पहिला–पहिला धनतेरसमा सुनचाँदी बढी किनिन्थ्यो, हिजोआज नयाँ सवारीसाधन जोड्ने बढेका छन्, धेरैजसोले पहिल्यै बुकिङ गरेर धनतेरसका दिन डेलिभरी गरिदिन भन्ने गरेका छन् ।
काठमाडौँ — हाइवे टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक मनोज श्रेष्ठ धनतेरसका अवसरमा दुई वटा पर्यटक बस भित्र्याउने तयारीमा छन् । करिब ३० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनले दसैंलगत्तै बतास एमएडब्लू कमर्सियल भेहिकल कम्पनीमार्फत दुई वटा पर्यटक बसको च्यासिस बुक गराएका थिए । कम्पनीमा अहिले १५ वटा गाडी भए पनि धनतेरसको उपलक्ष्यमा थप दुई वटा नयाँ गाडी थप्न लागेको उनले सुनाए ।
उनले गाडी लिनका लागि बैंकिङ प्रक्रिया टुंग्याइसकेका छन् । तिहारकै छेको पारेर केही नयाँ सामान जोड्ने जमर्कोअनुसार गाडी किन्न धनतेरसकै दिन रोजेको उनको भनाइ छ । ‘बैंकिङ प्रक्रिया टुंगिँदासम्म तिहार नै आइपुग्यो, त्यसैले धनतेरसको दिन उपयुक्त लाग्यो, फेरि यो दिन नयाँ सम्पत्ति जोड्दा राम्रो मानिन्छ,’ उनी भन्छन्, ‘संयोग पनि त्यस्तै परो, यसैले धनतेरसकै दिन गाडी किन्न लागेको हो ।’
आइसर गाडीको च्यासिस बुक गरेको र तिहारपछि यसलाई जोडेर गाडीको रूप दिने उनी बताउँछन् । ‘यसका लागि गाडीको बडी नेपालमा बनाउने कि भारतमा भन्ने भइरहेको छ,’ उनी भन्छन्, ‘गाडी ट्राभलका लागि हो ।’ उनका अनुसार अघिपछि आवश्यक परेका बेला गाडी किन्ने गरे पनि यस पटक धनतेरसकै दिन परेको हो ।
दसैंपछि सबैभन्दा बढी अटोको व्यापार तिहारमा हुने गरेको व्यवसायी बताउँछन् । त्यसमा पनि धेरैले धनतेरसमा घरमा सवारीसाधन भित्र्याउने गरी बुकिङ गर्ने गरेका छन् । यो बेला दुईपांग्रे स्कुटर, मोटरसाइकलदेखि कार, जिप, माइक्रो बस, भ्यान, यात्रु बससम्म बुक गरेर उपभोक्ता तथा कम्पनीले लिने गरेको व्यवसायी बताउँछन् ।
दुईपांग्रे सवारीको माग गत वर्षभन्दा यस वर्ष अझै बढेको नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स (मोटरसाइकल र स्कुटर) का भाइस प्रेसिडेन्ट दीपकप्रसाद रौनियार बताउँछन् । बीचमा बाढीपहिरोका कारण बजार केही सुस्ताए पनि अहिले त्यस्तो नरहेको उनको भनाइ छ । उनका अनुसार धनतेरसका लागि मोटरसाइकल र स्कुटरको राम्रो बुकिङ भएको छ ।
‘अहिले डिजिटल प्लाटफर्महरूले पनि सचेतना बढाएका छन्, जुन प्लाटफर्ममार्फत धनतेरसको महत्त्व पनि बुझाउने गरिएको छ, यसले गर्दा उपभोक्ता जागरुक हुने गरेका छन्,’ उनी भन्छन्, ‘जसले गर्दा धनतेरसका दिन आफूअनुकूलका सवारीसाधन बुक गर्ने बर्सेनि बढ्दो छन् ।’ यस पटक टीभीएसका मोटरसाइकल र स्कुटर धनतेरसको दिनलाई १ हजार ५ सय हाराहारीमा बुक भएको उनले बताए ।
‘धनतेरस दिनका लागि सवारीसाधन बुकिङ गर्नेको संख्या उल्लेखनीय छ,’ उनले भने, ‘बुक गर्नेहरू थपिँदै गएका छन् ।’ अघिपछिभन्दा धनतेरसको दिन कुल व्यापारको ३५ देखि ४० प्रतिशत बढी सवारीसाधन बिक्री हुने गरेको उनको भनाइ छ । ‘फेरि दसैं–तिहार लक्षित गरेर निकालेको स्किम छठसम्म चल्छ, यसले उपभोक्तालाई सवारीसाधन खरिदमा सहजता भएको छ,’ उनी भन्छन्, ‘हामीले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्डेन की र ७ प्रतिशतसम्म नगद फिर्ता हुने स्किम राखेका छौं, यी तीनमध्ये कुनै न कुनै स्किम पर्छ नै ।’ अहिले अटो बजार एकदम राम्रो रहेको र व्यापार पनि राम्रो भइरहेको उनी सुनाउँछन् ।
व्यवसायीका अनुसार अटो क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १० लाख बढी रोजगारी सिर्जना गरेको छ । अटो बजारमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । धनतेरसका दिन नयाँ सवारीसाधन धेरैले किन्ने र यसका लागि पहिल्यैबाट बुकिङ गर्ने गरेको बतास एमएडब्लू कमर्सियल भेहकिल कम्पनीका निर्देशक हेमन्त पुरनिक बताउँछन् । ‘यस पटक पनि सोचेभन्दा राम्रो बुकिङ छ, धेरैजसोले पहिल्यै बुकिङ गरेर धनतेरसका दिन डेलिभर गरिदिन भन्नुभएको छ,’ उनले भने, ‘फेरि यो दिन केही न केही बहुमूल्य धातुको सामान जोड्दा शुभ रहने विश्वास रहिआएको छ ।’ पहिला–पहिला यो दिन सुनका गरगहना किन्ने बढी हुन्थे । ‘हिजोआज सुनसँगै नयाँ सवारीसाधन जोड्ने बढेका छन्,’ उनले भने ।
अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चाडबाडको मुखमा छुट्टाछुट्टै समयमा अटो शोको आयोजना गर्ने गरेका छन् । जुन अटो शोमा कम्पनीहरूबीच आपसमा सवारीसाधनमा छुट अफर दिन प्रतिस्पर्धा चल्ने गरेको छ । अटो शोमा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै कम्पनीहरूले उपभोक्ताको ध्यान तान्ने गरेका छन् ।
पछिल्लो समय यस्ता अटो शोहरूमा विद्युतीय सवारीमा आकर्षण थपिँदो छ । अहिले नेपाली सडकमा ६३ हजार विद्युतीय सवारीसाधन छन् । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा दर्ता भएका कुल विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २ सय ८० छ । पछिल्लो एक दशकमा विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै जाँदा दर्ता संख्या यति पुगेको हो ।
कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारीको आयात तीव्र बढेको मन्त्रालयको दाबी छ । नेपालमा हाल नयाँ आयात हुने निजी कारमध्ये विद्युतीय सवारी (ईभी) को हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीतिमा उल्लेख छ ।
२०८२/८३ को फागुनसम्म देशभर ६२ लाख ४९ हजार ७ सय ३२ सवारीसाधन दर्ता भएकामा ५० लाखभन्दा बढी मोटरसाइकल छन् । यसरी हेर्दा मोटरसाइकलको हिस्सा ८० प्रतिशतभन्दा बढी पुगेको नीतिमा उल्लेख छ । सरकारका नीति व्यवसायीमैत्री बन्न सके त्योअनुसार अटो बजार पनि चलायमान हुने व्यवसायीको भनाइ छ । फेरि दसैं र तिहार अटो व्यवसायीका लागि ठूलो चाड पनि हो । उत्तरी नाका दिगो रूपमा सञ्चालनमा नआउँदा चीनबाट विद्युतीय सवारी आयात गर्न समस्या हुने गरेको अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्य बताउँछिन् ।
‘नाकाहरूले गर्दा चीनबाट गाडी आयात गर्न समस्या भइरहेको छ,’ उनी भन्छिन्, ‘पछिल्लो समय बैंकिङ प्रक्रियामा पनि ढिलाइ भइरहेको छ ।’ उनका अनुसार दसैंपछि बढी गाडी धनतेरसमा बिक्री हुन्छ । ‘हाम्रो कम्पनीमार्फत बिक्री हुँदै आएको टोयोटा गाडी र एथर स्कुटरको आयात राम्रै भइरहेको छ, बिक्री पनि त्यहीअनुसार छ,’ अध्यक्ष सिंह भन्छिन्, ‘पछिल्लो समय धनतेरसमा नयाँ सवारी लिने चलन बढ्दै गएको छ, यो दिन धेरैले नयाँ सवारीसाधन किन्ने गर्छन्, धनतेरसको दिन आफ्नो घरमा गाडी लगिहालौं भन्ने हुन्छ, यसका लागि पहिल्यै बुकिङ गर्ने बढी हुन्छन् ।’
चाडबाड भनेको अटो बजार राम्रोसँग चलायमान हुने समय भएकाले सवारीसाधनको माग र बिक्री पनि बढी हुने गरेको उनी सुनाउँछिन् । सबैभन्दा बढी विद्युतीय सवारी आयात हुने रसुवागढी भन्सार नाका १० भदौको भोटेकोशी बाढीपछि ठप्प छ । यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका पनि अहिले बन्द छ । मुस्ताङको कोरला नाकाबाट सवारीसाधन भित्रिरहे पनि बेला–बेलामा आउने बाढी, पहिरो र हिउँका कारण आवागमन प्रभावित बन्ने गरेको छ ।
धनतेरसमा धेरैले केही न केही नयाँ सामान जोड्ने पम्परा रहे पनि पछिल्लो समय यो दिन नयाँ सवारीसाधन किन्ने चलन बढ्दै गएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती बताउँछन् । ‘विभिन्न गाडी कम्पनीले चाडबाड लक्षित केही न केही स्किम राखेका हुन्छन्, यो दिन फेरि धेरै राम्रो बिक्री पनि हुन्छ,’ उनी भन्छन्, ‘पहिल्यै बुकिङ गर्ने उपभोक्तालाई कम्पनीहरूले यो दिन सवारीसाधन उपलब्ध गराउँछन् ।’
दसैंमा बाढीले गर्दा बेनी–जोमसोम सडक मार्ग बिग्रिए पनि अन्तिम समयमा कोरला नाका हुँदै सवारीसाधन भित्रिएका थिए । ‘अहिले अटो बजार एकदमै राम्रो छ, गाडी भित्रिरहेका छन, किन्ने मान्छेको लाइन छ, योभन्दा राम्रो के हुन्छ ?,’ उनले भने, ‘फेरि चाडका बेलामा घुमफिर गर्न सहज होस् भनेर नयाँ सवारी किन्ने पनि हुन्छन् ।’ यस पटक बाढीपहिरोले गर्दा समस्या भएको र दसैंमा कम्पनीहरूले बाटोका कारण उपलब्ध गराउन नसकिएका सवारीसाधनको डेलिभर धनतेरसमा दिने योजनामा रहेको उनी सुनाउँछन् । ‘यस पटक पहिल्यै बुकिङ भएका गाडी १५ मंसिरसम्म डेलिभर हुने देखिएको छ,’ उनले भने, ‘अहिले दुईपांग्रे सवारीसाधनको पनि बिक्री राम्रो छ, चारपांग्रे सवारीसाधनको बजारमा पनि राम्रै सुधार हुँदै गएको छ ।’
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।