Trending
Prev Story
Next Story

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

Nagarik News •
November 06, 2026 • 01:27 AM
1
1 reads 0 reactions

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो।

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री पिट हेगसेथलाई पदबाट नहटाउने बताएका छन्।

मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठुलो पराजय व्यहोरेपछि आफ्नै पार्टीका सांसदसहित विभिन्न पक्षबाट हेगसेथलाई जिम्मेवारीबाट हटाउन दबाब बढिरहेका बेला ट्रम्पले उनलाई पदमै कायम राख्ने आफ्नो योजना रहेको बताएका हुन्।

बिहीबार एबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले भने, ‘मेरो उनलाई पदमा राख्ने पूरा योजना छ।’ हेगसेथप्रति असन्तुष्टि जनाउँदै आफूलाई फोन आउने गरेको पनि उनले स्वीकार गरे। तर, उनीप्रति असन्तुष्टि किन बढिरहेको छ भन्ने आफूले नबुझेको ट्रम्पको भनाइ छ।

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो। मासीले आगामी सोमबार वा मंगलबार प्रस्ताव अघि बढाउने बताएका छन्। उनले प्रस्ताव पारित गराउन आवश्यक संख्यामा रिपब्लिकन सांसदले समेत साथ दिने विश्वास व्यक्त गरेका छन्।

मासीले यसअघि गत सेप्टेम्बरमा हेगसेथविरुद्ध आठ वटा आरोप समेटिएको ३४ पृष्ठ लामो महाभियोग प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। उनले सदनको बैठकमा ६७ मिनेटभन्दा बढी समय लगाएर प्रस्तावका आरोपहरू पढेर सुनाएका थिए। तर, सभामुख माइक जोन्सनले मध्यावधि चुनावअघिको संसदीय कार्यतालिकाका बाँकी बैठक रद्द गरेपछि उक्त प्रयास अघि बढ्न सकेको थिएन।

मासीले हेगसेथले रक्षामन्त्रीको जिम्मेवारीअनुसार काम नगरेको, युद्धसम्बन्धी नियम र संविधानको उल्लंघन गरेको तथा अमेरिकी नागरिकको हितमा असर पर्ने काम गरेको आरोप लगाएका छन्। उनले हेगसेथ पदमा रहिरहे सर्वसाधारण नागरिक, अमेरिकी कूटनीति र संविधानका लागि खतरा हुन सक्ने दाबीसमेत गरेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले मासीलाई ‘धेरै खराब व्यक्ति’ भनेका छन्। उनले मासीले अनावश्यक रूपमा समस्या सिर्जना गरिरहेको आरोपसमेत लगाए।

हेगसेथको राजनीतिक भविष्यलाई लिएर अर्को चर्चा पनि चलिरहेको छ। टेनेसीकी रिपब्लिकन सिनेटर मार्शा ब्ल्याकबर्न गभर्नर निर्वाचित भएपछि उनको सिनेट सिट खाली हुँदैछ। उक्त सिटमा हेगसेथ जान सक्ने अनुमान गरिए पनि एपीका अनुसार उनलाई त्यसका लागि अहिले विचार गरिएको छैन।

टेनेसीका रिपब्लिकन सांसद टिम बर्चेटले भने उक्त सिनेट सिटमा आफूलाई अवसर दिनुपर्ने इच्छा व्यक्त गरेका छन्। ब्ल्याकबर्नले जनवरीमा गभर्नरको पद सम्हालेपछि आफ्नो स्थानमा नयाँ सिनेटर नियुक्त गर्न पाउनेछिन्।

यसैबिच, इरानसँगको युद्धलाई लिएर पनि ट्रम्प प्रशासनमाथि दबाब बढिरहेको छ। आठ महिनादेखि जारी युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले मतदातामा असन्तुष्टि बढाएको विश्लेषण गरिएको छ। मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि युद्धको निर्णय र त्यसको व्यवस्थापनलाई लिएर पार्टीभित्रै आलोचना चुलिएको छ। ट्रम्पले पनि इरानसँगको युद्धले चुनावी नतिजामा असर पारेको स्वीकार गरेका छन्। यद्यपि, उनले इरानसँगको युद्धको निर्णयको बचाउ गर्दै आएका छन्।

हेगसेथले भने आफूविरुद्धको महाभियोग प्रयासलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै राजनीतिक दबाब र अनुसन्धानबाट आफू पछि नहट्ने बताएका छन्।

ट्रम्पले हेगसेथलाई समर्थन जारी राखे पनि जनवरीमा नयाँ संसद् सुरु भएपछि उनको जिम्मेवारी थप चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। डेमोक्र्याटहरूले संसद्मा बहुमत पाएपछि हेगसेथको नेतृत्व र पेन्टागनका कामकारबाहीमाथि अनुसन्धान गर्ने तयारी गरेका छन्। यसले उनीमाथि संसदीय दबाब थप बढाउन सक्छ। आफ्नै पार्टीका केही सांसदबाट समेत आलोचना भइरहेका बेला यस्तो अनुसन्धानले हेगसेथका लागि थप राजनीतिक चुनौती सिर्जना गर्न सक्नेछ।

यद्यपि, अमेरिकी प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव पारित भए पनि पदबाट हटाउन सिनेटमा उपस्थित सदस्यहरूको दुई तिहाइ मत आवश्यक पर्छ। त्यसैले महाभियोग प्रक्रिया अघि बढे पनि हेगसेथलाई पदबाट हटाउन सहज हुने छैन।

प्रकाशित: २० कार्तिक २०८३ ०७:१२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#ट्रम्प #मध्यावधि
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#रिपब्लिकन #मध्यावधि #आफ्नै
Compare →
Onlinekhabar
12h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611