भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीच तथा परिवारका सबै सदस्यबीच आत्मीयता, सद्भाव र समझदारी कायम रहनुपर्छ भन्ने सन्देश दिन्छ।
काठमाडौँ — अधिकांश नेपाली चाडपर्व प्रकृति, कृषि प्रणाली र पर्यावरणसँग प्रत्यक्ष जोडिएका छन् । उज्यालोको चाड तिहार भने कुनै एउटा पाटोमा मात्र केन्द्रित नभई पूर्ण प्याकेज जस्तो छ । कृषि र पर्यावरणसँगै यो चाड पशुपन्छीसँग पनि सम्बन्धित छ । पृथ्वी मानिसको मात्र नभई सबै जीवजन्तुको साझा घर हो भन्ने मान्यताले यमपञ्चकमा मृत्युका देवता यमराजदेखि काग, कुकुर, गाई, गोरुसम्मको पूजा गरिन्छ ।
तिहार विशेष गरी दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र विश्वासको चाड हो । समुदायअनुसार मनाउने तरिका फरक भए पनि भाइटीकाको मूल भाव दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सम्मान र पारिवारिक आत्मीयता हो ।
पाँच दिनसम्म मनाइने तिहारभित्रका हरेक चिजको धार्मिक, आध्यात्मिकसँगै सामाजिक महत्त्व छ । जस्तो, हिन्दु धर्म–संस्कृतिमा कागलाई यमराजको दूत मानिन्छ । नेपाली समाजमा कागलाई सन्देशवाहक मानिन्छ । विगतमा जब कुनै सञ्चार सुविधा थिएन, घरदेखि टाढा रहेका प्रियजनलाई सन्चोसुबिस्ताको खबर लगिदिन कागलाई नै अह्राइन्थ्यो । गाउँघरतिर घरछेउमा काग आएर कराउँदा शुभ खबरको आग्रहसहित ‘सुबोल सुबोल’ अझै पनि भनिन्छ । यस्तै, कुकुरलाई यमराजको द्वारपाल र भैरवको वाहन पनि मानिन्छ । यो बफादार प्राणीको हाम्रो समाजमा कति महत्त्व छ भनेर बताउनै पर्दैन ।
तिहारअन्तर्गत भाइटीकाको विशिष्टता, महत्त्व र सौन्दर्य के छ, यसभित्रका परम्परागत अभ्यासभित्रका संकेत र अर्थ के हुन् भन्नेबारे यो लेखमा सरसर्ती चर्चा गरौं ।
भाइटीकासँग सम्बन्धित पौराणिक कथा यमराज र उनकी बहिनी यमुनासँग जोडिएको छ । यमुनाले पटकपटक दाजुलाई घरमा भोजनका लागि निम्तो दिन्थिन् तर यमराजलाई कामको व्यस्तताले फुर्सद मिलेको थिएन । अन्ततः कार्तिक शुक्ल द्वितीयाका दिन यमराज बहिनीको घर पुगे । यमुनाले दाजुलाई तेल लगाइदिएर, पुजेर विभिन्न मीठा परिकार खुवाइन् ।
बहिनीको आतिथ्यबाट प्रसन्न यमराजले उनलाई वरदान माग्न आग्रह गरे । यमुनाले दाजुसँग हरेक वर्ष यही दिन आनो घरमा आउनुपर्ने र त्यो दिन बहिनीको हातबाट भोजन गर्ने सबै दाजुभाइ सुखी रहून् भन्ने वरदान मागिन् । यमराजले उनको माग स्वीकार गरे । यही पौराणिक प्रसंगसँग जोडेर कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारलाई यमपञ्चक भनिन्छ ।
भाइटीकाले मुख्य रूपमा मानिसलाई पूर्ण आयु बाँच्न प्रेरित गर्छ । भाइटीका लगाउने क्रममा दिदीबहिनीले तेलको घेरा लगाएर छेक्छन् । यस्तो घेरा सुरक्षा चक्रको प्रतीक हो । जलको घेरा एकछिनमा सुक्छ, तेल लामो समयसम्म बस्छ । त्यसले सांकेतिक रूपमा लामो आयुलाई दर्शाउँछ । भाइटीकामा मार्कण्डेय ऋषिसहित अष्टचिरञ्जीवी, नवग्रहको पूजा गरिनुको अर्थ पनि दाजुभाइ र दिदीबहिनीका लागि दीर्घायुको कामना हो । भाइटीकामा विशेष गरेर सुपारी वा मखमली फूल र सयपत्री फूलको माला प्रयोग गरिन्छ । लामो समय नओइलाउने यी फूल लगाइदिनु पनि लामो जीवनको कामना हो ।
तिहारमा ओखर फुटाउने र दाजुभाइलाई ओखर तथा अन्य फलफूल दिने चलन विभिन्न समुदायमा पाइन्छ । यसको विधि र सांकेतिक अर्थ भने समुदायअनुसार फरक छन् । बाहुन र क्षेत्री समुदायमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको शत्रु नाश होस् र जीवनका बाधा–अड्चन हटून् भन्ने कामनासहित ओखर एकै प्रहारमा फुटाउने परम्परा छ ।
विशेषगरी पहाडी क्षेत्रमा पाइने विभिन्न रैथाने फलफूल तथा वनस्पति चाडपर्वका अवसरमा प्रयोग गरिन्छन् । तिहारमा प्रयोग गरिने फलफूल र अन्य सामग्रीले प्रकृति, संस्कृति र जीवनशैलीसँगको हाम्रो सम्बन्ध पनि दर्शाउँछन् । तिहारमा बिमिरो, भोगटे, ओखर, कटुसलगायत स्थानीय फलफूलको प्रयोग गरिनुले चाडपर्व र प्रकृतिबीचको सम्बन्ध देखाउँछ । यस्ता परम्पराले स्थानीय वनस्पति र तिनको महत्त्वबारे पुस्तान्तरण हुँदै आएको ज्ञानलाई पनि निरन्तरता दिन्छन् ।
तिहारमा सबै चिज प्रकृतिसँग जोडिएको छ । प्रकृतिमा रंगीन चिजहरू धेरै छन्, जुन देखेर मानिसहरू परापूर्वकालदेखि नै लालायित हुन्थे– रंगीन माछाहरू, रंगीन फूलहरू, रंगीन चराहरू । त्यसमा पनि सप्तरंगी इन्द्रेणीले पनि मानिसलाई आकर्षित गर्थ्यो । भाइटीकामा लगाइने सप्तरंगी टीका इन्द्रेणी वा प्रकृतिमा भएका रङहरूकै प्रतीक हो । यद्यपि तिहारमा सात प्रकारका रङको टीका लगाउने कि पाँच प्रकारका भन्नेमा फरक मत पाइन्छ ।
भोजनको सांस्कृतिक र आध्यात्मिक अर्थ
भाइटीकामा दिदीबहिनीले आफ्नै घरमा दाजुभाइलाई निमन्त्रणा गरेर पूजा गर्ने र भोजन गराउने परम्परा छ । पहिले संयुक्त परिवारको प्रचलन बढी भएकाले दिदीबहिनीको घरमा गएर भोजन गर्ने चलन त्यति सहज थिएन । अहिले साना परिवारको प्रचलन बढेसँगै दिदीबहिनीले आफ्नै घरमा दाजुभाइलाई बोलाएर खुवाउने परम्परा पनि विकसित हुँदै गएको छ ।
दाजुभाइलाई भोजन गराउँदा उक्त भोजनमार्फत उनीहरूलाई दीर्घायु, शौर्य, यश र सुख प्राप्त होस् भन्ने कामना गरिएको हुन्छ । हाम्रो संस्कारमा भोजन गर्नु भोक मेटाउनु मात्र होइन । भोजनमा रहेको पोषण तत्त्वले शरीर, मन र मस्तिष्कको विकासमा सहयोग पुगोस् भन्ने कामना पनि यससँग जोडिएको हुन्छ । भाइटीकामा दाजुभाइलाई भोजन गराउँदा पनि यही भावना जोडिएको हुन्छ ।
भारतमा पनि तिहार दिवालीका रूपमा मनाइन्छ । यस क्रममा लक्ष्मीपूजा, धनतेरस र विभिन्न धार्मिक अनुष्ठान गर्ने परम्परा छ । तर दाजुभाइ र दिदीबहिनीबीचको तथा पारिवारिक सम्बन्धलाई महत्त्व दिएर मनाइने भाइटीकाको परम्परा नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान हो ।
भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीच तथा परिवारका सबै सदस्यबीच आत्मीयता, सद्भाव र समझदारी कायम रहनुपर्छ भन्ने सन्देश दिन्छ । यसका साथै सबैले पूर्ण आयु बाँच्न पाऊन् र सुखी जीवन बिताउन सकून् भन्ने कामना पनि यस पर्वमा गरिन्छ । चाडपर्व मनाउने शैली समयसँगै परिवर्तन हुन सक्छ, तर त्यसले दिने मूल सन्देश र मानवीय मूल्य हामीले जोगाइराख्नुपर्छ ।