहर तथा नगरसम्म पुगेको छ । चाडपर्वका बेला अर्डरको परिमाण बढ्दा र सञ्चालनसम्बन्धी चुनौती थपिँदा लजिस्टिक्स क्षेत्रमा अतिरिक्त दबाब पर्न सक्छ। यद्यपि, ग्राहले आफ्ना अर्डर सकेसम्म सहज र भरपर्दो तरिकाले प्राप्त गरून् भन्ने सुनिश्चित गर्न हाम्रा टोली निरन्तर खटिएका हुन्छन् ।