संस्थापक शेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित, सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन पारित गरेको कम्पनीले जनाएकाे छ ।
गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेप्सेमा सूचीकरण भएको नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी हो । साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत व्यवसाय विस्तार गर्नेसम्बन्धी महत्वपूर्ण योजना प्रस्ताव पनि पारित गरेको कम्पनीकाे भनाइ छ ।
कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य योजनामा सामेल छन् ।
`अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गरिनेछ´ संशोधित प्रावधानमा भनिएको छ । कम्पनीले औद्योगिक विस्तार, प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाउने भएको छ ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित व्यवस्थाअनुसार कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चार जना, सर्वसाधारण शेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल ६ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ।
निर्वाचन प्रक्रियाबाट संस्थापक शेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन्। सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएकाे विज्ञप्तिमा उल्लेख छ ।
साधारणसभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्तिसमेत अनुमोदन गरेको बताइएकाे छ ।