विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए।
इटहरी — नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुनसरीको इटहरीमा आयोजित कन्सर्टमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिएका छन् । उनले जातजाति, धर्म र सम्प्रदायका आधारमा हुने विभेद अन्त्य गरी सबै नेपाली मिलेर बस्नुपर्ने बताए ।
‘जोगले हुन्छ’ गीतपछि दर्शकले अमृतको नाम लिएर हुटिङ गरिरहेका बेला उनले भने, ‘नेपालमा हामीले धेरै किसिमका लडाइँ देख्यौँ, अब त्यस्तो देख्नु नपरोस् । जसरी यो मञ्च र तल मैदानमा पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसहरू एकसाथ बसेर रमाइरहेका छौँ, त्यसै गरी विविधताले भरिएको हाम्रो देश नेपाललाई पनि भेदभावबाट मुक्त बनाऔँ र सबै एकापसमा रमाएर बाँचौँ है ।’
उनले सबैभन्दा पहिले आफूलाई नेपाली ठान्न पनि आह्वान गरे । दर्शकले ताली बजाएर र मुठी उचालेर उनको भनाइमा समर्थन जनाए । त्यसपछि उनले ‘मै नाचेँ छमछमी’ गीत प्रस्तुत गरेका थिए ।
केही महिनाअघि धार्मिक विवादका कारण हिंसात्मक घटना भएको सुनसरीमा नेपथ्यको कन्सर्टलाई सामाजिक सद्भावको सन्देशका रूपमा समेत हेरिएको छ । उक्त विवादको प्रभाव अन्य जिल्लामा पनि परेको थियो ।
इटहरीमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति थियो । मैदानका लागि छुट्याइएका टिकट पहिल्यै बिक्री भएपछि आयोजकले अन्तिम समयमा प्यारापिटमा समेत दर्शक बस्ने व्यवस्था मिलाउनुपरेको थियो ।
कन्सर्ट हेर्न पाँचपटक अन्यत्र पुगेका विप्लव दाहालले छैटौँ पटक आफ्नै सहरमा नेपथ्यको प्रस्तुति हेर्न पाउँदा विशेष अनुभूति भएको बताए । ‘कहिलेकाहीँ खुसी यति गहिरो हुन्छ कि ओठमा मुस्कानभन्दा पहिले आँखामा आँसु आइदिन्छ,’ उनले भने, ‘कार्यक्रम अवधिमा मन यति गहिराइमा डुब्यो कि केही क्षण त आफूलाई सम्हाल्नै गाह्रो भएको थियो ।’
धनकुटाबाट आएका कृष्ण भुजेलले पनि २२ वर्षअघि धनकुटाको त्रिवेणी स्कुलमा कक्षा ६ पढ्दा नेपथ्यको प्रस्तुति हेरेको स्मरण गरे । त्यतिबेला ब्यान्डले सरकारी विद्यालयसँग मिलेर ‘शान्तिका लागि शिक्षा’ अभियान चलाएको थियो । ‘यस अवधिमा ब्यान्डको प्रस्तुतिमा व्यापक सुधार महसुस गरेँ,’ उनले भने ।
स्थानीय कस्तुरी कलेजका विद्यार्थी सजल भट्टराईले नेपथ्यको कन्सर्टमा गीत-सङ्गीतको मनोरञ्जनसँगै देशप्रेम र योगदानको सन्देश पाइने बताए । ‘यस्ता सन्देश मुलुकका कुनाकाप्चामा पुग्न जरुरी छ,’ उनले भने ।
कन्सर्टअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपथ्यका अगुवा अमृत गुरुङसहित ब्यान्डका सदस्यसँग भेट गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत नेपाली गीत-सङ्गीतमा नेपथ्यको योगदानको प्रशंसा गरेका थिए ।
इटहरीको प्रस्तुतिपछि नेपथ्यले शनिबार झापाको चारआलीस्थित हातेमालो खेलमैदानमा कन्सर्ट गर्ने कार्यक्रम छ । चारआलीमा पनि ब्यान्ड पहिलो पटक प्रस्तुत हुन लागेको हो । त्यहाँको कार्यक्रमपछि टोली छोटो विश्रामका लागि काठमाडौं फर्किनेछ ।
तिहारपछि नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुति दिनेछ । त्यसपछि ब्यान्ड अस्ट्रेलिया भ्रमणमा जानेछ ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।